+
+

क्याम्पस प्रमुखमाथि कुटपिट गर्नेलाई कारबाही नगरेको भन्दै स्ववियूले लगायो ताला

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १२:५७

५ फागुन, गोरखा । क्याम्पस प्रमुखमाथि कुटपिट गर्नेलाई कारवाही नगरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले द्रव्य शाह बहुमुखी क्याम्पसमा ताला लगाएको छ ।

दोषी उपर कारबाहीको माग गर्दै उजुरी दिए पनि प्रहरी संगठन र प्रशासनले विभिन्न बहानाबाजीमा घटनालाई राजनीतिकरण गरी आन्तरिक मेलमिलापको चेष्टा गरेको भन्दै क्याम्पसको स्ववियूले तालाबन्दी गरेको हो ।

शुक्रवार प्रेस बिज्ञप्ती जारी गर्दै स्ववियूले दोषीलाई कानूनी दायरामा नल्याएसम्म क्याम्पसको पठनपाठन एवं प्रशासनिक कामकाज बन्द रहने जनाएको छ ।

‘अपराधिक मानसिकताका व्यक्तिहरु दिनदहाडै बजारमा खुलेआम रुपमा हिँडिरहेको र घटनामा आरोपित व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनका लागि प्रहरीमा उजुरी गर्दा पनि झनै उक्त घटनालाई बिभिन्न बहानाबाजीमा राजनीतिकरण गर्ने, गुपचुप राख्ने, आन्तरिक मेलमिलापको चेष्टा गरेकोप्रति स्ववियू घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

स्थानीय प्रशासन समेत मौन रहनुले प्रहरी संगठन र प्रशासन प्रति जनताको विश्वास गुमेको भन्दै घटनाका दोषीलाई यथाशिघ्र कानुनी दायरामा ल्याउन स्ववियूले माग गरेको छ । दोषी उपर कारबाही नभए थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत स्ववियूले दिएको छ ।

जनयुद्धको विरोध गर्दै सामाजिक सञ्जालमा अभिव्यक्ति पोष्ट गरेको भन्दै क्याम्पस प्रमुख रामचन्द्र दुवाडीमाथि माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइका विद्यार्थीहरुले कुटपिट गरेका हुन् ।

इकाइ अध्यक्ष अनिस अर्याल नेतृत्वमा आएका केही युवाहरुले क्याम्पस प्रमुखको कार्यकक्षको टेवल समेत तोडफोड गरेका थिए । घटनामा गोरखा नगरपालिकाका मेयरका स्वकिय सचिव समेत रहेका अर्याल, जिल्ला समन्वय समिति प्रमुखका स्वकीय सचिव राजन आले मगर, अनेरास्ववियू (क्रान्तिकारी) गोरखाका अध्यक्ष बिष्णु पाण्डे, अमृत श्रेष्ठ, सुवास तामाङ लगायत अन्य युवाहरुको संलग्नता रहेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?