+
+

जनता एकथोक सोच्छन्, पार्टीहरू अर्को

मुखुण्डो खोलेका नेताहरू र दलहरू हामी खोजिरहेका छौं । हाम्रा दलहरुले हामीलाई भनिदिनु पर्‍यो उनीहरु काग हुन् कि कोइली ? गौथली हुन् कि चिल ? हामीलाई काग हो भने काग कै जस्तो चरित्र चाहिएको हो । कोइली हो भने कोइलीकै जस्तो ।

मन्दिप भट्टराई मन्दिप भट्टराई
२०७९ माघ २५ गते १३:०४

इतिहासमा दर्ज हुने किसिमका राजनीतिक घटनाहरू गराउँदै पुस बिदा भयो ।

नेपालमा गणतन्त्र स्थापनापछि पहिलोपटक प्रचण्ड बहुमतका साथ सबैभन्दा धेरै सांसदको विश्वासको मतसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त भए । केही दिनअघि विराटनगरको पुरानो, २०१५ सालमा स्थापना भएको एलिट क्लबमा वर्तमान राजनीतिका आयामहरू विषयमा चर्चा परिचर्चा हुँदैथियो । घरेलु राजनीतिको कुरा उठ्नु स्वाभाविक थियो ।

ठ्याक्कै विश्लेषण गर्न नसकिने राजनीति नै आजको नेपालको राजनीति हो । अचेल नेपाली राजनीतिका विश्लेषकहरू प्रतिकृया दिन सक्छन ।  उनीहरूलाई लाग्छ आजको राजनीति यसरी अघि सर्ला भन्न गाह्रो छ ।  यसका अनेक कारणहरू छन् । पार्टीहरु पार्टी जस्ता छैनन् । नेताहरु नेता जस्ता छैनन्  । गठबन्धन सरकार छ । तर यसभित्र रंगहरुको बेमेल छ । जनता एक थोक चाहन्छन् । राज्य अर्को गर्छ । न पुराना दलहरू छन् न नयाँ भनिएकाहरूको संकेत राम्रो देखाउँदैछ्न् । त्यसैले हामीलाई लाग्छ यो कोइली हो तर कराउछ काग जस्तो । हामीले सोचेभन्दा फरक छन् अचेल हाम्रा नेता, पार्टी र राज्य ।

एकपल्ट हाम्रा पार्टीहरूलाई आजको चस्मा लगाएर सरसर्ती हेरौं । आफूलाई प्रजातन्त्रको हिमायती ठान्छ नेपाली कांग्रेस तर विडम्बना कस्तो छ भने कांग्रेसले महत्वपूर्ण निर्णयहरू केन्द्रीय समितिको बैठकबाट गर्दैन । महत्वपूर्ण निर्णय गर्ने दाइहरूको कार्यसम्पादन समिति छ । पार्टीका महामन्त्रीहरु पार्टीका निर्णय प्रक्रियामा आफु सामेल नभएको/नगराइएको प्रतिक्रिया दिन्छन् । उसका भातृ सङ्गठनहरुका अधिबेशन गर्ने समय सीमाहरु धेरैचोटि मिचिसकिएका छन् ।

आफूलाई प्रजातन्त्र र लोकतन्त्रको मसिहा ठान्ने पार्टीले आफू सामेल नभएको गठबन्धनको प्रधानमन्त्रीको समर्थनमा विश्वासको मत दिन्छ । केपी ओलिको तेजोबोध गराउने गरि प्रचण्डले कांग्रेस फकाए कि कांग्रेसले आगामी दिनका लागि प्रचण्ड फकाए ती समयले बताउला तर के यो स्वभाविक छ ? कांग्रेस जगलाई नै छक्क पार्ने गरि कस्तो लोकतन्त्रको परिकल्पना गरिरहेको छ, जुन लोकतन्त्रको संसदमा प्रमुख प्रतिपक्षी दल नै छैन । तत्कालीन् अवस्थामा यिनै तर्कहरू काफी छन् – कांग्रेस सोचे जस्तो र खोजे जस्तो छैन ।

संसदमा दोस्रो ठूलो दल छ एमाले । एमालेले अचेल निर्णय कसरी गर्छ ? हामीले देखिरहेकै छौं । यो पार्टीमा केन्द्रीय समिति छ ।  स्थायी समिति छ ।  पोलिटब्युरो छ । ती सबैभन्दा माथि अध्यक्ष केपी ओली छन् ।  उनीले बोलेको भन्दा फरक ती कुनै समितिले निर्णय गरेको सुनिदैन । पार्टीमा हुनुपर्ने वैचारिक बहस, तर्क वितर्क पार्टी बाहिर बसिरहेका हामी देख्दैनौं ।

