+
+
सन्दर्भ जनयुद्ध दिवस :

जनयुद्धलाई उठाएको त्यो रुकुमकोट आक्रमण

हरेक लडाइँ त्यो भन्दा ठूलो लडाइँका लागि तयारी वा पूर्वाभ्यास हुन्छन् । रुकुमकोटमा किल्लाबन्दी लडाइँ, खासगरी सेनाकै स्टाइलको फोर्टिफिकेसनको त्यो लडाइँ सेनासँगको लडाइँको पूर्वाभ्यास जस्तो बन्न गयो । ‘गर्दै सिक्ने’ मान्यताअनुसार त्यो लडाइँ सेनासँग लड्ने तालिम साबित भयो ।

सुकबहादुर रोका ‘शरद’ सुकबहादुर रोका ‘शरद’
२०७९ फागुन १ गते ८:५०
माओवादी लडाकुहरु ।

तीन दशक । यो सानो समय होइन । जब म आफूलाई तीन दशकअघि फर्काउँछु, मानसपटलमा आइहाल्छ–२२/२३ वर्षे लक्का जवानी । देश दुनियाँ बदल्ने उत्कट चाह, जनमुक्तिका सुन्दर सपना ।

तीन दशक बढी भयो– रोल्पा, रुकुमलगायतका जिल्लामा ग्रामीण वर्गसंघर्ष भएको । संघर्षका ती क्षण आँखै अगाडि फनफनी घुम्छन् । त्यही वर्गसंघर्ष हो, जसले १ फागुन २०५२ मा जनयुद्ध सुरु गर्न आधार तयार गर्‍यो । सचेततापूर्वक सञ्चालित दशवर्षे जनयुद्धले नै हो– गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता आएको । सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था चलेको र जनताका छोराछोरी राष्ट्र प्रमुख भएको ।

आज २७ वर्ष भएछ जनयुद्ध सुरु गरेको । जनयुद्धको एउटा रूप सशस्त्र संघर्ष स्थगन भएको र शान्तिप्रक्रिया प्रारम्भ भएको नै १७ वर्ष भइसक्यो । दशकको जनयुद्धका घटना तथा मोर्चाहरू सहभागीले भौतिक शरीर रहेसम्म बिर्सन सकिंदैन । इतिहासको रूपमा कसैले कहिल्यै बिर्सने छैनन् । त्यसभित्रका पनि कतिपय घटना तथा मोर्चा विशिष्ट सम्झनाका त छन् नै, जसले जनयुद्धलाई नयाँ ढंगले उचाइ दिए, मोड दिए, नयाँ शिक्षा बने र राष्ट्रिय राजनीतिलाई मोडे । त्यसैमध्येको मलाई महत्वपूर्ण लाग्ने जनसेनाले रुकुमकोट प्रहरी बेसक्याम्पमा गरेको आक्रमणलाई त्यसबखतको एक सिपाही, एक कमाण्डरको रूपमा २७ औं जनयुद्ध दिवसका अवसरमा सम्झने प्रयास गरेको छु ।

प्रचण्डपथ’को पहिलो सैन्य आक्रमणको तयारी

जनयुद्ध पाँच वर्ष पुग्दै थियो । जनयुद्धको नेतृत्व गर्ने नेकपा (माओवादी)को दोस्रो राष्ट्रिय सम्मेलन २०५७ को माघ–फागुनमा भारत पन्जाबको बटिण्डामा सम्पन्न भयो । माओवादीमा विचार संश्लेषण र नेतृत्व केन्द्रीकरणको व्यवस्थित बहस भयो । विचारमा प्रचण्डपथ, संगठनमा अध्यक्षात्मक प्रणाली र सर्वहारा वर्गीय क्रान्तिमा फ्यूजनको सैन्य कार्यदिशा अवलम्बन गर्ने त्यस सम्मेलनका ऐतिहासिक विशेषता हुन् ।

सम्मेलनबाटै जनयुद्धको सातौं योजना बन्यो । योजनाको शुभारम्भ र सम्मेलनले पैदा गरेको ऊर्जाको मुखरण गर्न जनआन्दोलन दिवसको सन्दर्भ पारेर २४ चैत २०५७ लाई विशेष धक्काको रूपमा मनाउन नेपाल बन्दको उद्घोष भयो । ‘धक्का’ जनयुद्धको मौलिक विशेषता र विद्रोहात्मक शैलीको एक रूप थियो ।

सातौँ योजनाको मूल नारा ‘आधार इलाका र स्थानीय सत्ता सुदृढीकरण र विस्तार गरौं ! केन्द्रीय जनसरकार निर्माणको दिशामा अघि बढौं !!’ थियो । यो योजनाको फौजी पक्षमा जनयुद्धको आधार इलाकामा किल्लाबन्दीसहित तैनाथ ‘पुलिस फोर्स’लाई पराजित गरी ‘पुलिस फोर्स’ मुक्त बनाउनुपर्थ्यो । डोल्पा सदरमुकाम दुनैसम्मको सैन्य आक्रमण शृङ्खलामा छापामार युद्धलाई चलायमान युद्धमा परिणत गर्ने अभ्यास गरिसकेका थियौं । अब छापामार स्वरूपलाई प्राथमिकता दिँदै चलायमान र मोर्चाबद्ध युद्धको अभ्यास गर्ने सैन्य लक्ष्य हासिल गर्न जनसेनाको युद्ध क्षमताको विकास गर्नु थियो । यसका लागि व्यवस्थित सैन्य योजना चाहिन्थ्यो ।

