+
+

मधेशमा लागुऔषधले बढ्दै जघन्य अपराध

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ फागुन २ गते २०:१०

२ फागुन, जनकपुरधाम । गत बुधबार अपराह्न ४ बजे महोत्तरीको जलेश्वर नगरपालिका–५ पर्सा गाउँका हरिदेव राउतको पर्सा प्रहरीचौकी नजिकै हत्या भयो । लागुऔषध सेवन गरेका स्थानीय सुरेन्द्र राउतले कुटपिट गर्दा उनको घटनास्थलमै मृत्यु भयो ।

७५ वर्षीय राउत पर्साचोकमा धानचामल खरिद–बिक्री गर्थे । प्रत्यक्षदर्शीहरुका अनुसार, लागुऔषधले लट्ठ भएर गालीगलौज गर्दै आएका सुरेन्द्रले जथाभावी कुटपिट गर्दा हरिदेवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तोष पोखरेलले बताए । घटना लगतै पक्राउ गरेर अनुसन्धान थालेको जानकारी दिंदै उनले भने, ‘सुरेन्द्रले मदिराका साथै लागुऔषध सेवन गर्नेगरेको स्थानीयबाट थाहा पायौं ।’

*****

११ पुसको अपराह्न ५ बजे धनुषाको विदेह नगरपालिका–७, बेलापट्टीका श्रीराम साहकी श्रीमती कवितादेवी आफ्नै कोठामा मृत फेला परिन् । उनलाई १४ महिने छोरा कार्तिकसँगै करेन्ट लागेको खबर पाएर घटनास्थल पुगेका प्रहरीले ३० वर्षीया कविता देवीको अनुहारमा घरेलु हतियारले काटेको र यौनांगमा काठ छिराएको अवस्थामा शव भेटे । धनुषाका एसपी विश्वराज खड्काका अनुसार उनलाई यातना दिएर मारिएको स्पष्टै थियो ।

अनुसन्धानका क्रममा मृतक कविताकी जेठाजुका छोरा २० वर्षीय दिलिप साहको संलग्नता पाइएको बताउँदै उनी भन्छन्, ‘दिलिप जाँड रक्सी र लागुऔषधको अम्मली रहेको खुलेको छ ।’ घटनापछि दिलीपलाई प्रहरीले पक्राउ गरेको थियो ।

*****

१० पुसमा जनकपुरको जानकी हेल्थकेयरमा महोत्तरीकै सम्सी गाउँपालिका–२, पर्सादेवाडका ४० वर्षीय मोहम्मद खुर्सैद अन्सारीको मृत्यु भयो । मृत्युको कारण थियो– यातना । छिमेकी ३५ वर्षीय अब्दुल सलाम शेषको घरमा मासिक तलबमा काम गर्न पुस ६ गते बिहान ६ बजे गएका उनी त्यही दिन अपराह्न ३ बजे बेहोस अवस्थामा भेटिएका थिए । शेषको घर बाहिर अर्धनग्न अवस्थामा भेटिएका उनलाई आफन्तहरुले जानकी हेल्थकेयरमा पुर्याएका थिए ।

पक्राउ परेका शेषले अन्सारीलाई कोठामा यातना दिएको स्वीकारेका थिए । महोत्तरी प्रहरीका अनुसार, उनलाई शेषसहित चारजनाले यातना दिएका थिए । चारैजना लागुऔषधले धुत् थिए । उनीहरुले चरम यातना दिएको भिडिओ पनि बनाएका थिए ।

*****

उल्लिखित तीनवटा जघन्य अपराधका घटना पछाडि लागुऔषध मूल कारण देखिन्छ । पछिल्लो समय तराई–मधेशमा लागुऔषध प्रयोगकर्ताको संख्यासँगै सडक दुर्घटना, चोरी, लुटपाट, घरेलु हिंसा, बलात्कार, अपहरण जस्ता घटना बढ्दो छ ।

परिवारको कोही सदस्य दुर्व्यसनीमा पर्दा अवर्णनीय तनाव झेल्न परिरहेको अनुभव सुनाउँछन् महोत्तरीको भंगाहा नगरपालिका–९, बगेबाका कमलेश ठाकुर । ‘परिवारको एकजना कुलतमा लाग्दा समाजले अर्कै दृष्टिले हेर्छ । गाउँमा नराम्रो घटना भयो भने सबभन्दा पहिले दुर्व्यसनीकै परिवारमाथि शंका गरिन्छ’, उनी भन्छन्, ‘एकजनाले गर्दा परिवारका सबै तनावमा पर्छन्, परिवारै बिग्रने जाखिम हुन्छ ।’

