+
+

रणेन्द्र बराली : जातीय विभेदको एक चड्कनले बनेका नेता 

पानीको करुवा छोएको भन्दै शिक्षकले गालामा थप्पड हाने। सात दशकअघिको त्यो घटना सम्झँदै बराली भन्छन्, ‘मैले त्यो प्रहार कहिल्यै बिर्सन सकिनँ । त्यसपछि जातीय उत्पीडनबाट मुक्तिका लागि संघर्ष गर्नुपर्छ र त्यो काम कम्युनिष्ट पार्टीको संगठनबाट सहज हुन्छ भन्ने लाग्यो ।’

रामकुमार डिसी रामकुमार डिसी
२०७९ फागुन ५ गते १२:३०

५ फागुन, काठमाडौं । जहानियाँ राणा शासकको निरंकुशतामा जकडिएको नेपाललाई २००७ सालको क्रान्तिले मुक्त पार्यो । त्यसपछि देशमा विद्यालय खुल्ने लहर चल्यो ।

तनहुँको रिसिङमा पनि भारत सरकारको ‘सोल्जर बोर्ड’ले आफ्ना पूर्व गोर्खा सैनिकका सन्तानका लागि विद्यालय खोल्यो । परिवारका कोही भारतीय सैनिक नभए पनि रणेन्द्र बरालीले त्यहाँ पढ्न पाए । तर, त्यो समय नै कस्तो भने उनले आफैं पानी खाएकोमा स्कुलमै थप्पड पाए, त्यो पनि शिक्षकबाटै ।

खासमा उनले वामपन्थतिर झुकाव राख्ने हेडमास्टर कान्तलालले छुवाछूत हटिसकेको भन्दै रणेन्द्रलाई करुवा झिकेर आफैं पानी खान हौस्याएका थिए ।

‘तर, व्यायाम शिक्षक आएर मेरो गालामा थप्पड हानेर करुवा बाहिर फाली दिनुभयो’ सात दशकअघिको त्यो घटना सम्झँदै बराली भन्छन्, ‘मैले त्यो प्रहार कहिल्यै बिर्सन सकिनँ । त्यसपछि हेडसरकहाँ गएर रोएँ । उहाँले समाज यस्तै छ, एक दिन बदलिन्छ भन्नुभयो ।’

२००८ साउन २ गते जन्मिएका उनी ६ कक्षामा पढ्थे । उनले चड्कनको बदला लिने बाल अठोट गरे । त्यो घटना भएको एक वर्षपछि २०२२ सालमा उनी चितवनको शारदानगर झरेर कक्षा ८ मा भर्ना भए ।

अनि सुरु भयो जातीय मुक्तिको संघर्ष

रणेन्द्र बराली पढाइमा तेज थिए । उनी भेदभाव वा असमानताका विषयमा विद्यालयमा हुने बहसमा उत्साहपूर्वक भाग लिन्थे । जातीय उत्पीडनबाट मुक्तिका लागि संघर्ष गर्नुपर्छ र त्यो काम कम्युनिष्ट पार्टीको संगठनबाट सहज हुन्छ भन्ने उनलाई लागेको थियो ।

त्यस्तो किन लागेको थियो भने त्यसबेला रूपलाल, प्रेमकुमार र गोदामसिंह विश्वकर्मा लगायत नेताहरू चितवनमै कम्युनिष्ट संगठन चलाइरहेका थिए । २०२४ सालमा त ती नेताहरूसँग रणेन्द्रको प्रत्यक्ष भेटघाट नै भयो । त्यसपछि संगत पनि बाक्लियो ।

‘त्यो बेला म बसेको गुन्जनगरमा उहाँहरू नै आउँदा भेटघाट भयो’ उनी सम्झिन्छन्, ‘चिनजान र छलफलपछि उत्पीडन विरुद्ध जातीय मुक्ति आन्दोलनमा लाग्नुपर्छ भन्ने बुझाइ अझ गहिरिएर संगठित नै भएँ ।’

त्यसबेला उनी नेपाल राष्ट्रिय दलित जनविकास परिषदको चितवन जिल्ला सचिव भएका थिए । नेपाल कम्युनिष्ट पार्टीको सदस्यता भने २०२६ सालमा रूपलाल विश्वकर्माबाट लिए ।

२०२८ सालमा चितवन झरेका पुष्पकमल दाहालसँग आफ्ना नेता रूपलालको परिचय बरालीले नै गराएका थिए । कालान्तरमा ‘प्रचण्ड’ बनेका दाहाललाई कम्युनिष्ट पार्टीको सदस्य बनाउन आफूले सहयोग गरेको उनी सम्झन्छन् ।

