
२ फागुन, काठमाडौं । ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले स्पानिस जायन्ट बार्सिलोनाका पूर्वखेलाडी डिएवान्डु डियाग्ने नियाङलाई अनुबन्ध गरेको छ ।
सेनेगलको उमेर समूह र राष्ट्रिय टिमबाट समेत खेलिसका २८ वर्षीय डिफेन्डरलाई अनुबन्ध गरिएको मनाङ मर्स्याङ्दीले म्गलबार आफ्नो सामाजिक सञ्जालबाट जानकारी दिएको हो ।
कीर्तिमानी ८ पटकको लिग च्याम्पियन मनाङले बार्सिलोनाका पूर्वखेलाडीलाई भित्र्याएर लिग अघि माहोल बनाएको छ ।
डियाग्नेले बार्सिलोनाको बी टिमबाट खेलिसकेमा छन् ।
सन् २०१४ मा उनी बार्सिलोनाको सिनियर टिममा समेत समावेश भएका थिए तर कुनै पनि खेल भने खेल्न पाएनन् ।
बेल्जियमको युपेनबाट समेत खेलेका डियाग्नेले २०१९-२०२० मा इन्डियन सुपर लिग टिम ओडिसा एफसीबाट खेलेका थिए ।
डियाग्नेले सेनेगलको राष्ट्रिय टिमका लागि समेत दुई खेल खेलेका छन् ।
घरेलु फुटबलको नाम चलेका खेलाडीहरू क्लब छाड्दा मनाङ मर्स्याङ्दी कमजोर देखिएको छ । अहिले मनाङमा नाम चलेका खेलाडी खासै छैनन् ।
तर बार्सिलोनाका लागि खेलिसकेका खेलाडीको आगमनपछि घरेलु फुटबलमा मनाङले फेरि माहोल बनाउन खोजेको देखिन्छ ।
सहीद स्मारक ए डिभिजन लिग यही फागुन १९ गतेदेखि सुरु हुँदैछ । लिगमा १४ ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
यस सिजन लिग डबल राउण्ड रोविनको आधारमा सञ्चालन हुनेछ ।
मनाङले फागुन २० गते हिमालयन शेर्पा क्लबसँग खेल्दै लिग सुरुवात गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4