+
+

निफको जुरीमा भारतका फिल्म समीक्षक मजुमदार र चीनकी ली रान मनोनित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १७:१८

काठमाडौं । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरीमा दुईजना विदेशी फिल्मकर्मी मनोनित भएका छन् । मनोनित हुनेमा फिचरतर्फ भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार र डकुमेन्ट्रीतर्फ प्रमुखमा ‘बेइजिङ फिल्म एकेडेमी’की डिन ली रान छन् ।

प्रेमेन्द्र मजुमदार भारतीय फिल्ममा पुनर्जागरण ल्याउने व्यक्ति मानिन्छन् । फिल्म समालोचना, लेखन, क्युरेटिङ तथा परामर्शका क्षेत्रमा प्रेमेन्द्रले आफूलाई विश्वव्यापी फिल्म समुदायको आवाजको रूपमा स्थापित गरेका छन् ।

प्रेमेन्द्रले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल कान्स र कायरो अन्तर्राष्ट्रिय फिल्म क्रिटिक्स सप्ताहलगायत निकै प्रतिष्ठित फिल्म महोत्सवमा वजनदार उपस्थिति जनाएका छन् ।

प्रेमेन्द्रको सबैभन्दा उल्लेखनीय उपलब्धिमध्ये एक बृहत अन्तर्राष्ट्रिय फिल्म महोत्सवको सुरुवात हो, जुन भारतका ४० भन्दा बढी सहरमा प्रदर्शन गरिन्छ । सन् २०१५ मा कोलकातामा उद्घाटन गरिएको यो महोत्सव एक प्रमुख सांस्कृतिक कार्यक्रम भएको छ, जसले विश्व सिनेमाका उत्कृष्ट फिल्मलाई देशभरका दर्शकमाझ लैजान्छ ।

इन्टरनेसनल स्कुल अफ बेइजिङ फिल्म एकेडेमीकी डीन ली रान फिल्मको बजारीकरण र वितरण पक्षको ज्ञाता मानिन्छिन् । उनी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको आयोजना र क्युरेटिङमा निकै अनुभवी छिन् । उनले चलचित्रसँग सम्बन्धित धेरै कार्यक्रमको प्रमुख आयोजकको रुपमा समेत अनुभव बटुलिसकेकी छन् ।

ली रान सन् २०१४ देखि बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको मुख्य प्रतिस्पर्धा इकाईको निर्देशक, २०१५ मा प्राथमिक र माध्यमिक विद्यालयका विद्यार्थीको लागि पहिलो राष्ट्रिय चलचित्र सप्ताहको कार्यकारी निर्देशक २०१६ र २०१८ मा सिल्करोड अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको प्रतिस्पर्धा विभागको निर्देशक, २०१७ देखि अन्तर्राष्ट्रिय विद्यार्थी चलचित्र र भिडियो महोत्सवको कार्यकारी अध्यक्षलगायत जिम्मेवारीमा छिन् ।

यस वर्ष ‘निफ’मा छनोट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा-छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्ममध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । ‘निफ’मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिने छ । आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौंमा निफको आगामी संस्करण आयोजना हुँदैछ ।

यसअघि अभिनेत्री प्रियंका कार्कीसहित माया एकेडेमीका इन्द्रलाल बलामी जुरीमा मनोनित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?