+
+

एटोमिक ह्याविट्स पढेपछिको लेखक बन्ने ध्याउन्न

गणेश कार्की गणेश कार्की
२०७९ फागुन ६ गते १८:४२

लेख्नु भनेको के हो ? शब्दहरुको भण्डारण वा आफूले बुझ्ने भावको संगालो ? यसो त जवाफमा तपाईंले लेख्न सक्छु तर पढ्न सक्दिनँ भन्ने मान्छेको एउटा पुरानो चुट्किला पनि सम्झन सक्नुहुनेछ।

जब एउटा मान्छेले आफूमा लेख्न सक्ने तर पढ्न नसक्ने क्षमता भएको बताएछ, तब लेख्न सक्नेले त पढ्न सकिहाल्छ नि भनेर थपक्कै अर्कोले कुरा काटेछ। तब पहिलोले सिन्को टिपेर भुइँमा अक्षर जस्तो अनेक थोक लेखेछ र भनेछ, ‘लेख्न चैं लेखें, तर पढ्न सक्दिनँ। त्यति मात्र होइन कि यो कुन भाषा लेखें, संसारमा कसले यसलाई पढ्न सक्छ र कसरी पढ्नुपर्छ भन्ने पनि मलाई थाहा पत्तो छैन।’

त्यो मान्छेले लेखेको थियो कि कोरेको मात्रै थियो भन्ने विवादलाई थाती राखौं। किनकि, एउटा असाइन्मेन्ट छ। साथीहरुलाई केही लेखेर सुनाउनु छ। जसरी पनि लेख्नु छ। जे लेखे पनि हुनेछ। तर लेख्नु चैं पर्नेछ। नत्र क्याफेमा खाएका आधा दर्जन भन्दा बढी अमेरिकानोको बिल मैले तिर्नुपर्छ।

असाइन्मेन्ट किन छ ? किनकि हामीले भर्खरै जेम्स क्लियरको एटोमिक ह्याविट पुस्तक पढिसकेका छौं। र, त्यसले कति दिनलाई हो थाहा छैन तर अहिले हामीलाई आफ्नो लक्ष्य छान्न र लक्ष्यसम्म पुग्ने बाटोमा अल्छी नगरी अलिअलि गर्दै अगाडि बढ्न घच्घच्याएको छ।

एटोमिक ह्याविटमा जेम्स क्लियर भन्छन्, उद्देश्य छान र त्यसलाई प्राप्त गर्न कामहरुलाई साना साना टुक्रामा बाँडेर पितिक्क भए पनि नियमित गर। अत: मलाई लेखक बन्नुछ भने लेखक बन्नका लागि पहिलो शर्त हो, लेख्नु। दोस्रो शर्त हो, लेखिरहनु। तेस्रो शर्त हो, झन् धेरै लेख्नु।

लेख्ने विषय के ? जे पनि हुन सक्छ। जे पनि हुन सक्नु भनेको केही पनि नहुनु हो। यो यो प्रसंगमा हरेक दिन लेख् भनेर कसैले जिन्दगीभर पुग्ने दिनदिनैको सूची थमाइदिएको भए बरु सजिलो हुन्थ्यो। जे पनि लेख्न पाइने भएपछि के चैँ लेख्ने भन्ने छान्नमा लेख्नु भन्दा ठूलो कसरत गर्नुपर्ने रै’छ।

त्यो कर्म मेरी हजुरआमाको आदेश जस्तो हुन्छ। म सानै हुँदा उहाँ भन्नुहुन्थ्यो, ‘गएर गोडा पाँचेक खुर्सानी लिएर आ।’

गोडा पाँचेक भनेको कति हो ? म बुझ्दिनथें। मैले पढेको अंकतालिकामा शून्य हुन्थ्यो। एक हुन्थ्यो। दुई हुन्थ्यो। तीन, चार र पाँच हुन्थे। र, हुँदै हुँदै मलाई जाँगर लागेसम्म संख्याहरु तन्किन्थे। तर यो गोडा पाँचेक मैले भन्ने अंकतालिकामा कहिलै आएन, थिएन। पाँच र एक एकाउन्न भन्ठानेर त्यत्रा विधि खुर्सानी टिप्ने कारण पनि हुन्थेन। म मन लाग्दी खुर्सानी बोकेर फर्किन्थें। कहिले कम हुन्थे। र, कहिले बढी। संयोगले हजुरआमाले भने जति नै बराबरी भए हजुरआमा खुसी हुनुहुन्थ्यो।

यो असाइन्मेन्ट म मेरा साथीहरुलाई जब सुनाउँछु, उनीहरुले मेरी हजुरआमाले मलाई उतिबेला भने जस्तै सोचे जति ल्याएन भन्लान् कि सोचे भन्दा बढी ल्याएछ भन्लान् ? या संयोगले उनीहरुले सोचे झैं केही लेखेको हुँला ? अनि उनीहरु खुसी होलान् !