‘प्रचण्डजी उत्पीडन विरोधी हुनुहुन्थ्यो, सुकुम्बासी, हली–गोठालाप्रति बढी चासो राख्नुहुन्थ्यो’ त्यो बेलाका दाहालबारे उनी भन्छन्, ‘त्यो कारण पनि हाम्रो हृदय मिल्यो, बहुत नजिक भइयो ।’

प्रचण्ड रामपुर कृषि क्याम्पसमा बीएस्सीमा भर्ना भए । बरालीहरूले विद्यालय, डेरी लगायत सार्वजनिक स्थलहरूमा आयोजना हुने भोजमा पस्ने आन्दोलन चलाए । दाइजो लिएर बिहे गर्नेलाई गाउँ निकाला गर्ने चेतावनी दिए ।

पञ्चायतका जासुस र प्रहरी रात दिन पछि लाग्न थालेपछि शारदा माविमा कक्षा १० मा पुगेका बराली भारतको दरभंगा गए । नेपालमा असुरक्षा महसुस गरेका थुप्रै कम्युनिष्ट नेता दरभंगामा थिए ।

१२ वर्षकै उमेरमा परम्परागत बिहे र सन्तान समेत भएको परिवार छाडेर प्रवासतिर लागेका उनले २०३२ सालमा दरभंगामै एसएलसी सरहको परीक्षा पास गरे । त्यसपछि नेपाल फर्किएर आफ्नो संगठन, पार्टी र अभियानमा जोडिएका उनी २०७८ देखि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य र नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको संरक्षक छन् ।

पहिलो संसदीय यात्रा

लामो समय दलित आन्दोलनमा रहेका रणेन्द्र बरालीलाई यसपटक माओवादी केन्द्रले समानुपातिकतर्फबाट संघीय संसदमा ल्याएको छ । संसदमा आफ्नो प्रतिनिधित्वले पार्टी र विभिन्न संघ–संस्थाका पनि साथीहरू खुसी भएको भन्दै उनले भने, ‘बल्ल तपाईंलाई पार्टीले न्याय गर्यो भनिरहनुभएको छ ।’

माओवादी केन्द्र सरकारको पनि नेतृत्वमा छ । पहिलो पटक राज्यको सेवा–सुविधा पाउने पदमा पुगेका बराली मन्त्री बन्ने आकांक्षा भने नराखेको बताउँछन् ।

‘अबको पाँच वर्ष संविधानमा सुनिश्चित दलितका विषय कार्यान्वयन र अन्य विषयमा कानुन बनाउन पहल गर्ने हो’ उनी भन्छन्, ‘संविधानमा नपरेका आवश्यक विषय थुप्रै छन् । ती विषयमा कानुन बनाउन पहल गर्छु ।’

साहित्यिक व्यक्तित्व

बरालीका करिब एकदर्जन प्रगतिशील साहित्यिक कृति प्रकाशित छन् । त्यसमध्ये नेपालमा अछूत जातीय संघर्षको इतिहास (केही योद्धाको परिचय) २०३८, आफ्नै व्यथा (नाटक) २०५६, सर्वजित विश्वकर्मा (जीवनी) २०६३, इतिहासको एक पैका (उपन्यास) २०६५, दलितको दैलो (कथा सङ्ग्रह) २०६८, दलितलाई हेर्ने दृष्टिमा फूल र काँडा (निबन्ध) २०७४, संघर्षशील युग पुरुष सर्वजित विश्वकर्मा (जीवनी) २०७५, रातो बारुद (कविता संग्रह) २०७७ र नेपाली दलित साहित्यको इतिहास (अनुसन्धान पत्र) २०७७ प्रमुख हुन् ।

उत्पीडन विरुद्धको आन्दोलनको क्रममा आफैंले नाटक लेखेर धेरै ठाउँमा मञ्चन गरेको, नाटक हेरेर धेरै मानिस आन्दोलनमा आएको सुखद सम्झनाहरू पनि बरालीसँग छन् ।

राजनीतिक, सामाजिक र साहित्यिक आन्दोलनमा आफूले उठाएको सुधारको विषयलाई व्यवहारमा लागू गरेको उनी बताउँछन् । ‘सिद्धान्तलाई व्यवहारमा उतार्ने कोसिस गरेको छु’ उनी भन्छन्, ‘बुवा बित्दा तीन दिनमै सबै काम सकें । समाजमा त्यसको सिको पनि भयो ।’

फोटो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?