सुकबहादुर रोका ‘शरद’

संरचनागत रूपमा सिंगो जनसेनालाई निश्चित नामकरणसहित संगठित गर्ने, कम्पनीस्तरमा रहेको जनसेनालाई बटालियनस्तरमा उठाउने तथा एकीकृत नीतिअन्तर्गत तालिम र प्राविधिक व्यवस्थापनद्वारा जनसेनाको युद्ध क्षमताको विकास गर्ने पार्टी नीति थियो । कार्यान्वयनको पहल मुख्य आधार इलाकाले लिनुपर्थ्यो ।

२४ चैत २०५७ को नेपाल बन्दको आधार तयार गर्न र लक्षित राजनीतिक तथा फौजी उद्देश्यहरू प्राप्तिका लागि पश्चिम सैन्य कमाण्डको योजना र निर्देशनमा एक व्यवस्थित सैन्य कारबाही गर्नुपर्ने भयो । जनसेनाको मुख्य फोर्स कम्पनी र सहायक फोर्स जिल्लामा कार्यरत प्लाटुनहरू केन्द्रीकरण गरेर आक्रमण गर्ने योजना बन्यो । पार्टीले प्रचण्डपथको विकास गरेपछि यो ठूलो सैन्य आक्रमणको तयारी थियो ।

निशानामा रुकुमकोट प्रहरी बेसक्याम्प

‘एक ठाउँ आक्रमण गर्ने र सयौं ठाउँकालाई लखेट्ने’ जनसेनाको सैन्य रणनीति थियो । सबैभन्दा बलियो मानिएको प्रहरी किल्लामा आक्रमण गर्ने, ताकी त्यसभन्दा कमजोर किल्लाको रूपमा रहेका प्रहरी पोष्टहरू हतोत्साहित भई भागुन् र जनयुद्धको आधार इलाका प्रहरी मुक्त होस् । सैन्य योजना बन्यो– जनसेनाको बटालियनस्तरबाट आक्रमण गर्ने र त्यो भन्दा ठूलो फोर्स तथा फर्मेशनले ‘डिफेन्स’ गर्ने, ताकी प्रहरीको अन्य ‘मुभ’ र अप्रेशन असम्भव होेस् ।

यस्तो बलियो प्रहरी किल्ला कहाँ छ त ? जुन किल्लामा आक्रमण गर्दा सफल पनि भइयोस् र निर्धारित लक्ष्य उद्देश्यहरू पनि प्राप्ति होस् । जनसेनाको छनौटमा पर्‍यो–रुकुमको रुकुमकोट प्रहरी बेसक्याम्प, जहाँ कम्पनीस्तरको प्रहरीको विशेष कमाण्डो फोर्स थियो ।

कमाण्डरहरूको त्यो टिम

पश्चिम व्यूरोमा जनसेनाको एकमात्र स्थायी कम्पनी थियो । जिल्लामा अन्य प्लाटुन थिए । कम्पनीको राजनीतिक कमिश्नार वर्षमान पुन ‘अनन्त’, कमाण्डर नन्दबहादुर पुन ‘पासाङ’ र सहकमाण्डर धनबहादुर मास्की ‘राजेश’ हुनुहन्थ्यो ।

कम्पनीको १ नं. प्लाटुन कमाण्डर हरिमान पुन ‘बरुण’, सहकमाण्डर झमन पुन ‘रोसन’, २ नं. प्लाटुन कमाण्डर होम बहादुर श्रेष्ठ ‘हिमाल’ र सहकमाण्डर वीरेन्द्र बुढा ‘मन्जिल’ र ३ नं. प्लाटुन कमाण्डर कालीबहादुर खाम ‘विविध’ र सहकमाण्डर हरीबहादुर ध्यार ‘राजेन्द्र’ हुनुहुन्थ्यो । प्लाटुन सहकमाण्डरहरू रामलाल रोका ‘मदन’ र सर्बजित घर्ती ‘योद्धा’ कम्पनी कार्यालयमा हुनुहुन्थ्यो ।

बाग्लुङ–म्याग्दीमा कार्यरत ६ नं. प्लाटुन कमाण्डर सुकबहादुर रोका ‘शरद’ र सहकमाण्डर ध्रुव घिमिरे ‘विप्लव’, रोल्पामा कार्यरत ११ नं. प्लाटुन कार्यवाहक कमाण्डर हरिबहादुर बुढा ‘नेपेरु’, रुकुममा कार्यरत १० नं. प्लाटुन कमाण्डर कलबहादुर नाथ ‘महान’ र सहकमाण्डर नन्दकिशोर घर्ति ‘निर्माण’, दाङ–प्यूठानमा कार्यरत ७ नं. प्लाटुन कमाण्डर बासुदेव घिमिरे ‘यमराज’, सल्यानमा कार्यरत ९ नं. प्लाटुनः कमाण्डर नेपबहादुर कंवरमगर ‘विवेक मगर’ र सहकमाण्डर धनबहादुर पुन ‘मित्र’ हुनुहुन्थ्यो ।