अचेल एमाले पार्टीभन्दा पनि केपी ओलीको क्लब जस्तो हुदैछ । त्यतिमात्र होइन काम गर्ने सवालमा समेत नेपालमा श्रमजीवी वर्गको हितका निम्ति सबैभन्दा पहिले स्थापित नेपाल कम्युनिष्ट पार्टीको लिगेसी आफूसँग भएको दाबी गर्ने पार्टीले खास श्रमजीवी वर्गको हितका निम्ति कति योगदान गरिरहेको छ भन्ने आजको प्रश्न अनुत्तरित नै छ ।

रवि लामिछाने कानुनको सर्वमान्य र अत्यन्तै प्रचलित ‘कानुनको अज्ञानता अक्षम्य हुन्छ’ भन्ने सिद्दान्तको प्रतिकूल आफ्ना कुराहरु राख्दा अत्यन्तै विवादास्पद र अपरिपक्व देखिएका छन् । उनकाविरुद्ध केही प्रश्नहरू आइरहेका छन् । ती प्रश्नहरुका ठोस उत्तर दिनेभन्दा भावनात्मक रुपले जनता भड्काउने अभिव्यक्ति आउनु राम्रो संकेत देखिएको छैन

अहिलेको सरकारको वैचारिक धरातलमा प्रश्न नै प्रश्न छन् । गणतान्त्रिक र संघीयता र धार्मिक निरपेक्षताको वकालत गर्नेहरुको बहुमत रहेको सरकार छ । सरकारलाई वामपन्थीहरुको मात्र उपस्थिति छैन । यसो हुँदा हुदै पनि सरकारमा एउटा अभूतपूर्व पार्टी छ-राप्रपा । राप्रपा भन्नलाई त संघीयता विरोधी पार्टी हो । हेर्नुस त आफ्ना सांसद भएको प्रदेशमा सबैभन्दा पहिले मन्त्री उसैले दाबी गर्दैछ । उसको प्रेम छ प्रदेश सरकारमा । उसको लसपस छ गणतन्त्रवादीसँग । अनि चाहन्छ राजतन्त्रको पूनर्वहाली । यो भन्दा ठूलो विरोधाभाष के हुन्छ?

हामीलाई थाहा छ व्यवस्था ठीक नहुँदा राजनीतिक दलहरू व्यवस्था परिवर्तनका आन्दोलनहरुमा सक्रिय रहनु पर्दछ । हाम्रो देशमा व्यवस्था परिवर्तनको मुद्दा खास दल र बहुसंख्यक जनताका निम्ति अहिले सकिएको छ ।  गएको निर्वाचनको परिणामले त्यसै भन्छ ।

यस्तो अवस्थामा राजनैतिकदलहरुका मुद्दाहरु जनजीविकाका सवालमा, शिक्षा, स्वास्थ्य, रोजगारीका सवालमा केन्द्रीय हुनुपर्नेमा आज सबै दलहरुमा सत्ता केन्द्रीय चाख छ । अचम्म त यस्तो छ संसदमा गएर हाम्रा प्रश्नहरु बोलिदेलान भनेर जनताले विश्वास गरेका नया दलहरुलाई समेत सत्ताको स्वाद चाखिहाल्ने हतारो देखिन्छ । हिजो धेरै उपप्रधानमन्त्री बनाएको भनेर तत्कालीन सरकारहरु प्रति आगो ओकल्ने रवि लामिछाने स्वयम् चार मध्ये एक उपप्रधानमन्त्री थिए । उनको पार्टीले मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन नपाउने राज्यमन्त्रीमा समेत आफ्ना सांसद पठाएर सरकारी स्रोतसाधन उपयोगमा मात्र चासो देखाएको हो कि भन्ने प्रश्न जन्माएको छ ।

अचम्म त्यतिमा सकिदैन । रवि लामिछाने आफैंमा नागरिकता सम्बन्धि मुद्दामा उनको विरुद्दमा फैसला आएको छ । उनको पार्टीले पठाएको श्रममन्त्रीविरूद्ध केही थान मुद्दा दर्ता भएका भनेर समाचार नै आइसकेका छन् । स्वार्थ बाझिनेलाई मन्त्री बनाउन नचाहेको भए गजब हुने थियो । अवस्था यता नि फरक देखिएको छैन । यद्यपि उनको पार्टीले सरकार छोडिसकेको छ । रास्ट्रिय स्वतन्त्र पार्टीले सरकार मात्र छोडेको छैन केही अनुत्तरित प्रश्नहरु समेत छोडेका छन् । आफूले गृहमन्त्री नपाउँदा सरकार छोडेको भन्ने हल्ला चलिरहँदा नेपालका संचारकर्मीहरु र उनका आलोचक माथि अनेक लान्छना लगाएका छन् । उनले कानुनको सर्वमान्य र अत्यन्तै प्रचलित ‘कानुनको अज्ञानता अक्षम्य हुन्छ’ भन्ने सिद्दान्तको प्रतिकूल आफ्ना कुराहरु राख्दा अत्यन्तै विवादास्पद र अपरिपक्व देखिएका छन् । उनकाविरुद्ध केही प्रश्नहरु आज पत्र-पत्रिकामा आइरहेका छन् । ती प्रश्नहरुका ठोस उत्तर दिने भन्दा भावनात्मक रुपले जनता भड्काउने अभिव्यक्ति आउनु राम्रो संकेत देखिएको छैन । यसले विस्तारै ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने चर्चित कथनले फेरी बजार तताउला जस्तो देखिन थालेको छ ।

