+
+

डेमोक्रेसी समिटमा प्रचण्डलाई अमेरिकी राष्ट्रपतिको निम्तो

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ माघ २५ गते २१:२२
प्रधानमन्त्री प्रचण्ड युएसएआईडीकी प्रमुख सामन्था पावरसँगको छलफलमा । तस्वीर :प्रधानमन्त्रीको सचिवालय । ।

२५ माघ, काठमाडौं । कुनै बेला ‘अमेरिका’ भनिसक्दा साम्राज्यवाद मात्र बुझ्ने माओवादी बदलिँदै छ भन्ने बुझेर हुनुपर्छ, यसपल्ट उसले त्यसका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई वासिङ्टन डिसी आउन निम्तोपत्र पठाएको छ ।

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग युएसएआईडीकी प्रमुख सामन्था पावरले अमेरिकी दुतावासमार्फत प्रधानमन्त्री प्रचण्डलाई अर्को महिना हुने डेमोक्रेसी समिटका लागि निम्तो गरिएको जानकारी दिइन् ।

परराष्ट्र मन्त्रालयले उक्त सूचना पुष्टि गरेको छ । अनलाइनखबरलाई मन्त्रालयका उच्च अधिकारीले दिएको जानकारी अनुसार अमेरिकी विदेश मन्त्रालयबाट प्रचण्डका लागि निम्तोपत्र आइसकेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका तर्फबाट अर्को महिना आयोजना हुने डेमोक्रेसी समिटका लागि प्रचण्डलाई निम्ता पठाइएको परराष्ट्रका उच्च अधिकारीले बताए ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले भने नेपालमा उक्त समिटका बेला राष्ट्रपति चुनाव पर्न सक्ने भएकाले भ्रमण हुने या नहुने बारेमा स्पष्ट भन्न सकेन । यद्यपि हाल तोकिएको कार्यसूची अनुसार त्यस बेलासम्म राष्ट्रपति चुनाव सकिइसक्छ ।

‘प्रधानमन्त्रीले अमेरिकाको तर्फबाट प्राप्त निम्तोलाई सकारात्मक रुपमा लिनुभएको छ, त्यसका लागि उहाँले धन्यवाद पनि भन्नुभएको छ’, बालुवाटार स्रोतले भन्यो, ‘तर भ्रमणको समय तालिका अझै निश्चित नभएकाले अहिले नै भन्न सकिएन ।’

युएसएआईडीकी प्रमुख सामन्था पावरले बुधबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा यसको बारेमा विस्तृत जानकारी दिएकी थिइन् । सोधिएको एक प्रश्नको जवाफ दिने क्रममा सुरुमा उनी अलमलिँदै नेपालका लागि अमेरिकी राजदूत डिन थोम्पसनको इशारा बुझ्न खोजिन् । थोम्पसनले उक्त निम्तो दिइसकिएको बताए । त्यस लगत्तै उनले दुईवटा सन्देश प्रवाहित गरिन् ।

एक– मार्च २९–३० (चैत १५–१६) डेमोक्रेसी समिटमा प्रचण्डलाई निम्तो पठाइएको छ, नेपालको लोकतन्त्र सबल बनाउन अनि शान्तिप्रक्रिया टुंग्याउन नेपालका प्रधानमन्त्रीले दिएको सकारात्मक जवाफका लागि । ‘उहाँले लोकतन्त्रलाई बलियो बनाउन र विगतको हिंसाका क्रममा उठेका विषयलाई तार्किक निश्कर्ष दिन सकारात्मक हुने प्रतिबद्धता जनाउनुभएको छ’, उनले पत्रकारसँग भनिन् । उनले ती प्रतिवद्धता पालना गर्ने अवसरका रुपमा उक्त समिट प्रयोग हुन सक्ने भन्दै नेपाली माओवादीसँगका आफ्ना अपेक्षा पनि लुकाइनन् ।

दुई– तर त्यो समिटका अधिकांश सत्र भर्चुअल हुने छन् । उसो त अहिले कोभिड–१९ जस्तो महामारी अहिले छैन, जसका लागि कठोर स्वास्थ्य संवेदनशीलता अपनाउनु परोस् । तर अमेरिकाले सम्भावित प्रदर्शन आदिको ‘खतरा’ देखेर हुनुपर्छ, कतिपय देशका प्रतिनिधिलाई भने भर्चुभल भेलामा जोड्ने छ । परराष्ट्र मामिलाका जानकारहरुको बुझाइमा विभिन्न देशका प्रतिनिधिहरुको मानवअधिकार तथा लोकतन्त्रको ट्र्याक रेकर्ड कमजोर देखिँदा समिटस्थल अगाडि नाराजुलुस हुन सक्ने स्थितिबाट अमेरिका जोगिन चाहेको हुन सक्छ ।

विगतमा हिंसात्मक युद्ध हाँकेर सत्तारोहण गरेका प्रधानमन्त्री प्रचण्डका हकमा पनि त्यो लागु हुन सक्छ । पाँच वर्षअघि पत्नी सीता दाहालको उपचारार्थ अमेरिका जाँदा व्यक्तिगत हैसियतको भ्रमण भए पनि प्रचण्डविरुद्ध प्रदर्शन हुन सक्ने भन्दै निर्धारितभन्दा भिन्न मार्गबाट गाडी कुदाइएको थियो ।