माओवादी अध्यक्ष प्रचण्डको दायाँतर्फ– सुकबहादुर रोका ‘शरद’ र कलबहादुर नाथ ‘महान’ । प्रचण्डका सुरक्षामा खटिएका अर्का एक कमाण्डर मिलन डाँगी (दायाँ) ।

प्रारम्भिक अध्ययनमा रुकुमकोट प्रहरी बेसक्याम्प मजबुत किल्लामा र कम्पनीस्तरको विशेष कमाण्डो फोर्स भएकाले जनसेनाले बटालियन स्तरबाटै आक्रमण गर्ने योजना भयो । जिल्लामा विकेन्द्रित स्थायी कम्पनी र जिल्लाका प्लाटुनहरू रुकुमको चुनबाङमा केन्द्रीकरण भएर कारबाहीका लागि प्राविधिक सप्लाई, अन्य तयारी गर्ने र कमाण्ड ग्रुपले योजनागत सर्वेक्षण थालनी गर्ने निर्णय भयो ।

रेकीमा दिएको प्रहरीको सुरक्षा तयारी

आक्रमण अघि विपक्षी फौजको चाँचबुझ ‘रेकी’ अनिवार्य छ । प्राप्त जिम्मेवारीमा रहेर रुकुमकोट प्रहरी बेसक्याम्पको रेकीमा लाग्यौँ । ‘आफैंलाई बुझ्ने र दुश्मनलाई बुझ्ने’ नीतिमा प्रहरीको समग्र स्थितिको अध्ययन सुरु भयो ।

रुकुमकोटको बाहुनथाना सन्नीदहमा प्रहरी पोष्ट थियो । त्यहाँ असुरक्षित मानी ठाँटीडाँडामा पूर्णरूपमा सेनाको विशेषता र किल्लाबन्दीको स्वरूपमा प्रहरी बेसक्याम्प बसेको थियो । बजार र गाउँभन्दा टाढा रहेको प्रहरीले सुरक्षात्मक उपायमा कुनै कसर बाँकी राखेको थिएन । चारैतिर बंकर र सेन्ट्री पोष्ट थिए । त्यसलाई जोड्ने लिंक टनेल, बंकर बाहिर काँडेतार, तीव्रगतिमा नजिक आउन नदिन पखेरोभरी एक फुट उचाइको काँडेतार बिच्छ्याइएको थियो । बंकर बाहिर चारैतिर पोलमा बिजुली बत्ती जोडेर भित्र नदेखिने तर बाहिर सबै देखिने गराइएको थियो ।

भूगोल आफंैमा किल्ला थियो । दक्षिणतर्फ मूलगेट, पहिलो गेटभित्र हेलीप्याड थियो । हेलीप्याडपछि दोस्रो गेट थियो । पश्चिम–दक्षिण तथा पूर्व–उत्तरमा भीर र अप्ठ्यारो भूगोल थियो । बेसक्याम्प भित्र एउटा कार्यालय, एउटा ब्यारेक र मेष घर थियो । क्याम्पका सबै प्रहरी आर्कमै बस्ने, सुत्ने गरी टनेल घरहरू बनेका थिए । आधार इलाकामा त्यस बेलासम्म प्रहरी बेस क्याम्पमै सीमित भइसकेको थियो । त्यस क्याम्पका प्रहरीको अवस्था पनि त्यस्तै थियो– रातभरी जागराम बस्ने र दिनमा आराम तथा सुत्ने ।

रुकुमकोट बेसक्याम्पमा इन्सपेक्टर जीवनकुमार खड्काको कमाण्डमा करिब ७५/८० जनाको प्रहरी ‘फोर्स’ थियो । प्रहरीसँग थ्रीनटथ्री राइफल, प्वाइट टु–टु म्याग्नम, सटगन, पेस्तोल, प्लाष्टिक ह्याण्ड ग्रिनेड थिए । बेसक्याम्प नजिकमा सदरमुकाम मुसीकोटको जिप्रका र रोल्पाको थबाङमा अर्को प्रहरी बेसक्याम्प थियो । तर सपोर्टमा आउने अवस्था र मनस्थिति थिएन ।

कसले खोल्ने पहिलो फायर ?

