+
+

पृथ्वीलाई चिस्याउन सूर्यको ताप रोक्ने प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते १५:०४

काठमाडौं । विश्वको तापक्रममा भैरहेको वृद्धि कम गर्नका लागि वैज्ञानिकहरुले अनौठो तरिका खोजेका छन् । वैज्ञानिकहरु सूर्यबाट आउने तापलाई चिस्याउने काममा तल्लीन भएका छन् ।

सोलार जियोइन्जिनियरिङ भनिने उक्त प्रविधिका माध्यमबाट सूर्यको तापक्रम घटाइनेछ, ता कि पृथ्वीमा घाम कम आओस् । पछिल्ला दिनमा यो प्रविधिमा ठूलो रकम लगानी पनि भैसकेको छ । तथापि वैज्ञानिकहरुको एउटा ठूलो तप्काले यसलाई निकै खतरनाक तथा विनास मच्चाउने प्रयोग भनिरहेको छ ।

सन् १९९१ मा फिलिपिन्सस्थित माउन्ट पिनेताबु ज्वालामूखी विस्फोट भयो । २० औं शताब्दीको सबैभन्दा ठूलो ज्वालामूखी विस्फोट रहेको उक्त ज्वालामूखीबाट फैलिएको खरानी तथा लाभा आकाशमा २८ माइलसम्म फैलिएको थियो । त्यसपछि १५ महिनासम्म पूरै विश्वको तापक्रम १ डिग्रीसम्मले कम भएको थियो ।

आकाशमा फैलिएको लाभाका कणहरुको कारण सूर्यका किरणहरु पर्याप्त मात्रामा पृथ्वीसम्म पुग्न सकेनन् । सोही घटनाले वैज्ञानिकहरुमा नयाँ आइडिया जन्माएको हो । यदि सूर्य र वायुमण्डलको बीचमा कुनै चिजको एउटा पत्र खडा गर्नेहो भने त्यसले सूर्यको किरणलाई पृथ्वीसम्म आउनबाट रोक्ने वैज्ञानिकहरुले ठाने ।

वायुमण्डलमा सल्फर स्प्रे

जसरी कुनै तातो चिजमा केही चिजको स्प्रे गर्दा छिटै सेलाउँदछ, त्यसैगरी सूर्यको घामलाई कम गर्ने प्रविधि पनि त्यसमै आधारित हुन्छ ।

सोलार इन्जिनियरिङ भनिने उक्त प्रक्रियामा वैज्ञानिकहरुले ठूला ठूला बेलुनहरुको माध्यमबाट वायुमण्डलको उपल्लो हिस्सा अर्थात् स्ट्राटोस्फेयरमा सल्फर डाइअक्साइडको स्प्रे गर्नेछन् ।

सल्फरमा सूर्यको तिव्र किरणलाई परावर्तन गर्नसक्ने गुण हुन्छ । त्यसैले वायुमण्डलमा यस्तो स्प्रे गर्नाले पृथ्वीमा चर्को घामबाट छुटकारा मिल्न सक्नेछ ।

अन्य प्रविधिमा पनि हुँदैछ काम

वैज्ञानिकहरुले सल्फर स्प्रेका अलावा यो प्रक्रियामा अन्य विधिहरुको पनि खोज गरिरहेका छन् । त्यसमध्ये एउटा हो स्पेस सनशेड तयार गर्नु । यो प्रक्रियामा अन्तरिक्षमा ऐनाजस्तै कुनै चिजका माध्यमबाट सूर्यको किरणलाई परावर्तन गरी अर्कोतर्फ मोडिन्छ । त्यस्तै क्लाउड सिडिङ विधि पनि अर्को हो । जसमा समुद्री पानीबाट हावामा लगातार बादल बनाएर आद्रता कायम राखिनेछ ताकि गर्मी कम होस् । त्यस्तै भवनहरुका छतमा सेतो रङ लगाउनु पनि अर्को तरिका हो ।

