+
+

‘भान्सामा बत्ती बाल्ने बित्तिकै ठूलो आवाजसहित आगो लाग्यो’

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १५:२९

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी बुधबार बेलुकी कांग्रेस नेता सबुज बानियाँ छोराको बिहेमा गएका थिए । फर्किएर बुद्धनगरस्थित घरमा आउँदा सवा १० भइसकेको थियो ।

भुइँतलामा उनी आमासँग बस्दै आएका थिए । ‘आमाले ग्याँस गन्हाइरहेको छ भन्नुभएछ, त्यसपछि उहाँ आमासहित भान्सातिर जानुभएछ’, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख दानबहादुर कार्की भन्छन्, ‘भान्सामा अँध्यारो थियो, भित्र गएर बत्ती बाल्ने वित्तिकै आवाजसहित आगलागी भएको देखिएको छ ।’

प्रहरीका अनुसार भान्सामा ग्याँस सिलिण्डर जस्ताको तस्तै छ । तर, आगोका कारण नेता भण्डारीकी आमा हरिकलाको निधन भइसकेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कार्कीका अनुसार स्वीच अफ गर्दा आएको स्पार्कका कारण ठूलो आवाजसहित आगो लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

भण्डारीको घरमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि पुगेको थियो । टोलीले गरेको जाँचका क्रममा पनि ग्याँस विस्फोट नभई लिक भएर कोठामा फैलिएको ग्याँसमा एक्कासी स्वीच अन गर्दा ठूलो आवाजसहित आगलागी भएको हुनसक्ने देखिएको छ ।

कार्यालयका प्रमुख डा. मनोज केसी भन्छन्, ‘ठूलो आवाज आएपछि विस्फोट भएको हो कि भन्ने आशंका थियो । तर, स्पार्कका कारण आवाजसहित आगलागी भएको देखिएको छ ।’ यसमा विज्ञहरुको सहयोग लिएर थप जाँचबुझ गर्ने काम भइरहेको उनले अनलाइनखबरलाई बताए ।

आगलागीबाट आमा हरिकला जलेपछि छिमेक र घरमा बस्ने अरु आएर सिरकले छोपेर आगो निभाएका थिए । ‘त्यसैले आमाको मुखमा धेरै चोट देखिएको थिएन, भण्डारी सरको चाहिं मुख, कपाल र खुट्टामा छोएको देखिएको छ’, एसएसपी कार्की भन्छन्, ‘खाली खुट्टा भएकाले अलि प्रभाव परेको देखिन्छ ।’

घटनामा घरको भान्साको ढोका र झ्यालको सिसा फुटेको छ । भान्साको सानो स्टोरमा लगाइएको यूपीभीसीको छानो उडेको छ । आमा हरिकलाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको छ भने नेता भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजान कीर्तिपुर अस्पतालबाट निकालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?