विगतको लड्ने तरिका यसपटक केही फेरिने भयो । कम्पनीका प्लाटुनले कमाण्ड लिने र जिल्ला प्लाटुनहरूलाई बीचबीचको आर्क दिएर त्यहींको आवश्यकतामा असल्ट, सपोर्ट, रिजर्भ, कमाण्ड र स्टोप तथा एचपी (स्वास्थ्य उपचार) ग्रुप बनाउने कुरा भयो । मुख्य कमाण्ड र कन्ट्रोल ग्रुप विशेष ठाउँंमा सेट गर्ने, बिजुली कटअफ गर्ने ग्रुप बनाउने र माओवादीसँग सम्बद्ध पत्रकारहरूलाई पर्यवेक्षण तथा युद्ध रिपोर्टिङका लागि सहभागी बनाइने भइयो ।

उत्तरी मोहडामा रहेको छेउको बंकर पुग्न कठिन र टाढा थियो । त्यो प्रहरीको कन्ट्रोल पोइन्ट पनि थियो । ‘फष्ट फायर’ खोल्ने जिम्मा कमरेड मुनाललाई भयो । रुकुमको चुनबाङमा व्यवस्थित ‘म्याप’ सहित मुख्य कमाण्ड ग्रुपबाट कारबाहीको आवश्यकता, महत्व, योजनाबारे कोचिङ भयो । राजनीतिक वैचारिक प्रशिक्षण भयो । आ–आफ्नो आर्कको महत्व, भूमिका र जिम्माबारे प्लाटुन/प्लाटुनमा छलफल र थप कोचिङ भयो ।

माओवादी लडाकुहरु

हामीले आवश्यक युद्ध सामग्री तयार गर्यौं । प्रहरीबाटै कब्जा भएका थ्रिनट–थ्री राइफल, बाह्रबोर, पेस्तोल, टुटु म्याग्नम, भरुवा बन्दुक तयार थिए । माओवादी ग्रिनेडका नामले चर्चित सकेट ग्रिनेट, आगो लगाउने फायर ग्रिनेड तथा उज्यालो बनाउने टिएमजी र पोर्टेबल माइनहरू आवश्यक मात्रामा हामीसँग थिए ।

सुरु भयो जनसेनाको मार्च

जनसेनाले १९ चैत २०५७ को राति रुकुमकोट प्रहरी बेसक्याम्प आक्रमण गर्नुथियो । २, ९ र १० नं. प्लाटुन रहेको ग्रुपले चुनबाङबाट १७ गते मार्च सुरु गर्‍यो । त्यो ग्रुपले सानीभेरी नदी पारी डालिबाङमा अन्तिम सेल्टर लियो । सानीभेरी नदीको बालुवामा रहेको पुलबाट उडिनढुङ्गा हुँदै आर्क लिने गु्रपको योजना थियो । अरु हामी सबैले १८ गते दिउँसो चुनबाङबाट मार्च सुरु गर्‍यौं । कोचिबाङमा अन्तिम सेल्टर लियौँ । चैत १९ गते दिनभर त्यहीं बस्यौं । कतिपय कमाण्डरले बेसक्याम्प नजिकको डाँडासम्म पुगेर भूगोलको थप सर्वेक्षण गरे ।

हामी नयाँ उत्साह, बलिदानी भावका साथ अन्तिम मार्चमा निस्कियौँ । मौसम बिग्रँदो थियो । हिँड्ने बेला सिमसिम परिरहेको पानी झरीमा परिणत भयो । रुझ्दै आधा बाटो पुग्दा झरी रोकियो ।

मेरो ग्रुपको आर्क क्याम्पको ठीक पूर्वी भागमा थियो । कोचिबाङबाट रूपाबाङ–पेदी–देउराली ओडार हुँदै आफ्नो आर्कमा पुग्यौँ । मेरो दायाँ ३ नं. र बायाँ ७ नं. प्लाटुनको आर्क थियो । दक्षिणतर्फ १ नं. प्लाटुन थियो । त्यसै अनुसार चारवटा प्लाटुन एउटै रुटबाट निस्कियौँ ।

कारबाहीको मुख्य कमाण्डर क. पासाङको कमाण्ड ग्रुप र दक्षिण पश्चिम मोहडामा जाने प्लाटुनहरू कुचिबाङबाट ह्याप्ला–चोटाबारी–रुमालबारा हुँदै आफ्नो ‘प्वाइन्ट’ र आर्कमा पुगे । लडाइँको पर्यवेक्षण तथा रिपोर्टिङका लागि आएको गोविन्द आचार्य नेतृत्वको पत्रकार टिम पनि त्यही रुट हुँदै रुमालबाराको डाँडामा पुग्यो । स्यार्पु नजिकको विद्युतगृहको स्वीच अफ गराउने टिम पनि तोकिएको ठाउँमा पुग्यो ।

क्षेत्रीय व्यूरोको निर्देशनमा जिल्ला पार्टीले व्यवस्थापन, रुट गाइड, फिल्ड सपोर्ट र सन्नीदहमा रहेको इलाका प्रशासन कार्यालय कब्जा गरी खाद्यान्न वितरण गर्न ठूलो जनपरिचालन गरेको थियो ।

रातको ११ बजे खुल्यो फायर

प्रहरी बेसक्याम्प हाम्रो पूर्ण घेरामा परिसकेको थियो । हामी दिइएको आर्कमा पुगी ‘ओपनिङ फायर’को पर्खाइमा ‘एमिङ्ग’ लिइ ठिक्क थियौँ । प्रहरी बेसक्याम्पका कुकुरले हामीले घेरेको थाहा पाए र एक तमासले भुक्न थाले । रातको ११ बज्यो । त्यो पहिलो फायर खोल्ने समय थियो । झ्याप्प बिजुली निभ्यो । योजनाअनुसार ‘ओपनिङ फायर’ खुल्यो । दोहोरो फाइरिङ्ग र घमासान लडाइँ सुरु भयो ।

