+
+

काठमाडौं महानगरले ६ महिनामा उठायो ४ अर्ब ५६ करोड राजस्व

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १५:२६

१ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष (आव) २०७९/८० को ६ महिनामा ४ अर्ब ५६ करोड ६ लाख २९ हजार ७१२ रुपैयाँ २४ पैसा राजस्व संकलन गरेको छ । महानगरले चालु आवमा १० अर्ब ४ करोड १९ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

महानगरले बजेट मार्फत सम्पत्ति करमा यस वर्ष १ अर्ब रुपैयाँ प्रस्ताव गरिएको थियो । जसको ६५.२ प्रतिशत अर्थात् ६५ करोड २० लाख १० हजार ८ सय रुपैयाँ संकलन भएको राजस्व विभागले जनाएको छ । २ अर्ब ५० करोड रुपैयाँ प्रस्ताव गरिएको घर जग्गा रजिष्ट्रेसन दस्तुरको १५.५१ प्रतिशत अर्थात ३८ करोड ७८ लाख ७० हजार ८ सय रुपैयाँ संकलन भएको छ । २ अर्ब प्रस्ताव गरिएको बहाल करतर्फ १ अर्व १८ करोड १५ लाख ५१ हजार ४ सय रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको ५९.०८ प्रतिशत हो ।

संघीय सरकारले हस्तक्षेप गर्दा कम उठ्यो

काठमाडौं महानगरपालिकाका राजस्व विभागका प्रमुख ध्रुब काफ्लेका अनुसार
संविधानको अनुसूची ८ मा भएको व्यवस्था बमोजिम बहाल कर स्थानीय तहको एकल अधिकारभित्र पर्छ ।

तर, संघीय सरकारले संस्थागत बहाल कर आफ्नो क्षेत्राधिकारभित्र रहेको भन्दै आफैं संकलन गरेको छ । यसबाट करदातालाई पालिका र संघीय सरकारलाई दोहोरो कर बुझाउनु पर्ने परिस्थिति सिर्जना भएको उनले बताए ।

‘यसले एकातिर महानगरको अधिकार क्षेत्र मिचिएको छ भने अर्कोतिर लक्षित आय पूरा गर्न चुनौती भएको छ’ काफ्लेले भने ।

नक्सा पास दस्तुरमा ७५ करोड प्रस्ताव गरिएकोमा ४१ करोड ५७ लाख ८६ हजार ७४४ रुपैयाँ प्राप्त भएको छ । यो लक्ष्यको ५५.३ प्रतिशत प्रगति हो । ५५ करोड प्रस्ताव गरिएको व्यवसाय रजिष्ट्रेसन दस्तुरमा ३१ करोड ४२ लाख ९ हजार रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको ५७.१३ प्रतिशत हो ।

३६ करोड ५२ लाख ५४ हजार रुपैयाँ प्रस्ताव गरिएको बाँडफाँटतर्फ मूल्य अभिवृद्धि करबाट ८ करोड ९२ लाख ७३ हजार ७ सय (२४.४४ प्रतिशत) प्राप्त भएको छ । बाँडफाँटमै सवारी साधन करतर्फ ४६ करोड ३४ लाख ९९ हजार रुपैयाँ प्रस्ताव गरिएकोमा १२ करोड ९ लाख ८७ हजार ८ सय रुपैयाँ (२६.१ प्रतिशत), मनोरञ्जन करतर्फ ५० लाख रुपैयाँ प्रस्ताव गरिएकोमा ९० लाख ८२ हजार रुपैयाँ (१८१.६५ प्रतिशत) र बिज्ञापन करतर्फ ८० करोड रुपैयाँ प्रस्ताव गरिएकोमा १ करोड २३ लाख ६१ हजार ९७३ रुपैयाँ (१५.४५ प्रतिशत) आय रकम प्राप्त भएको छ ।

साना सवारी कर शून्य

महानगरको राजश्व विभागका अनुसार चालु आवको साना सवारी कर अहिलेसम्म उठ्न सकेको छैन ।

साना सवारी करतर्फ ५ लाख रुपैयाँ प्रस्ताव गरिएकोमा यस शीर्षकमा आय हुन सकेको छैन अर्थात आय शून्य छ । यस्तै बाँडफाँटबाट प्राप्त हुने अन्तःशुल्क तर्फ पनि आय प्राप्त भएको छैन ।

वित्तीय निकायबाट प्राप्त हुने ब्याजबाट १ लाख रुपैयाँ र अन्य निकायबाट प्राप्त लाभांशमा ५ लाख रुपैयाँ आय प्रस्ताव गरिएको थियो । यी दुवै शीर्षकमा आय प्राप्त भएको नभएको महानगरले जनाएको छ । महानगरका अनुसार २ करोड ४१ लाख रुपैयाँ प्रस्ताव गरिएको पूँजीगत सशर्त अनुदान शीर्षकमा पनि आय भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?