+
+

प्रथम शहीद लखन थापाको स्मृतिमा माइतीघरमा दीप प्रज्वलन

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ फागुन २ गते १९:३८

२ फागुन, काठमाडौं। प्रथम शहीद लखन थापा मगरको १४६औ स्मृति दिवसको अवसरमा माइतीघरमा दीप प्रज्वलन गरिएको छ ।

नेपाल मगर विद्यार्थी संघ, पाटन संयुक्त क्याम्पस र नेपाल मगर विद्यार्थी संघ, जिल्ला समिति ललितपुरको संयुक्त आयोजनामा मंगलबार साँझ लखन थापाको तस्वीर राखेर दीप प्रज्वलन गरिएको हो ।

को हुन् लखन थापा मगर ?

वि.सं. १८९१ मा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७, काहुले भङ्गार, बुंकोटमा जन्मिएका लखन थापा मगरको वास्तविक नाम लक्ष्मणसिंह थापा मगर हो । उनले राणा शासन विरुद्ध जनविद्रोह सञ्चालनका क्रममा मनकामना देवीको पहिलो पूजारी सिद्ध लखन थापाको प्रसिद्धिलाई उपयोग गरी विद्रोहमा ठूलो जनसमर्थन जुटाउने रणनीतिका साथ ‘लखन’ भन्ने नाम ग्रहण गरेका थिए ।

वि.सं. १९११ मा नेपाली सेनाको पुरानो गोरख गण (मगर पल्टन) मा भर्ना भएका लखन थापा मगर ई.सं. १८५७ को भारतीय स्वन्त्रता संग्राम (सिपाही विद्रोह) दबाउन भारतको लखनउ पुगेका थिए (प्रमोद शमशेर राणा, राणा शासनको वृतान्त, तेस्रो संस्करण वि.सं. २०७०, पृ. ८८) । त्यतिबेला जंगबहादुरको निर्णय बमोजिम भारतको सिपाही विद्रोह दवाउनलाई नेपालले सैन्य सहयोग गरेको थियो । उक्त सिपाही विद्रोह दबाउन नेपाली सेनाका २५ वटा पल्टन जंगबहादुरकै नेतृत्वमा भारत जाँदा लखन थापा पनि बाध्य भएर लखनउ गएका थिए ।

नेपाली सेनामा कार्यरत रहँदा उनी तत्कालीन युवराज त्रैलोक्य बिक्रम शाहका अंगरक्षक थिए (नेपालको सैनिक इतिहास, भाग २, वि.सं. २०६५, पृ. ३६४) । वि.सं. १९२५ मा नेपाली सेनाको कप्तान पदमा पुगेका लखन थापा मगरले वि.सं. १९२७ सालमा तीन महिनाको घरबिदा लेखाएर नेपाली सेनाको जागिर छाडे ।

सेनाको जागिर छाडेपछि उनले राणाशासन विरुद्ध जनसंगठन गरी पहिलो जनविद्रोहको नेतृत्व गरे (मुक्ता श्रेष्ठ, नवयुवा, वर्ष १, अंक १०, वि.सं. २०५३ माघ) । उनलाई जंगबहादुरको आदेशमा वि.सं. १९३३ मा हालको शहिद लखन गाउँपालिका, वडा नं. ७ काहुले भङ्गारमा निर्मित विद्रोही किल्ला परिसरभित्रको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइयो ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?