+
+

न्यू डायमण्डकी संकटमोचक प्रगति

नमिता दाहाल नमिता दाहाल
२०७९ माघ २६ गते १३:५८

२६ माघ, काठमाडौं । भलिबल टिममा सेटर माहुरीको रानी जस्तो पोजिसन हो । अरुणा शाही पनि न्यू डायमण्ड टिमको रानी माहुरी जस्तै थिइन् । २०७६ मा न्यू डायमण्डमा आवद्ध भएकी उनले टिमलाई आफ्नो वरिपरि राखेकी थिइन् ।

प्रतिभा मालीसँग उनको जोडी जमेको थियो र, २०७७ मा एनभीए क्लब प्रतियोगिताको उपाधि जितेको थियो । तर राष्ट्रिय टोलीको कप्तानसमेत रहेकी अरुणाले दोस्रो टाइगर कप भलिबल–२०७८ को पूर्वसन्ध्यामा टिम छाडेपछि न्यू डायमण्ड टिम समस्यामा पर्‍यो ।

प्रशिक्षक कुमार राईले प्रशिक्षणरत प्रगति नाथलाई सेटरमा ‘स्वीच’ गर्ने निर्णय लिए । राईको त्यही निर्णय प्रगतिको उदाउँदो करिअर चम्किलो बनाउन कोशेढुंगा बन्यो । १६ वर्षीया किशोरीले सेटरको प्रशिक्षण थालेको दुई महिनामै राष्ट्रियस्तरको प्रतियोगितामा उत्कृष्ट बनिन् ।

२०७८ फागुन अन्तिम साता न्यू डायमण्डले झापामा दमक कप र चितवनमा कर्पाकेली पुन राष्ट्रिय महिला भलिबलको उपाधि जित्यो । त्यसयता प्रगतिले न्यू डायमण्ड टिममा राष्ट्रिय टिमकी कप्तानसमेत रहेकी अरुणाको अभाव महसुस हुन दिएकी छैनन् ।

मंगलबार राखेप कभर्ड हलमा एपीएफलाई हराएर शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबलको उपाधि जित्ने क्रममा प्लेयर अफ द फाइनल बनेकी प्रगति प्रतियोगिताकै सर्वोत्कृष्ट सेटरसमेत चुनिइन् । ‘अरुणाले छोडेपछि हाम्रो हातै भाँच्चिएजस्तो भयो । त्यसपछि मैले प्रगतिलाई उसको गुणका आधारमा सेटर सिकाउन थालेको हुँ’ नेपाली महिला भलिबलमा क्षमता पहिचान र प्रतिभा उत्पादनमा स्थापित प्रशिक्षक राईले अनलाइनखबरसँग भने ।

७ कक्षामा पढ्दैगर्दा २०७६ को तिहारपछि खेलाडी बनाउन काठमाडौं ल्याइएकी प्रगतिले भाषा र अन्तर्मुखी स्वभावका कारण अप्ठ्यारो महसुस गर्नु परेको थियो । काठमाडौं आएगलत्तै १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला टोलीले ऐतिहासिक रजत जितेको देखेकी भलिबलप्रति वास्तविक उत्साह सुरु भयो ।

१४औं साग अर्को वर्ष पाकिस्तानमा हुने तय छ । त्यो बेला प्रगति आफैं टिमको सदस्य बन्न सक्छिन् । किनी राष्ट्रिय टिममा बलियो दाबेदार उनी असारमै राष्ट्रिय टिमको बन्द प्रशिक्षण शिविरमा परिसकेकी थिइन् ।

एक दशकदेखि महिला भलिबलमा विभागीय टिमको प्रमुख चुनौती बनेर उदाएको न्यू डायमण्ड स्पोर्टस क्लब प्रतिभा पहिचान र खेलाडी उत्पादनमा पनि उत्तिकै परिचित छ । रमिला तण्डुकार, प्रतिभा माली, कृपा अधिकारी, सलिना श्रेष्ठजस्ता रष्ट्रिय प्रतिभाको क्षमता पहिचान गरेका राईले प्रगतिमा त्यो सम्भावना देख्छन् ।

पछिल्लो एक वर्षदेखि न्यू डायमण्ड भलिबल टिम प्रगतिकै प्रदर्शनको वरिपरि छ । गत पुसमा एनभीए क्लब च्याम्पियनसिपमा उपविजेता हुँदा पनि उनको प्रदर्शन तारिफयोग्य थियो । त्यसैले उनलाई राष्ट्रिय टिममा कप्तान अरुणा शाहीको युवा विकल्पको रुपमा हेर्न थालिएको छ ।

भलिबलको सबैभन्दा महत्वपूर्ण पोजिसन हुनुका बाबजुद यहाँ खेलाडी आकर्षण कम हुन्छ । महत्वपूर्ण भइकन पनि यो पोजिसनमा जोखिम पनि उत्तिकै छ । टिमको प्रदर्शन बिग्रिँदा सबै दोष सेटरमा पर्नसक्ने भयबाट पनि खेलाडी जोगिन चाहन्छन् । राष्ट्रिय टिममा दुई दशकभन्दा बढी समय बिताएकी बितिना बुढाथोकी अहिले पनि विभागीय टिम एपीएफकी प्रमुख सेटर हुन् । कमला पुनले नेपाल पुलिसका लागि यही पोजिसन सम्हालेकी छन् ।