कमिकमजोरीका शृंखला त्यतिमात्र छैनन् । हामी कहाँ गठबन्धनको सस्कृतिमा परिपक्वता देखिंदैन । कुनै पनि गठबन्धन एक कार्यकाल समेत टिकेको इतिहास छैन । पछिल्ला केहि वर्षलाई मात्र हेर्ने हो भने पनि हिजो कांग्रेससँग मिलेर सरकार बनाएको माओवादिले एमालेसँग पार्टी एकीकरण गर्यो र नेकपा बन्यो । नेकपा टुक्राएर कांग्रेस सग गठबन्धन गर्दै सरकार निर्माण गरेको र चुनावमा होमिएको माओवादी फेरी एमालेसँग सहकार्यमा सरकार निर्माण गर्छ । राजनीतिमा स्थायी सत्रु र स्थायी दुश्मन हुदैनन् भन्ने भाष्य हाम्रो देशका राजनैतिक दलहरुले यसरि प्रमाणित गर्दैछन् कि भोलि कसैले यो भाष्यलाई गलत सावित गर्न नसकोस् । हाम्रा इमान, नैतिकता माथि अनेकौ प्रश्न हुदाँसमेत समीक्षा र आत्मआलोचना हाम्रा नेता र दलहरुका  विषय नै भएका छैनन् । राजनैतिक दलहरुले जनतामा विश्वास जगाउनु पर्दछ । आफै सत्ता र सक्तिको पुजारीको रुपमा मात्र रहेका आफ्नो मात्र दुनो सोझ्याउन लागेका दलहरुले के जनतामा विश्वास जगाउन सक्लान ? जनतामा आशाका संचार गर्न सक्लान ?

यसरि राजनीतिक दलहरु, तिनका नेताहरु र तिनका काम गर्ने तौर तरिकाहरु प्रति आम नागरिकहरुका प्रसस्त प्रश्नहरु छन् । निराशा छ । छटपटी छ । केही दिन अघि प्रसारण भएको विश्लेषक सिके लालको विश्लेषण सुन्ने हो भने आजका राजनीतिक दलहरु संग दलीय विशेषताहरु छैनन् । भर्खरै आएको उनको एक अन्तरर्वार्तामा उनी भन्छन्, ‘हाम्रा देशमा अहिले दल होइन ठूला व्यक्तिहरूले बनाएको गुट हो । देखिन्छ पनि त्यस्तै । अहिले दल र राजनीति व्यक्तिवादी भैरहेको छ । अहिले दलहरु व्यक्ति केन्द्रित हुने पार्टीभित्र पनि कोही नेतालाई नेता मान्ने भन्दा देवत्वकरण गर्ने र प्रत्येक पार्टीमा एउटा देवता रहदा दल भित्र बहस र आवश्यक अन्तरविरोध वा द्वन्द्व नहुँदा दल रुपान्तरणमा प्रभाव परिरहन्छ ।

यी सबै हेर्दा दलहरु सच्चिनु जरुरी छ । उनीहरुले वैचारिक रुपले प्रस्ट हुनु जरुरी छ । जनता इमान अपेक्षा गरिरहेका छन् । आफ्ना मूल्य र मान्यतामा स्पष्ट दल हामी खोज्दछौं । हामी खोज्दछौं उस्तै उस्तै रंगहरुको मेल । आफूलाई एउटा रुपमा प्रस्तुत गर्ने अनि व्यवहार भने अर्कै देखाउने दलहरू हामीलाई अब पनि चाहिएको छैन । मुखुण्डो खोलेका नेताहरू र दलहरू हामी खोजिरहेका छौं । हाम्रा दलहरुले हामीलाई भनिदिनु पर्‍यो उनीहरु काग हुन् कि कोइली ? गौथली हुन् कि चिल ? हामीलाई काग हो भने काग कै जस्तो चरित्र चाहिएको हो । कोइली हो भने कोइलीकै जस्तो । गौथली हो भने गौथली जस्तै । गौथली जस्तो देखिएर चिल जस्तो चरित्र पनि हामी आश गर्दैनौ न कि कोइली जस्तो देखिएर काग जस्तो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?