जे भए पनि मेरा लागि आश्चर्यको विषय हुने छैन। म बालखैदेखि जे पनि वा जति पनिबाट आफूलाई चाहिने मात्रा छान्न कमजोर छु। जेहोस्, केही नहुनु भन्दा हुनसक्ने जे भए पनि राम्रो। र, जे पनि हुन सक्नु भनेको केही नहुनु पनि हो।

लेख्नुको लागि सबैभन्दा सजिलो आफ्नो बालापन फर्किनलाई हुन्छ। कोही मान्छे पक्का बाँचेको हुन्छ भने बालापनमा बाँचेको हुन्छ भनेर लेखिदिए सायदैको विमति हुन्छ। बालापन जस्तो कष्टकर भए पनि त्यसमा रहेका सम्झनाका तरेलीहरुले बालापनलाई खास जीवनखण्ड बनाउँछ, बनाउँछ। त्यसबेलाका गल्ती र कमजोरी पनि हाकाहाकी भनिदिए हुन्छ। दोष व्यक्तिको हुन्न, बालापनकै हुन्छ। यसैले बालापनकै कथा सही छन्, सजिला छन्, जिउँदा छन्। बालापन सकिएपछि मान्छे बालापनको धङ्धङीमा मात्रै बाँच्छ। सासले साथ दियो भने फेरि बालापन नै बाँचेर मान्छे बिदा हुन्छ।

मेरै बालापन पनि त गजबै थियो। म भर्खरै क ख ग सिक्दै थिएँ। भान्सामा खाना पकाउँदै गर्दा भुइँमा ममीले माटो फुटाएर धुलो बनाइदिनुहुन्थ्यो। र, त्यही हुन्थ्यो मेरो ‘कालोपाटी’। ममीले जे जान्नुहुन्थ्यो, त्यही सिकाउनुहुन्थ्यो। उहाँलाई अरु जस्तै कपुरी क आउँथ्यो। अरु भन्दा फरक आँखे ख आउँथ्यो। मैले तोते बोलीमा कपुली क र आँखे ख भन्न सिकें।

एकदिन दाजुदिदीको पछि लागेर म ट्युसन पढ्न गएँ। नयाँ विद्यार्थी देखेर सर खुसी भए। म महिनाको नयाँ २० रुपैयाँ थिएँ।

उनले सुरुमै मायालु पारामा सोधे, ‘क ख आउँछ ?’

मैले टाउको तलमाथि मात्रै हल्लाएँ। बोलिनँ।

उनले अझै माया गरेर भने, ‘लु भन त।’

‘कपुली क।’ मैले यति भन्दा कक्षाका सबैजनाले मेरो तोतेबोली लोभिएर सुने। कक्षा मेरो बोलीको मोहमा चकमन्न भयो। म फेरि बोलें, ‘आँखे ख।’

कक्षामा एक्कासी हाँसो फुट्यो। ती कसैले पनि आँखे ख सुनेका थिएनन्। खरायो ख सुनेका थिए। म लजाएँ। धकाएँ। परिणाम, म अर्को दिनदेखि ट्युसन गइनँ। सरको नयाँ २० रुपैयाँ गोजीमा पस्नु अगाडि नै हरायो।

मैले ट्युसन छोडे पनि क ख ग छोडिनँ। पछि बाह्रखरी सबै जानें। कबाट कलम बनाएँ। त्यसपछि मलाई कपुरी क भनिराख्नै परेन। त्यसपछि मैले आँखे ख भन्छु कि खरायो ख भन्छु भनेर कसैले सोधेन।