यस्ता खेलाडीहरु करिअरको उत्तराद्र्धतिर हुँदा प्रगतिले हासिल गरिरहेको सफलताले उनको सफल करिअरतर्फ मार्गनिर्देश गरिरहेको छ । प्रगतिलाई नेपालको ‘नम्वर वान’ सेटर बनाएर राष्ट्रिय टिमलाई सुम्पिने प्रशिक्षक राईले चाहना व्यक्त गरेका छन् ।

२०७५ सालमा कृपा अधिकारी आर्मीमा भर्ना भएदेखि नै राई आफ्नो टिममा एक स्थायी सेटरको प्रतीक्षामा थिए । यसपल्ट प्रगतिलाई उचाइले साथ दिएको छ । ‘भलिबल दिमागी खेल हो । त्यसमा पनि सेटरकै दिमागमा सबै टिम घुमिरहेको हुन्छ । अहिले नै कृपाको स्तरमा पुगिसकेको भन्दिन, तर आफूलाई सुधार गरिरहेकी छन्,’ राईले भने, ‘उमेर सानै छ, अझै एक्स्पोजर दिनुपर्छ ।’

बाफीकोटदेखि राष्ट्रिय टिमको प्रशिक्षणसम्म

२०७६ को दशैंमा भलिबल प्रशिक्षण दिन रुकुम पुगेका राईले पहिचान गरेको प्रतिभा हुन्– प्रगति । न्यू डायमण्डकी कप्तान ललिता नाथकी बहिनी (काकाकी छोरी) हुनुले पनि प्रतिभा पहिचानमा सहज भयो । तर, आफूसँगै हुर्किँदै गरेकी छोरीलाई टाढा पठाउन आमा तयार थिइनन् ।


ललिताको सफलता देखेका उनीहरुले रोक्न पनि सकेनन् । छोरीमान्छेले खेल्नु हुँदैन । खेलेर बिग्रिन्छ भन्ने पुरातन मानसिकतालाई उनको गाउँमा ललिताले नै तोडिसकेकी थिइन् । १४ वर्षको उमेरमा पढ्ने र खेल्ने लक्ष्यसहित उनी काठमाडौं आइन् ।

‘घरको सबैलाई दिदी र ठूलो ममीले सम्झाउनुभएको थियो । ममीलाई चाहिँ मैले गएर खेल्न सक्दिन कि भन्नेमा शंका थियो । दिदी (ललिता) र गुरुले बाबासँग कुरा गरेपछि आउन पाएँ,’ प्रगतिले अनलाइनखबरसँग भनिन् ।

काठमाडौंमा भलिबलको प्रशिक्षण सुरु गरेको ६ महिनामै कोरोना महामारीका कारण देशमा लकडाउन भयो । न्यू डायमण्ड स्कुलको छात्राबासमै रहँदा उनलाई नियमित प्रशिक्षण गर्ने समय भयो । लकडाउनले उनलाई खारिने अवसर दियो । भन्छिन्, ‘गुरुले मलाई सुरुमा स्पाइकरको रुपमा खेलाउनुभएको थियो । अलराउन्डर स्पाइकरको रुपमा २ वर्ष प्रशिक्षण गरेको हो ।’

मिडल ब्लकर बनेर घरेलु प्रतियोगितामा खेलिरहेकी र क्विक पोजिसनमा खारिएकी ललिता आफूले राष्ट्रिय टिममा अवसर नपाएपनि बहिनीको सफलताको सारथी बन्न पाउँदा खुसी छिन् । भन्छिन्, ‘आफूले कहिल्यै राष्ट्रिय टिमको जर्सी लगाउन नपाएर पनि होला, बहिनीले त्यो अवसर पाओस भन्ने नै छ ।’

प्रगतिले पनि रुकुमको दुर्गम भेगबाट आएर देशको प्रतिनिधित्व गर्ने सपना देख्न थालेकी छन् । ‘म मिहिनेत गरिरहेको छु र गल्तीहरु कम गर्दै सिकिरहेको छु । राष्ट्रिय टिमबाट खेल्ने उद्देश्य छ । भलिबलबाहेक केही सोचेकी छैन,’ उनले भनिन् ।

न्यू डायमण्ड भलिबल टिमका अन्य तीन खेलाडीसँगै यही वर्ष एसईईको तयारीमा रहेकी प्रगति अन्तर्मुखी स्वभावकी छन् । ‘सबैभन्दा राम्रो पक्ष प्रगतिको उचाई पर्याप्त छ । तर, उनी अलि ढिलो छिन् । भलिबलमा चुस्त हुनुपर्छ,’ प्रशिक्षक राईले प्रगतिबारे भने, ‘अलिकति फिटनेसलाई ध्यानमा राखेर छरितोपन देखाउन सकिन् भने नेपालको लागि नमुना सेटर बन्नेछिन् ।’

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?