रुकुमकोट वारिपारि मशाल जुलुश र गाजाबाजासहित नारा घन्किन थाले । यसले जनसेनालाई थप हौसला मिल्दै थियो भने प्रहरीको मनोबल गिराउँदै थियो । रोल्पा थबाङमा रहेको प्रहरी बेस क्याम्पमाथि जनसेनाका स्क्वाडहरूको नेतृत्वमा ‘फल्स एट्याक’ सुरु भयो । सदरमुकाम मुसिकोटमा विस्फोट, फायरिङ्ग र मसाल जुलुश सुरु भए । यी बाह्य आक्रमण मुख्य आक्रमणस्थल रुकुमकोटको सपोर्टका लागि थिए ।

मेरै अघि ढले चार कमरेड

जनसेना फाइरिङसहित बंकर बंकरमा पुगे । मेरो प्लाटुन पनि तोकिएको बंकर कन्ट्रोल गर्दै पुग्यो । योजना निर्माणकै क्रममा मेरो साइडमा रहेको एक बंकर नजिक अर्को बंकर रहे नरहेको बारेमा मतभेद भएको थियो । ‘नाइट सर्वे’मा त्यो साइड म आफैं गएकाले त्यहाँ थप एक बंकर छ है भन्ने मेरो तर्क मानिएको थिएन । योजना बनाउँदा त्यस बंकरबारे तयारी नै गरिएको थिएन ।

मैले थप बंकर छ भनेकोमा त्यहाँ ३ नं. प्लाटुन पुगेको देखिएन । उनीहरू छुट्टै बंकरमा लड्दै थिए । यो अवस्था देखिएपछि म ग्रुप लिइ त्यो बंकरमा लड्न गएँ । कमाण्ड ग्रुपमा मसँग ३ जनामात्रै थियौँ । मसँगैको क. विश्वलाई गोली लाग्यो । आइया पनि भन्न नपाई त्यहीँ ढल्नुभयो । मसँगै रहनुभएका कमरेड सुवासलाई विश्वको शवलाई पछि लैजान भने । मेरो साथमा पेस्तोलमात्र थियो । विश्वको राइफल टिपेर म एक्लै यो बंकरमा लड्न लागेँ ।

मेरो प्लाटुनको सबै टिम अर्को बंकरतिर लडिरहेको थियो । भुइँभरी बक्स कटिङ्ग काँडेतार बिच्छ्याएको कारण वरपर गर्न गाह्रो थियो । निकै समय त्यहाँ म एक्लै लडेँ । बंकर कब्जा भन्दा पनि कन्ट्रोलको लागि लडेँ । गोलीको पर्रा छुटिरहेको थियो । कानको दायाँ बायाँबाट गोली सरसराई रहेको थियो । माथिबाट प्रहरीले ढुंगा लडाइदिइरहेका थिए ।

त्यहाँ मैले बुझेँ कि प्रहरीले यही क्षेत्रबाट घेरा तोड्न र बाहिर निस्कन खोजिरहेको छ । मैले प्रहरीको घेरा तोड्ने योजना असफल पार्ने कोसिस गरिरहेँ । पछि सपोर्टमा ३ नं. प्लाटुनको टिम आयो । त्यसमध्येका क. राजन ग्रिनेड फाल्न उभिनुभएको मात्र के थियो, उहाँलाई पनि गोली लाग्यो र मेरै माथि ढल्न आइपुग्नुभयो । उहाँलाई पछाडि सप्लाइ गर्न पठाएँ ।

भिरालो भूगोल अनि व्यवस्थित बंकरहरू भएकाले हाम्रो प्रहार प्रभावकारी बनिरहेको थिएन । लडाइँ झन् भीषण भयो । सपोर्टमा अझै कमरेडहरू थपिनु भयो । घेरा तोड्नबाट फायरद्वारा रोक्ने र ग्रिनेड प्रहार गरी पहल लिनुबाहेक हामीसँग विकल्प थिएन । बंकरमा सक्दो ग्रिनेड छिरायौँ । ग्रिनेड प्रहारकै क्रममा क. गौरव पनि ढल्नुभयो । गौरवको शव पछि पठाउँदै कमरेड राजेन्द्र आफ्नो ग्रुप अगाडि बढाउँदै हुनुहुन्थ्यो । मैले हेर्दाहेर्दै उहाँलाई पनि गोली लाग्यो । एकछिन ठिङ्ग अडिनुभयो र मेरै माथि ढल्न आइपुग्नुभयो । एकपछि अर्को कमरेडहरू शहीद भइरहनुभएको थियो । राजेन्द्रको शव पनि पछाडि पठाउन लगाएँ ।

घेरा तोड्ने प्रयास

ऋाफ्नो कमाण्डर तथा सहयोद्धा ढालिदिएको झोँकमा होला क. बसन्त चौधरी ठाडठाडै फायर गर्दै अगाडि जानुभयो । बसन्तलाई बंकर भित्र टिएमजी (उज्यालो पार्न जलिरहने) फाल्न भनें । टिएमजी जल्न लागेपछि प्रहरीहरू आत्तिएको मौका छोपेर एक्कै चोटी हामीले बंकरमा अफेन्स गर्‍यौं ।