मैले अभ्यासका लागि लेख्दै गर्दा अरुले जस्तै खबाट खरायो नलेखुँला। अर्थोकै लेखुँला। तर कुनै दिन मैले के लेखें भन्ने कसैले ख्याल नगर्लान् वा यति ख्याल गर्लान् कि मैले लेखे भन्दा बढी बुझ्लान् र मलाई नै मेरो लेखको भाव बुझाउलान्। यसै पनि आँ गर्दा अलङ्कार बुझ्नेहरुको कमी भएको समाज होइन हाम्रो।

हुन त लेखाइको सजीवता पनि त्यही होला। लेखाइले पाउने विशालता पनि त्यही होला। जहाँ लेखक भन्दा पाठकले भावहरुलाई नयाँ क्षितिजसम्म धकेल्लान्। यसो सोच्छु, मैले लेख्नकै लागि नेपाली संस्मरणका चल्तीका सूत्र पछ्याएँ भने के लेख्छु होला ? यो नेपाल भन्ने देश मेरै कारणले थामिएको छ लेख्दिन्छु कि ! मैले आजन्म, कहिलै, कुनै, कतिबेलै गल्ती गरेको छैन, दाबी गरिदिन्छु कि ! वा, गल्ती जस्तो देखिएको पनि अरु खराबहरुको कारणले र परिस्थितिले भनिदिन्छु कि ! हुन सक्छ, मैले कहिल्यै संस्मरण नै नलेखूँ। संस्मरण नै लेख्नुपर्छ भन्ने मेरो असाइन्मेन्ट होइन पनि। मैले जे लेख्दा पनि हुन्छ। जे लेख्नुको अर्थ संस्मरण नै लेख्नु पनि हुन सक्छ। किनकि हामीले भर्खरै जेम्स क्लियरको एटोमिक ह्याविट पुस्तक पढिसकेका छौं। र, त्यसले कति दिनलाई हो थाहा छैन तर अहिले हामीलाई आफ्नो लक्ष्य छान्न र लक्ष्यसम्म पुग्ने बाटोमा अल्छी नगरी अलिअलि गर्दै अगाडि बढ्न घच्घच्याएको छ।

एकै खालमा संस्मरण पढेर थाकेको मेरो साथीले एकदिन भन्यो, ‘म संस्मरणहरुको पाठकबाट संन्यास लिन्छु। अब पढ्दिन संस्मरणहरु।’ उ जस्ता संन्यासी पाठकहरुका लागि संस्मरण नलेखिदिनु पनि ठूलो गुन हुन सक्ला। नलेखिदिनु पनि कुनै पाठकका लागि खुसीको कारण हुनसक्ने रै’छ। तर जेम्स क्लियरले एटोमिक ह्याविट किताबमा लेखक बन्न पाठकलाई खुसी बनाउनुपर्छ भनेर लेखेका छैनन्।

सायद लेखक बन्न गाह्रो कुरा हो, खुसी बनाउन वा गुन लगाउनु सजिलो काम। किनकि, नलेख्न सजिलो छ। नलेखे पुग्छ। कहिलेकाहीं नलेखेर पनि कसैलाई गुन लगाइएको हुन्छ। म आफैंले पनि मेरा विगतका संस्मरण नलेखिदिएर धेरैलाई गुन लगाइदिएको छु। तर ती यति कृतघ्न छन् कि मेरा गुनहरु बिर्सिसके। यो अनुच्छेदले सम्झिने पो हुन् कि ! सम्झिउन्। या नसम्झिउन्। कसैले सम्झिएला भनेर लेख्ने पनि होइन। लेखक जेम्स क्लियर भन्छन्, आफ्नो सपना पछ्याउनका लागि कर्म गर्ने हो।

उनको किताब एटोमिक ह्याबिट त्यस्तै स–साना कर्म र त्यसले बसाल्ने आदतहरुको फेहरिस्त हो। ती आदतले बदल्न सक्ने जीवनको सम्भावनाको खाका हो। त्यसका लागि लेखिएको उनको अनुभव हो। जीवन सफल बनाउन दिइएको सजिलो तरिकाहरुको ‘वैज्ञानिक’ सूची हो। मैले कसैलाई गुन सम्झाउन सक्नु र नसक्नुले मेरो सपनाहरु पछ्याउँदैनन् भने त्यसका लागि कष्ट किन गर्नु ?