विश्वका विभिन्न कम्पनीहरुले सूर्यको गर्मी कम गर्ने प्रविधिमा काम सुरु गरिसकेका छन् । हालै बेलायती संस्था डिग्रिज इनिसिएटिभले सोलार इन्जिनियरिङ मा भैरहेका अनुसन्धानका लागि झण्डै ९ लाख डलर प्रदान गर्ने घोषणा ग¥यो । हाल यो प्रविधिमा विभिन्न १५ वटा मुलुकहरुले अनुसन्धान गरिरहेका छन् । उक्त अनुसन्धानमा विभिन्न संस्थाहरुले भरपूर लगानी गरिरहेको अवस्था छ । अक्सफोर्ड तथा हार्वार्ड जस्ता विश्वविद्यालय पनि यो प्रविधिको अनुसन्धानमा जुटिरहेका छन् ।

गरिब देशलाई प्रयोगशाला बनाइँदै, मेक्सिकोले लगायो प्रतिबन्ध

अनुसन्धानको सबैभन्दा अनौठो कुरा त के भने विश्व उष्णिकरण कम गर्ने दाबी गरिएको यो परियोजनाका लागि नमूना क्षेत्रको रुपमा गरिब वा कम आय भएका मुलुकहरुलाई छानिएको छ । जबकि हरितगृह ग्यास तथा प्रदुषणका लागि विकसित देशहरु जिम्मेवार छन् । जलवायु परिवर्तनका लागि धनी देशहरु धेरै जिम्मेवार रहेको तर सूर्यको गर्मी कम गर्ने वैज्ञानिक अनुसन्धान तथा प्रयोगका लागि विकाससील देशलाई प्रयोगशाला बनाइएकोमा कतिपय वैज्ञानिकहरुले प्रश्न समेत उठाएका छन् ।

मेक्सिकोले भने यो प्रयोगमाथि प्रतिबन्ध लगाएको छ । गतवर्ष सन् २०२२ को अन्त्यतिर सोलार इन्जिनियरिङमा काम गरिरहको एक स्टार्टअप कम्पनी मेक सनसेट्सले दुई ठूला बेलुनहरु मेक्सिकोको आकाशमा उडायो । सल्फर डाइअक्साइडले भरिएका ती बेलुनहरुको उद्देश्य त्यस क्षेत्रमा सूर्यको गर्मीलाई कम गर्नु थियो ।

तर मेक्सिको सरकारले तत्कालै उक्त प्रयोगमाथि प्रतिबन्ध लगायो । उसका अनुसार जलवायु परिवर्तन रोक्नका लागि भन्दै वायुमण्डलको पत्रलाई कुनै विषाक्त ग्याँसले ढाक्नु निकै खतरनाक हुनसक्छ ।

प्रयोगका जोखिम के के छन् ?

वायुमण्डलमा सदैव तुवाँलोजस्तो लाग्नेछ, जसका कारण निलो आकाश देखिनेछैन । यसले अन्य भयानक असर समेत गर्नसक्नेछ । किनकी सल्फर डाइअक्साइड आफैमा विषाक्त ग्यास हो, जसले स्वासप्रस्वास सम्बन्धी विभिन्न रोग पैदा गर्न सक्दछ । त्यसैले हावामा सधैंभरी यसको मात्रा रहँदा स्वास्थ्यमा गम्भीर खतरा पैदा हुनेछ ।

म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका वैज्ञानिकहरुका अनुसार सल्फर डाइअक्साइड ग्यासका कारण सूर्यको तातो किरण कृत्रिम रुपबाट परावर्तन हुनेछ ।

जसका कारण पृथ्वीमा खडेरी तथा अनिकालको जोखिम बढ्छ । साथै सल्फर ग्यासले ओजन तहको विनास गर्नसक्छ । यसबाट हानिकारक परावैजनी किरणहरु पृथ्वीमा आउने र त्यसले मानिसमा क्यान्सर जस्ता घातक रोगको प्रकोप बढ्ने खतरा हुनेछ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?