रूकुमकोटको वस्ती र कमल दह

योजनामा कमजोर पर्न गएको बंकर क्षेत्रमा नै किन त्यत्ति भीषण भिडन्त भयो भन्ने मलाई लाग्दै थियो । प्रहरीले जनसेनालाई आक्रमण गर्नै नदिने, आक्रमणमा आए परास्त गर्ने, त्यो पनि नभए उत्तरपूर्वी मोहडाको त्यही क्षेत्रबाट घेरा तोड्ने योजना बनाएको रहेछ । बंकर र टनेलको ढिक भरी ढुंगैढुंगा रहेछ, त्यो ढुंगा हाम्रा माथि पल्टाउँदा गोली छल्नुभन्दा गाह्रो भयो । योजनागत रूपमा हाम्रो कमजोरी र प्रहरीले त्यही क्षेत्रबाट घेरा तोड्न अन्तिम कोसिस गर्दा मेरो क्षेत्रमा ठूलो भिडन्त भएको रहेछ । फिल्डमा आइपरेको समस्यालाई फिल्डबाटै हल त गरियो तर, हामीले ठूलो क्षति व्यहोर्‍यौं।

अब हामी बंकर र टनेलहरू कब्जा गर्दै गयौं । बंकरसँगै अन्डरग्राउण्ड घरका छेउमा ओढार जस्तो बनाएर त्यहाँ गाउँगाउँबाट ल्याइएका कुखुरा र खसी बोका प्रहरीहरुले हुलेका थिए । मध्यरातमा बेसक्याम्प पूर्ण कब्जामा आयो ।

प्रहरीको उपचार 

प्रहरीको त्यो बेसक्याम्प सबैभन्दा सबल, बलियो, सैन्य मोर्चाको भरपुर प्रयोगका आधारमा बनाएको फोर्टिफिकेसन थियो । नेतृत्वका हिसाबले पनि सबैभन्दा सक्षम रहेको देखियो । लामो समय ठाउँठाउँमा माओवादीसँग लडेको फोर्स भएर होला, उनीहरू अन्तिमसम्म लडे । घेरा तोड्न नपाएर पनि त्यो लडाइँ यति भीषण भएको हुनुपर्छ । कब्जा गर्दैगर्दा बाँचेका प्रहरीले पनि मुस्किलले आत्मसमर्पण गरे ।

जनसेनाका स्वास्थ्यकर्मी भिडन्त स्थलमै पुगेर हताहतीको स्थिति चेकजाँच गरिरहेका थिए । लक्षण हेरी मृत्यु भएकाको आधिकारिक घोषणा, घाइतेको तत्काल फिल्डमै प्राथमिक उपचार गरिरहेका थिए । स्वास्थ्यकर्मीको कमाण्ड चक्रबहादुर बोहरा ‘सेवासिंह’, कृष्ण रेग्मी ‘विवश’, फर्कबहादुर बुढा ‘उज्ज्वल’ लगायतको थियो । स्वास्थ्यकर्मीहरूले आफ्नो वा दुश्मन नभनेर सबै घाइतेहरुको सक्दो उपचार गरे ।

विजयको गगनभेदी नारा

प्रहरी बेसक्याम्प कब्जापछि सर्च र अब्जर्वेशन गरियो । प्रहरीको हातहतियार तथा युद्ध सामग्री खोजतलास र केन्द्रीकरण गरी प्लाटुनहरूलाई जिम्मा दिइयो । क्याम्पमा रहेका जरुरी सबै सामग्री उठाउने गरी स्वयंसेवकको रूपमा आएका स्क्वाड तथा जनमिलिसियालाई जिम्मा दिइयो । युद्धस्थलमै पुगेका माओवादी निकट पत्रकारहरूलाई सबै अवस्थितिको अवलोकन गर्न लगाइयो । अरु बेला असाध्यै जिज्ञासु देखिने पत्रकारहरू सिथिल र मौन जस्तो देखिन्थे ।

सई/असईसहित २२ जना प्रहरीहरू सकुशल कब्जा भएका थिए । घाइते प्रहरीलाई उपचारपछि त्यहीँ छाडी कब्जामा आएका प्रहरीहरू लैजाने जिम्मा केही प्लाटुनहरूलाई दिइयो । जिल्ला पार्टीको कमाण्डमा जनतासहित सन्नीदह (कमल दह छेउ)मा रहेको इलाका प्रशासन कब्जा गरी त्यहाँको खाद्य गोदामबाट खाद्यवस्तुहरू वितरण गरे ।

जनसेनाका घाइते योद्धाहरूलाई जिल्ला पार्टीको नेतृत्वमा रहेको स्क्वाड र जनमिलिसियाको सहयोगमा स्वास्थ्यकर्मीसहित गन्तव्यतिर पठाइयो । शहीद हुनुभएका जनसेनाका शवहरू जनसेनाका प्लाटुनहरूले आफैं उठाए । कब्जा भएको क्याम्पबाट हिँड्नु अघि स्क्वायड, मिलिसिया, स्वयंसेवक जनतासहित जनसेनाले एकपटक गगनभेदी नारा लगाए –‘महान् जनयुद्ध– जिन्दावाद !’, ‘महान् शहीदहरू –लाल सलाम !!’, ‘नेकपा (माओवादी)– जिन्दावाद !!!’

