+
+

कांग्रेसमा गुट फेरेर शाहको फड्को, पहिलो जितमै बने मुख्यमन्त्री

राजनीतिक समीकरण फेरिएका कारण प्रकाश देउवा मुख्यमन्त्री बन्ने परिस्थिती नभएकै विश्लेषणका आधारमा शेरबहादुर देउवाले शाहलाई दलको नेता बनाएका थिए । तर दलको नेता बनेको ३७ दिनमै शाह मुख्यमन्त्री बने ।

जनक विष्ट जनक विष्ट
२०७९ माघ २७ गते २०:१९

२७ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा २० पुसमा कांग्रेस संसदीय दलको नेता चयन रोचक थियो । बहादुरसिंह थापा, दिवानसिंह विष्ट, प्रकाश देउवा, मेघराज खड्का, प्रकाश बम संसदीय दलको नेताका आकांक्षी थिए । विष्ट बाहेकका अन्य आकांक्षी सबै सभापति शेरबहादुर देउवा पक्षधर हुन् ।

कमलबहादुर शाहको संसदीय दलको नेताको आंकाक्षी नामहरुमा चर्चा समेत कम थियो । तर सर्वसम्मत दलको नेता चयन भएर शाहले अप्रत्यासित फड्को मारे । पार्टी संरचनामा आफू भन्दा उपल्लो तहमा रहेका नेताहरुलाई उछिन्दै शाह सर्वसम्मत चुनिएका थिए ।

त्यसो त, सभापति शेरबहादुर देउवाको चाहना महाधिवेशन प्रतिनिधिसमेत रहेका भतिजा प्रकाश देउवालाई दलको नेता बनाउने थियो । संस्थापन भित्रैबाट आकांक्षी धेरै हुनु, प्रकाशलाई अघि सार्दा समूहमा विग्रह हुने आशंकाले दोस्रो पात्रको खोजीमा सभापति देउवा थिए ।

अर्कोतिर, नेता प्रकाशमान सिंहले उनी निकट प्रदेश सांसद कमलबहादुर शाहलाई संसदीय दलको नेता बनाउन सभापति देउवालाई दबाब बढाइरहेका थिए । ‘आफ्नै समूहका नेताहरु मिलाउन सभापतिलाई कठिन भइरहको थियो,’ संस्थापन पक्षका नेता भन्छन्, ‘प्रकाशमानले कमल शाहलाई संसदीय दलको नेता बनाउन दबाब दिएपछि सभापति तयार हुनुभयो ।’

शाहलाई संसदीय दलको नेता बनाउन देउवाका भतिजा प्रकाशले समेत अप्रत्यक्ष रुपमा सघाए । निर्वाचन हुँदा प्रकाश देउवाविरुद्ध उम्मेदवारी दिने आँट अरुमा थिएन । अरुले आँट नगरे पनि शाह अघि सरेका थिए । शाह अघि सर्नुमा नेता प्रकाशमानको आड थियो । शाह बाहेकले उम्मेदवारी दिएको अवस्थामा प्रकाश पनि प्रतिस्पर्धी बन्ने आन्तरिक समझदारी उनी दुईबीच भएको प्रदेशका नेताहरु बताउँछन् । संस्थापन पक्षबाट प्रकाश उम्मेदवार हुँदा सोही पक्षका अन्यले उम्मेदवारी नदिने भए । संसदीय दलको नेतामा शाह सर्वसम्मत बनाउन प्रकाश वाधक भइदिएनन् ।

शाह २० पुसमा दलको नेतामा सर्वसम्मत चयन भएका थिए । त्यो बेला राजनीतिक समीकरण फेरिएका कारण प्रकाश देउवा मुख्यमन्त्री बन्ने परिस्थिती नभएकै विश्लेषणका आधारमा देउवाले शाहलाई दलको नेता बनाएका थिए । तर दलको नेता बनेको ३७ दिनमै शाह मुख्यमन्त्री बन्ने अवस्था आयो । प्रकाश देउवाले भने भौतिक पूर्वाधारमन्त्रीमा चित्त बुझाउनु पर्‍यो