जेम्स क्लियरले आफ्नो किताब एटोमिक ह्याविटमा प्रष्ट लेखेका छन्, राम्रो बानी लगाउन र खराब छोड्नमा कष्ट होइन, चार चरण हुन्छन्। ती हुन् : संकेत (Cue), तृष्णा (Craving), प्रतिक्रिया (Response), इनाम (Reward)। मेरै उदाहरण हेर्ने हो भने मैले लेख्ने कुराले म लेखक बन्न सक्ने संकेत गरेका छन्। ममा त्यसले लेखक बन्ने तृष्णा जन्माएको छ।

त्यसपछि म प्रतिक्रियास्वरुप नियमित लेख्ने र लेख्नका लागि पढ्ने कर्म गर्छु। लेखेपछि म इनाममा साथीहरुसँग बस्ने, सित्तैंको अमेरिकानो पिउँदाको खुसी र सन्तुष्टि प्राप्त गर्छु। यी चरणहरु पटक–पटक पछ्याइरहँदा यही नै मेरो बानी बन्नेछन्। तर, ती बानी बसाल्ने कर्महरु स्पष्ट, आकर्षक, सजिला र सन्तोषजनक हुनुपर्ने छन्, जेम्स सिकाउँछन्। र, यिनै बानीले मलाई लेखक बनाउनेछन्।

अर्को पक्षबाट जेम्स क्लियरसँग खराब बानी छोड्ने तरिकाहरु पनि छन्। उनका अनुसार खराब बानी छोड्ने हो भने त्यो बानीलाई नदेखिने, अनाकर्षक, गाह्रो र असन्तोषजनक बनाउनुपर्छ। लेख्न बस्दा मलाई अल्झाउन सक्ने मोबाइललाई मैले अरुलाई भनेर लुकाउन लगाउने वा कम्तीमा इन्टरनेट बन्द गर्ने वा नोटिफिकेसन अफ गर्ने गर्न सक्छु।

जतिबेलै मोबाइल चलाएर कुनै पनि कुराहरु दोहोर्‍याएर भन्नुपर्ने दिक्कलाग्दा आफ्नै साथीहरुलाई सम्झिएर जति बेलै मोबाइल चलाउनुलाई अनाकर्षक बनाउन सक्छु। भएभरका मोबाइल एपहरु उडाइदिएर हरेक पल्ट चलाउन फेरि राख्नुपर्ने गरी गाह्रो बनाइदिन सक्छु। मोबाइल चलाएर कति समय खेर फालें भन्ने हिसाब राखेर त्यो काम नै असन्तोषजनक बनाउन सक्छु। यति गरें भने मलाई मेरै बानीहरुले लेखक बन्नबाट रोक्न सक्ने छैनन्।

जेम्स क्लियरले किताबमा आफ्ना बानीहरुका बारेमा सजगतापूर्वक जानकारी राख्न पनि सिकाउँछन्। बानीमा अडिरहन र अडिनमा सफल हुँदा खुसी हुन पनि सिकाउँछन्। समग्रमा एटोमिक ह्याविटले हामीलाई सिकाउँछ कि सफलताको कारक एकदमै ठूलो मिहिनेत वा लगानी होइन, बरु साना र सजिला बानीहरुको विकास हो।

अनि सबैभन्दा मुख्य कुरा, सो किताबले यसरी मनाउन सक्छ कि तपाईंलाई राम्रा बानीहरुको विकास गर्न सहयोग गर्नेछ, त्यो पनि सरल र स्पष्ट रुपमा। यसैले त ममा म पनि लेखक बन्न सक्छु भन्ने आँट भरिदियो। यो तरिका अपनाएँ भने मलाई सहज हुन्छ भन्ने पत्ता लगाएँ भन्ने विश्वस्त बनाइदियो।

र, यही कारणले मसँग लेख्नै पर्ने एउटा ‘असाइन्मेन्ट’ छ। साथीहरुलाई केही लेखेर सुनाउनु छ। यो असाइन्मेन्ट म मेरा साथीहरुलाई जब सुनाउँछु, उनीहरुले मेरी हजुरआमाले मलाई उतिबेला भने जस्तै सोचेजति ल्याएन भन्लान् कि सोचेभन्दा बढी ल्याएछ भन्लान् ? या संयोगले उनीहरुले सोचे झैं केही लेखेको हुँला ?

जे भनुन् तर लेखक बन्ने हो भने लेख्नै पर्छ।

लेखकको बारेमा
गणेश कार्की

वातावरण विज्ञान र व्यवस्थापन विषयका अध्येता कार्की विभिन्न सामाजिक बिषयवस्तुमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?