नेपाल–भारत खुल्ला सीमाको कारण लागुऔषध कारोबार र सेवन गर्नेको संख्या बढेको देखिन्छ । सीमा पारीबाट लागुपदार्थ ल्याएर कारोबार र सेवन गर्ने/गराउने प्रवृत्तिसँगै मर्ने र मार्नेसम्मको घटना बढेको प्रहरी लगायत यस क्षेत्रका जानकारहरु बताउँछन् ।

गत माघ दोस्रो साता लागुऔषधकै कारण जनकपुरका दुई युवकले ज्यान गुमाएका थिए । जनकपुरधाम उपमहानगरपालिका–८ का २५ वर्षीय रोहित साह र वडा नम्बर–१३ का २२ वर्षीय विष्णु साहको ८ माघमा भारत, बिहारको पर्सा टोल नजिक चौरमा हत्या भएको अवस्थामा फेला परेका थिए । पुस अन्तिम साता सीतामढी जिल्लाको बेलापरिहार पुगेका उनीहरु २७ गते अपहरणमा परेका थिए ।

अपहरणकारीले ५० लाख नेपाली रुपैयाँ फिरौती मागेपछि परिवारले २० लाख दिने आश्वासन दिनुका साथै प्रहरीलाई खबर पनि गरेको थियो । अचानक अपहरणकारीले फोन स्वीच्डअफ गरे । त्यसको दुई दिनपछि रोहित र विष्णुको शव फेला परेको थियो ।

घटनाको अनुसन्धान गरेका प्रहरी अधिकृतहरुका अनुसार रोहित र विष्णु कहिलेकाँही लागुऔषध सेवन गर्थे । अपहरणमा संलग्न भएको आरोपमा भारतमा समातिएका अभियुक्तमध्ये एकजनाले रोहित र विष्णुलाई ड्रग्स खान बेलापरिहार बोलाइएको बयान दिएका छन् ।

लागुऔषध दुर्व्यसनको डरलाग्दो तथ्यांक

हिजोआज लागूऔषधसहित मान्छे पक्राउ नपर्ने कुनै दिन हुँदैन मधेश प्रदेशमा । मधेश प्रदेशमा दैनिक सरदर तीनजना लागूऔषध ओसारपसार, बिक्रीवितरण र सेवनमा पक्राउ परिरहेको गत साउन १ देखि माघ २४ गतेसम्मको तथ्यांकले देखाउँछ ।

मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार यो अवधिमा लागूऔषधसहित ६२५ जना समातिएका छन्, जसमध्ये ६०२ पुरुष र २३ जना महिला छन् । उनीहरुबाट बिभिन्न परिमाणमा गाँजा, ब्राउनसुगर, हिरोइन, चरेस, अफिम र प्रतिबन्धित औषधि (नशाजन्य औषधी) बरामद भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा सबभन्दा बढी पर्सा जिल्लाका १९२ जना छन् । सिरहाका १३३, बाराका ७६, महोत्तरीका ६३, सर्लाहीका ५८, धनुषाका ४८, सप्तरीका ३२ र रौतहटका २३ जना छन् । उनीहरुबाट ३ हजार १३२ किलो गाँजा, ७६ किलो ३९१ ग्राम चरेस, ८१ ग्राम ४८२ मिलिग्राम हिरोइन र १७ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर बरामद भएको एसपी श्रेष्ठले बताए । त्यस्तै, ९० हजार ६८८ बोतल नशाजन्य औषधी बरामद भएको तथ्यांक प्रदेश प्रहरीसँग छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्तबहादुर कुँवर डरलाग्दो गरी बढिरहेको लागुऔषध ओसारपसार, बेचबिखन र दुर्व्यसन नियन्त्रण गर्न सबै पक्ष गम्भीरतापूर्वक लाग्नुपर्ने बताउँछन् । ‘दुर्व्यसन नियन्त्रणमा प्रहरी सक्षम छ तर लागुऔषध ओसारपसार र बेचबिखन समेत रोक्न सम्बन्धित सबै पक्ष मिलेर नलागेसम्म सम्भव हुँदैन’, उनी भन्छन्, ‘यसका लागि सबै तहका सरकारदेखि संघ–संस्था र समाजसम्म लागेर अभियान नै चलाउनुपर्ने देखिन्छ ।’

मनोपरामर्शदाता बिना कडारी मुख्यतः युवा बेरोजगारी, अभिभावकको हेलचक्र्याइ, घरायसी विवाद, अपमानजनक व्यवहारले उत्पन्न हुने तनावका कारण मानिसहरु कुलतमा फस्ने गरेको बताउँछिन् । उनका अनुसार, गरिबी, घरायसी झगडा, खराब संगत, अनुशासनको नाममा विद्यालयमा गरिने हिंसा, सामाजिक अपमान, तिरस्कारलगायत कारण तनावमा पर्ने विषेशतः किशोर र युवा पुस्ता लागूऔषध दुर्व्यसनको जोखिममा छन् ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?