मन्त्रीको शपथ लिँदै प्रकाश देउवा र नरेशबहादुर शाही ।

नव नियुक्त मुख्यमन्त्री शाह कैलालीको कांग्रेस सभापति निर्वाचित गर्दा समेत निर्णायक शक्तिका रुपमा देखा परेका थिए । जिल्ला सभापतिका लागि संस्थापन पक्षका नारायणदत्त भट्ट, संस्थापन इतर समूहबाट प्रकाशबहादुर बम र रामबहादुर कलेल सभापतिको उम्मेदवार बनेका थिए । पहिलो चरणको मतदानबाट कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत कटाउन सकेनन् ।

दोस्रो चरणको मतदानमा शेखर कोइराला पक्षका कलेलले प्रकाशबहादुर बमलाई समर्थन गरे । तर कलेलको समर्थन पाएर पनि बम १ हजार ९६ मत ल्याई पराजित भए । निर्वाचित भट्टले १ हजार ३५९ मत सहित जिते । बमले कलेलको साथ पाउँदा पहिलो चरणमा प्राप्त गरेको मत समेत गुमाउनुपरेको थियो । त्यो बेला भट्टको जितमा निर्णायक बन्ने पात्र थिए, अहिलेका नव नियुक्त मुख्यमन्त्री शाह ।

कांग्रेस कैलालीका एक पदाधिकारीका अनुसार शाहले पार्टी सभापति देउवासँग भट्टलाई दुई वटा शर्तमा सघाउन सक्ने बताएका थिए, पहिलो प्रदेशसभाको चुनावमा आफूलाई टिकट दिनुपर्ने र दोस्रो लम्कीचुहा नगरपालिकाको मेयरको टिकट पनि आफू निकट नेताले पाउनुपर्ने । देउवा यी दुवै शर्तमा राजी भएपछि उनले गुट फेरेर भट्टलाई सघाएका थिए ।

‘कोइराला गुट फेरेर कमलबहादुर शाहलाई त फलिफाप नै भयो । आफू प्रदेशसभा सदस्य, संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बने । लम्कीचुहामा सुशीला शाहीलाई मेयर बनाए,’ कांग्रेस कैलालीका एक नेताले अनलाइनखबरसँग भने, ‘कांग्रेसमा विचार, सिद्धान्त भन्ने कुरा गौण देखियो तर व्यक्तिवाद हाबी हुँदै गयो ।’

स्थानीय तह चुनावका बेला कांग्रेस प्रदेश समितिले लम्कीचुहाको मेयरमा भक्तबहादुर थापालाई टिकट दिएको थियो तर शेरबहादुर देउवाले उनको टिकट खोसेर शाहीलाई थमाएका थिए । जबकी थापा २०७४ को निर्वाचनमा लम्कीचुहा नगरपालिकाको मेयरमा पराजीत भएका थिए । त्यो बेला शाहकै जोडबलमा उनको टिकट खोसिएको कांग्रेसभित्र चर्चा चलेको थियो ।

एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा संविधानको धारा १६८ को उपधारा (२) अनुसार २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाउँदा शाहलाई मुख्यमन्त्री पद चिठ्ठा परेको हो । उनलाई संविधानको धारा १६८ को उपधारा(३) अनुसार ठूलो दलको हैसियतमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भए ।

प्रदेश प्रमुखसँग मुख्यमन्त्री नियुक्तिको शपथ लिँदै कमल ।

१० माघ २०२८ मा अछामको रामारोशनमा बुवा मंगलबहादुर शाह र आमा चन्द्रा कँडेल शाहको कोखबाट जन्मिएका शाह २०४४ सालमा नेविसंघबाट नेपाली कांग्रेसको सक्रिय राजनीतिमा आएका हुन् । कैलालीको टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिरबाट स्कुले शिक्षा पढेका शाहले व्यवस्थापन संकायमा स्नातक सम्मको अध्ययन पूरा गरेका छन् ।

२०४६ सालदेखि ५२ सालसम्म नेविसंघको क्याम्पस इकाइ सदस्य, जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधि भएका उनले तरूण दलको खेलकुद विभागको केन्द्रीय सदस्य भएर काम गरिसकेका छन् । २०५५ देखि ०६८ सम्म उनी तरुण दलको केन्द्रीय कोषाध्यक्ष र सचिव हुँदै उपाध्यक्ष भए भने पार्टीको नवौं महाधिवेशनदेखि १४ औं महाधिवेशन सम्म आइपुग्दा निरन्तर महासमिति सदस्यमा विजयी हुँदै आएका छन् । तर केन्द्रीय सदस्यमा भने दुई पटक पराजीत भइसकेका छन् ।