दुवैतर्फ ठूलो मानवीय क्षति

रुकुमकोट बेसक्याम्प आक्रमणमा जनसेनाका आठजना कमाण्डर तथा सदस्यको मृत्यु भयो । ३ नं. प्लाटुनका सहकमाण्डर हरीबहादुर ध्यार ‘राजेन्द्र’, (जाजरकोट), सदस्यहरू अमरबहादुर ध्यार ‘राजन’ (जाजरकोट), पृथ्वीबहादुर थापा ‘गौरव’ (जाजरकोट), भुपेन्द्र गिरी ‘सर्वजित’ (सल्यान), २ नं. प्लाटुनका सदस्यहरू शेरबहादुर केसी ‘राइफल’ (रुकुम), रेशम घर्ती ‘मिलन’ (रुकुम), ६ नं. प्लाटुनका सदस्यहरू तिर्थ छन्त्याल ‘विश्व’ (म्याग्दी) र ७ नं. प्लाटुनका सदस्य मन बहादुर दसौंदी ‘अमित’ (प्यूठान)को निधन भयो । दर्जन बढी जनसेनाहरू घाइते हुनुभयो ।

रुकुमकोट आक्रमणमा मृत्यु भएकाहरुको नामावलीसहितको स्तम्भ । तस्वीर : डा. बाबुराम भट्टराईको ट्वीटर ।

प्रहरीतर्फ कमाण्डर इन्सपेक्टर जीवनकुमार खड्कासहित ३२ जनाको मृत्यु भयो । १९ जना घाइते थिए ।

जनयुद्ध सुरु भएपछि ५/६ वर्षको लडाइँमा एकैपटक यति ठूलो क्षति जनसेनाले व्यहोरेको थिएन । प्रहरीले पनि व्यहोरेको थिएन । युद्ध फिल्ड भित्र हेर्दा एकखालको मानसिक उद्वेलन पैदा भयो । अघि भर्खरसम्म कसरी कुन तरिकाले जित्ने र जित्नका लागि ज्यानको प्रवाह नगरी लडिएको लडाइँ यति भयानक अवस्था होला भन्ने हामी लड्ने लडाउनेहरूको सोँच र आंकलनमा थिएन । यस भिडन्तले धेरै दिनसम्म मन बेचैन भइरह्यो ।

सहयोद्धाको अन्तिम घर

लडाइँ सकियो । हामी प्लाटुन सहकमाण्डर राजेन्द्रसहित युद्धमा मृत्युभएका जनसेनाका शव बोकेर रुमालबाराको बाटो मौन र शान्तपूर्वक उकालो लाग्यौं । हाम्रा कमरेडहरूले बाटोमा शव बोक्दा पनि आफ्ना कमरेडलाई दुख्लाझैं गरेर जतनका साथ बोके । कोहीसँग कोही बोलीरहेका थिएनन् । कमरेडसँग भौतिक रूपमा छुट्टिदाका पीडाले होला । गर्‍याप गर्‍यापको हिँडाइका आवाज अनि मधुर सुस्केरा बाहेक केही सुनिँदैन थियो ।

निकैबेरको उकालो हिँडाइ पछि घंगारचौर पुग्यौँ । मृत जनसेनाहरूको अन्त्येष्टिमा जुट्यौं । पखेरोमा जनसेनाहरू गैंती बेल्चा चलाउन लागे, खाल्डो खन्दै गए– चुपचाप चुपचाप । कमरेडलाई घोच्ला कि, केही बिझाउला कि भन्ने सोच्दै सकेसम्म खाल्डो राम्रो गराउने प्रयत्न गरेर खाल्डो सोहोरे, सम्याए । पार्थिव शरीरलाई बिझाउन न त कसरी बिझाउनु ! तर, पनि जनसेनाहरू आफ्नो मृत कमाण्डर र सहयोद्धाका लाशहरूलाई बिझाउला की भनेर बिघ्न मिहिनेतले खाल्डो तयार पारे । कम्बल मिलाएर ओछ्यान बनाइदिए । सायद सम्झिए होलान्– कमरेडको अन्तिम घर यही त होला !

सहकर्मीको अन्तिम संस्कारमा माओवादी नेता–कार्यकर्ताहरु ।

मृत जनसेनाका लाशहरू लस्करै राखेर जनसेनाहरूले १ मिनेट मौनधारण गरे । कमिश्नर, कमाण्डरले पार्टीको झण्डा ओढाइदिए अनि मृत जनसेनाहरूलाई महान शहीद घोषणा गरे । उनीहरूका गला अवरुद्ध बने । त्यति निडर जनसेनाहरूले बलिन्द्रधारा आँसु बगाए । ८ जना महान् शहीहदहरूको त्यो अन्तिम रोलकल साबित भयो । चिहान माथि एक एकथान पार्टीको झण्डा गाडे । अन्तिम बिदाइको मुठ्ठी कस्दै जनसेनाहरू त्यहाँबाट भारी मन र गाह्रो पाइला चाल्दै गन्तव्यतिर लागे ।

