+
+

टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार पुग्यो

राष्ट्रपति एर्दोआनको आह्वान– विपदको बेला आलोचना होइन, एकजुट बनौं

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते ९:५०

२६ माघ, काठमाडौं । टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार पुगेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार गत सोमबारको भूकम्पमा परी करिब १३ हजार जनाको टर्कीमा र करिब दुई हजार जनाको सिरियामा मृत्यु भएको छ ।

लाखौं व्यक्तिहरु घरबारविहीन भएका छन् । उद्धार र राहत वितरणको काम जारी भए पनि ढिलासुस्ती भएको भन्दै टर्कीको विपक्षी पार्टीले सरकारको आलोचना गरेको छ । तर राष्ट्रपति रेचेप तैयप एर्दोआनले यो समय आलोचना नभइ एकताको भएको भन्दै सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।

उनले भूकम्पबाट बढी प्रभावित क्षेत्रहरुको स्थलगत भ्रमणसमेत गरेका छन् । उनले यो स्तरको विपदको सामना गर्न पूर्वतयारीले पनि नपुग्ने भनेर टिप्पणी गरेका छन् । उनले केही समय काम गराइमा समस्या आए पनि अहिले स्थिति नियन्त्रणमा रहेको दाबी गरेका छन् ।

तर टर्कीको मुख्य विपक्षी पार्टीका नेताले त्यसप्रति असहमति जनाएका छन् । उनले यति धेरै क्षतिको जिम्मेवार राष्ट्रपति एर्दोआन नै भएको आरोप लगाएका छन् । राष्ट्रपति एर्दोआनले भने आरोप खण्डन गर्दै भनेका छन्, ‘यो एकजुट हुने समय हो । यस्तो स्थितिमा राजनीतिक फाइदाका लागि नकारात्मक अभियान चलाउनेलाई म सहन सक्दिनँ ।’

भूकम्पले थुप्रै भौतिक संरचना ध्वस्त भएको र सडक सन्जालमा पनि क्षति पुगेकाले राहत तथा उद्धारमा कठिनाइ भइरहेको छ । यसबाट सिरिया अझै बढी प्रभावित भएको छ । सबैभन्दा बढी इदलिब प्रान्त प्रभावित भएको छ ।

टर्की र सिरियाबीचको सिमाना खुलाएर सिरियासम्म राहत पुर्याउन प्रयास भइरहेको टर्कीका विदेशमन्त्रीले बताएका छन् । युरोपेली संघले सिरिया सरकारको अनुरोधमा ३५ लाख युरो बराबरको राहत पठाउने घोषणा गरेको छ । सिरियाका राष्ट्रपति बसर अल असदलाई युरोपेली संघले नस्वीकारे पनि विपदको बेला सहयोग भने पठाइएको छ । आफूले गरेको सहयोग सरकार र विद्रोही नियन्त्रित सबै क्षेत्रहरुमा पुग्नुपर्ने युरोपेली संघले भनेको बीबीसीले जनाएको छ ।

नेपाल सरकारले पनि टर्कीमा चिकित्सकसहित राहत पठाउने गृहकार्य गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?