१४ औँ महाधिवेशनमा कैलालीमा महासमिति सदस्य बन्ने कोइराला समूहका शाह एक्ला नेता थिए । २०४६ र २०६३ को जनआन्दोलनमा पटकपटक गरी चार महिना बन्दी जीवन पनि बिताएका छन् । २०७० सालको दोस्रो संविधान सभा चुनावमा कैलाली– २ बाट उम्मेदवार बनेका उनी एमालेका मोहनसिंह राठौरसँग पराजीत भएका थिए । गत मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनमा भने उनले कैलाली–२ को प्रदेश सभा (१) मा नागरिक उन्मुक्ति पार्टीका रतन थापालाई पराजीत गर्दै पहिलो पटक संसदीय चुनाव जितेका थिए ।

संसदीय दलको नेता चुनिएको ३७ दिनमै मुख्यमन्त्री भएका शाहको राजनीतिक छलाङलाई कांग्रेसभित्र स्वभाविक रुपमा लिनेहरु छन् । सभापति देउवाका भतिजा प्रकाशलाई मुख्यमन्त्री बनाउने चाहनामा धक्का पुगेको विश्लेषण पनि गरिएको छ ।

कांग्रेस सुदूरपश्चिमका महामन्त्री मेघराज खड्का शाहको राजनीतिक छलाङलाई स्वभाविक मान्छन् । ‘उहाँ पनि पार्टीमा निरन्तर लागिरहनुभएको मान्छे हो । अहिले कैलालीको १, २ र ३ नम्बर क्षेत्रमा ढकियाको लहर चल्दा उहाँ त्यहाँबाट जितेर आउनुभयो । महासमिति सदस्य पनि हुनुहुन्छ,’ खड्काले अनलाइनखबरसँग भने, ‘यो अस्वभाविक छैन । हामी सबैले स्वीकार गरेर नेतृत्वमा सर्वसम्मत स्थापित गरेको हो नी ।’

नियुक्तिका बेला समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा रावल नेतृत्वको सरकार ढल्दा मुख्यमन्त्री बन्ने अवसर पाएका शाहका लागि अहिलेको अवस्थामा प्रदेशसभाको अंकगणित अनुकुल भने छैन । प्रदेश सरकार ढले पनि संघीयदेखि अन्य ६ प्रदेशमा एमाले नेतृत्वको गठबन्धन कायम रहेकाले सुदूरपश्चिममा शाहले पनि विश्वासको मत पाउन अवस्था चुनौतीपूर्ण छ ।

नागरिक उन्मुक्ति पार्टीले माग मुद्दा सम्बोधनकै अडान कायम राखेर विश्वासको मत नदिने र एमाले नेतृत्वको गठबन्धन कायमै रहेको अवस्थामा विश्वासको मत पाउने सम्भावना सकसपूर्ण हुनेछ । किनकी अहिलेको परस्थितिमा कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र स्वतन्त्र प्रदेशसभा सदस्य डा.तारा जोशी गरेर शाहको पक्षमा २४ जना देखिन्छन् । एमाले नेतृत्वको गठबन्धनसँग एमालेका १०, माओवादीका(सभामुख बाहेक) १० र राप्रपाका १ गरेर २१ जना सांसद छन् भने नाउपाका ७ जना सांसद छन् ।

राष्ट्रपति निर्वाचनसम्म अहिलेको गठबन्धन भत्किएर आफ्नो नेतृत्वमा पूरानो गठबन्धन बन्ने विश्वासका आधारमा कांग्रेसका नेताहरु माओवादीले विश्वासको मत दिने र सरकार अघि बढ्ने बताउँदै आएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि स्वयंम शाहले समेत आफ्नो नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्ने दाबी गरेका छन् । तर पूर्व मन्त्रीसमेत रहेका माओवादी संसदीय दलका नेता खगराज भट्ट भने आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताउँछन् । उनले बिहीबार बेलुकी सामाजिक सञ्जाल फेसबुकमा अब हामी प्रमुख प्रतिपक्षी भनेर लेखेका छन् ।

अबको ३० दिनमा सिर्जना हुने राजनीतिक परस्थितीले शाह नेतृत्वको सरकारको आयु निर्धारण गर्नेछ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?