हामीले रुकुमकोटमा विजयको झण्डा फहराएर फर्कियौँ । तर, पनि आफ्ना सहयोद्धा र कमाण्डरहरूलाई भौतिक रूपमा गुमाउँदा हारे जस्तो पनि लाग्ने । तर, हामी लडाइँ जित्यौँ । बलिदानी पनि विजय थियो, त्यसबेला । जनवाद वा गणतन्त्रका खातिर, अन्याय, उत्पीडन, अत्याचारविरुद्ध आफू मरेर दुनियाँ हसाउने कुरा चानचुने थिएन । फेरी भन्छु, महान् शहीदहरू अमर रहुन् ।

लडाइँबाट पाएको नयाँ शिक्षा

लडाइँमा जित हुन्छ या हार हुन्छ । हामीले जनयुद्धको पाँच वर्षमा रुकुमकोटमा ठूलो विजय प्राप्त गर्‍यौं । लडाइँका कमजोरी पनि हुन्छन् । रुकुमकोटमा पनि भयो । रेकीको क्रममा फिल्डमा गएका कमाण्डरहरूको रिपोर्टलाई नस्विकार्नु र मनोगत बन्नु मुख्य समस्या रह्यो ।

प्रहरीसँंगको भिडन्तमा डोल्पा सदरमुकाम दुनै समेत कब्जा गरेको घमण्ड हामीमा भएर होला प्रहरीको योजना र युद्ध क्षमतालाई कम आँक्यौं । हामीले रुकुमकोट एकै झट्कामा कब्जाको योजना बनाएका थियौँ । तर, स्टेप स्टेपको लडाइँ लड्दै रातभर लड्नु पर्‍यो । यसलाई फिल्डको कमजोरीको रूपमा लिइयो । तर, यो समस्या योजनामै थियो ।

हामीले बिगतका लडाइँमा प्राय प्रहरीलाई बंकरबाट घरमा लखेट्ने र घरमा ‘पोर्टेबल’ माइन प्रयोग गरी जित निकाल्ने युद्धकला प्रयोग गर्ने गरेका थियौं। त्यसपटक प्रहरी बंकरबाट घरतिर होइन घरबाट बंकरतिर निस्कनु, भौगोलिक अवस्थितिका कारण अन्तिम भिडन्त स्थलमा ग्रिनेड पुर्‍याउन गाह्रो पर्नु र बाहिरको फायर प्रभावकारी नपर्नु नयाँ घटना बन्न गयो । प्रहरीले लो–टेक अथवा ढुंगाको सहारा लिँदा हामीलाई अति सकस पर्‍यो, जो हाम्रो आंकलन विपरीत थियो ।

सातौँ योजनाको उद्देश्य पूरा गरेको लडाइँ

रुकुमकोट प्रहरी बेसक्याम्प माथिको विजयले जनयुद्धको सातौं योजनाका उद्देश्यहरूमध्ये फौजी कारबाहीको उद्देश्य शानदार ढङ्गले सम्पन्न भयो । रणनीतिक रूपमा बनेको प्रहरी क्याम्पमाथि विजय हासिल भयो । क्याम्पमा भएको प्रहरीसँगका ६८ थान हतियारसहित सम्पूर्ण युद्ध सामग्रीहरू कब्जा भयो । त्यो भन्दा पनि महत्वपूर्ण कुरा इलाका खाली गर्ने पार्टीको मूल उद्देश्य पूरा भयो । हाम्रो आधार इलाका प्रहरी मुक्त भयो ।

माओवादी जनयुद्धको पहिलो पोष्टर

हरेक लडाइँ त्यो भन्दा ठूलो लडाइँका लागि तयारी वा पूर्वाभ्यास हुन्छन् । रुकुमकोटमा किल्लाबन्दी लडाइँ, खासगरी सेनाकै स्टाइलको फोर्टिफिकेसनको त्यो लडाइँ सेनासँगको लडाइँको पूर्वाभ्यास जस्तो बन्न गयो । ‘गर्दै सिक्ने’ मान्यताअनुसार त्यो लडाइँ सेनासँग लड्ने तालिम साबित भयो ।

त्यो लडाइँ बिगतको भन्दा गुणात्मक साबित भयो । योजना भन्दा भिन्दै, स्टेप स्टेपको लडाइँ, नयाँ स्टेपको लडाइँका लागि भरपुर अनुभव हासिल भयो । हातले ग्रिनेड पुर्‍याउन गाह्रो भएकाले राइफलमा डिस्चार्ज कप सेट गर्नुपर्ने महसुस यही लडाइँले गरायो र त्यसप्रकारको ग्रिनेटको आविस्कार गर्दै त्यसपछिको अन्य ठूला मोर्चाहरूमा प्रभावकारी प्रयोग पनि भयो ।

(लेखक तत्कालीन जनमुक्ति सेनाको डिभिजन कमाण्डर हुन् । उनी रुकुमकोट प्रहरी बेसक्याम्प आक्रमणको क्रममा जनसेनाको ६ नं. प्लाटुन कमाण्डरको जिम्मेवारीमा थिए ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?