+
+

विश्व स्नुकर च्याम्पियनसिपको शीर्ष १६ मा पराजित भए अंकित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १७:५१

२६ माघ, काठमाडौं । नेपाल नम्बर एक अंकितमान श्रेष्ठले विश्व स्नुकर च्याम्पियनसिपको शीर्ष १६ बाट बाहिरिएका छन् ।

विश्व स्नुकर फेडेरेसनले आयोजना गरेको विश्व च्याम्पियनसिपमा पहिलो सहभागितामै नेपाली खेलाडीको यो प्रदर्शनले गौरवपूर्ण इतिहास कोरेको संघका अध्यक्ष सरोजकुमार मुल्मीले बताए ।

अष्ट्रेलियाको सिड्नीमा बिहीबार भएको शीर्ष १६ को प्रतिस्पर्धामा अंकितले चिनियाँ खेलाडी हाई लुङ मासँग ४–१ को फ्रेममा पराजित भए ।

त्यसअघि शीर्ष ३२ को प्रतिस्पर्धामा उनले पूर्व युरोप च्याम्पियन इंग्ल्याण्डका हार्भे चान्डलरलाई पराजित गरी सनसनी मच्चाएका थिए ।

माघ १६ गतेदेखि सुरु भएको प्रतियोगिताको समूह चरणमा अंकितले पहिलो खेलमा अष्ट्रेलियाका ग्रेग जेन्किन्सलाई ३–० ले हराएर विजयी सुरुवात गरेका थिए ।

उनले समूहमा दुई जित र एक हारसहित शीर्ष स्थानमा रहेर शीर्ष ६४ मा स्थान बनाएका थिए । समूहमा अंकितले थाइल्याण्डका सिरिपापोर्न नुवान्थाखाम्जामसँग ३–० ले पराजित भए पनि अर्को खेलमा अष्ट्रेलियाकै ग्लेन विकिन्सनलाई ३–० ले नै हराएका थिए ।

शीर्ष ६४ चरणको खेलमा उनले नेपालकै अर्का खेलाडी मोती पाख्रिनलाई ४–० ले पराजित गरी शीर्ष ३२ मा प्रवेश गरेका थिए । विश्व च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीको सहभागिता थियो ।

अष्ट्रेलियामै रहेर व्यावसायिक स्नुकर खेलिरहेका मोतीले नेपालका लागि खेल्दा शीर्ष ६४ मा आफ्नै टिमका खेलाडीसँग प्रतिस्पर्धा गर्नुपरेको थियो । मोतीले समूह एमको उपविजेता बन्ने क्रममा चार खेलमा तीन जितको नतिजा निकालेका थिए ।

अर्का खेलाडी राजन लामाले समूह एसमा शतप्रतिशत जितका साथ समूह विजेताका रुपमा शीर्ष ६४ चरणमा प्रवेश पाएका थिए । अष्ट्रेलियाकै जोसेफ कोन्चीलाई ४–१ ले हराएर शीर्ष ३२ मा पुगेका उनी चिनियाँ खेलाडी होङ यु लिउसँग ४–० ले पराजित रहे ।

विलियार्ड स्नुकर एण्ड पुल संघका अध्यक्ष मुल्मीका अनुसार नेपालबाट पाँच खेलाडीको सहभागिता प्रयास गरे पनि आयुश गौतम र मिलन लामाको भिषा समस्याका कारण प्रतियोगिता खेल्न पाएनन् ।

नाम दर्ता भइसकेका उनीहरु क्रमश: क्यू र जी समूहमा परेका थिए । प्रतियोगिताको खेलतालिकामा उनीहरुलाई अनुपस्थित देखाइएको छ । नेपालले पहिलोपल्ट गत वर्ष इंग्ल्याण्डमा भएको विश्व च्याम्पियनसिपमा सहभागिताको प्रयास गरेको थियो ।

भिषा प्रक्रियामा भएको ढिलाइका कारण प्रतियोगिता सुरु भएको एक दिनपछि लण्डन पुगेका उनीहरुलाई खेलबाट बन्चित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?