यसपल्ट अमेरिकालाई अझै सहज बनाउन हुनुपर्छ– प्रचण्डले आफू २३ वर्षको हुँदा पहिलाे जागिर उनै सामन्था पावर चिफ रहेको संस्था युएसएआइडीमा खाएको समेत स्मरण दिलाए । कुनै बेलाका कट्टर कम्युनिस्ट प्रधानमन्त्रीले यस्तो सम्झना गराउनु यी उच्च तहकी अमेरिकी कुटनीतिज्ञका लागि रोचक कुरा थियो ।

प्रचण्डको सम्भावित अमेरिका यात्राका केही आयामहरु छन् । दक्षिण तथा पूर्वी एसियाको भूराजनीतिक ‘व्यवस्थापन’ गर्न अमेरिकाले चाहेको छ । खासगरी यो क्षेत्रमा अमेरिकासँग प्रतिद्वन्द्विता गरिरहेको चीनले विकास र आर्थिक सहायतामा गरिरहेको आक्रामक लगानीले वासिङ्टनलाई झस्काएको छ । प्रचण्डले भने हामी केही सम्पादकहरुसँग अघिल्लो साता कुरा गर्दै आफ्नो पहिलो विदेश यात्रा भारतबाट सुरु हुने खुलाएका छन् ।

स्रोतका अनुसार त्यसलगत्तै उनी चीन जाने लगभग तय छ । बालुवाटार सूत्रका अनुसार राष्ट्रपति चुनाव अगाडि उनी दुवै भ्रमण भने गर्ने छैनन् ।

नेपालमा नयाँ सरकार बनेसँगै पछिल्लो एक महिनायता चार महत्वपूर्ण कुटनीतिक भ्रमण गराएर अमेरिकाले यो सन्देश परोक्ष रुपमा दिएको छ । तर बुधबार सामन्था पावरले नेपालमा गरिरहेको लगानीका पछाडि कुनै भूराजनीतिक पृष्ठभूमि नरहेको दाबी गरेकी छन् ।

‘भूराजनीति परिवर्तन भइरहन्छ । शीतयुद्धभन्दा अघि भूराजनीति एक ठाउँ थियो र शीतयुद्धमा अर्को, त्यसपछि अर्कोे भयो । तर हामी काममा केन्द्रित हुनेछौँ, नेपाललाई अमेरिकाले गरेको सहयोगलाई भूराजनीतिक विषयसँग नजोड्नुहोला’, उनले भनिन्, ‘हामी साथमा काम गर्नेछौं, अमेरिकाले नेपालमा गर्ने लगानी कुनै भूराजनीतिक आयामको उत्पादन हो भनेर हामीले लिएका छैनौं । नेपालसँग हामीले विगतयता गरेको प्रतिवद्धताको प्रतिफल हो यो ।’

सामन्था पावरले यति भन्दैगर्दा स्वयं अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)को पृष्ठभूमि नै भूराजनीतिसँग जोडिने गर्छ । काठमाडौंमा वाम सरकार बनेसँगै चीनको पोल्टामा नेपाल गएको चर्चा हुने गर्छ । प्रचण्ड तेस्रोपल्ट प्रधानमन्त्री बन्दैगर्दा उनलाई अर्को ठूलो वाम शक्ति एमालेको साथ छ । अमेरिका र पश्चिमसँग तुलनात्मक नरम मानिएको कांग्रेस अहिले प्रतिपक्षमा छ ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छँदा बेला एमसिसीको सन्दर्भमा अमेरिकालाई संयुक्त चिठीमा हस्ताक्षर गरेर प्रचण्डले विश्वासको वातावरण बनाउन खोजेका थिए । यसलाई उनको अमेरिकालाई हेर्ने दृष्टिमा आइरहेको बदलावसँग जोडेर टिप्पणी गरिएको थियो । नेपालमा चीनको बढ्दो प्रभाव घटाउन तथा पुरानो बर्चस्व कायम राख्दै वाम शक्तिहरुलाई निकटमा राख्न अमेरिकाले डेमोक्रेसी समिटमा निम्ता दिएको हुन सक्ने बताउँछन् कुटनीतिक जानकारहरु ।

अमेरिकाका लागि दुईपल्ट राजदूत रहिसकेका पूर्वमन्त्री भेषबहादुर थापाले यसपल्ट प्रचण्डलाई आएको अमेरिकी निम्तो स्वभाविक रहेको टिप्पणी गरे । विगतमा हिंसात्मक युद्धबाट नेतृत्वमा उदाए पनि प्रधानमन्त्री बन्न प्रचण्डले प्रजातान्त्रिक बाटो अवलम्बन गरेको, अनि संविधानमा लोकतान्त्रिक मान्यताहरु प्रवेश गराउन भूमिका खेलेका कारण अमेरिका उनीसँग आश्वस्त देखिँदै गएको हुन सक्ने उनको भनाइ छ ।

‘हुन त उहाँको पहिले पनि अमेरिका भ्रमण भएको हो, तर अहिले प्रधानमन्त्रीका रुपमा उहाँलाई दिएको निम्तोका पछाडि उहाँले खेलेको भूमिकाकै मूल्यांकन भएको हुनुपर्छ’, उनले भने, ‘शान्ति प्रक्रियामा के प्रगति भएको छ भन्नेबारे पनि उहाँले आश्वस्त गर्नुभएकै होला, अनि प्रगति भयो कि भएन भन्ने कुरा चाहिँ अमेरिका आफैंले महसुस गर्ने कुरा हो । समग्रमा चाहिँ उहाँ लोकतान्त्रिक बाटोबाटै सत्तामा पुग्नुभएको भन्ने कुराको अर्थ छ अमेरिकाका लागि ।’

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?