+
+

कथा : दल, दिल र मञ्जिल

शैलेश भट्टराई शैलेश भट्टराई
२०७९ फागुन ६ गते १३:४१

नेपालमा रहेका एकजना परिचित दाइसंग लकडाउनको अवधिमा एकदिन म्यासेन्जरमा भलाकुसारी गर्ने मौका मिल्यो । हाइ हेलोको सामान्य औपचारिकता पछि मैले भनें, ‘कोरोनाको कहर सिद्धिएपछि नेपाल फर्किन्छु दाजु । त्यहाँ आएर व्यवसायिक बाख्रापालन गरौं कि भनेर सोचिराछु । आइडिया दिनोस् है ।’

दाइले उत्साहित गराउँदै भने, ‘राम्रो सोचाई भाइ । म त्यस्तो आइडियादार मान्छे भएको भए त आफैं गरिहाल्थें होला नि । खैर, मैले जानेको कुरा भनौंला । र सकेको सहयोग गरौंला ।’

दाइले आश्वस्त पार्न खोजे ।

आफ्नो दुखेसो पोख्दै जिज्ञासापूर्वक मैले सोधें, ‘यत्रो बर्ष विदेश बसेपनि पैसा कमाउन सकेको छैन दाजु । लगानी त्यहीं आएर जोरजाम गर्नु छ । कत्तिको गाह्रो होला दाजु ?’

उनले भने, ‘लगानीको चिन्ता सुरुमा लिने होइन भाइ । न त यो मुख्य काम नै हो ।’

दाइको कुरा सुनेपछि म झन् उत्साहित भएँ र भनें, `लगानी सजिलै जुट्यो भने त भैहाल्यो नि। अरू कुरा भनेको बिस्तारै बिस्तारै हुँदै जान्छ । ल है दाजु म त तपाईंकै भरोसामा छु | हेल्प गर्नुपर्छ है।´

र,

मनमनै सोच्न थालेंछु- लगानी जुटेपछि अरू कुराहरूको व्यवस्था गर्न गाह्रो नहोला। मेरो उद्यमशीलताको भोक अब म आफ्नै देशमा गएर मेटाउँछु। आफ्नै देशको माटोमा आफ्नै परिवारको साथमा गरिखाने मेरो एउटा सुन्दर सपना अब चाहिँ पूरा गर्नैपर्छ । `कत्ति पसीना बगाउनु अर्काको देशमा ! आदि आदि।

सोच्दा सोच्दै एकोहोरिएँछु पो म त।

ती दाइले ‘कता हरायौ?’ भनेपछि झसङ्ग भएँ।

`अँ दाजु अघि मुख्य काम भन्दै हुनुहुन्थ्यो नि। के हो त्यो काम?´ मैले कुराको सिलसिला फेरि जोड्न खोजें।

उनले भने, ‘अरू कुराहरू तपसिलकै कुरा हुन् भाइ। मुख्य कुरा अर्कै छ। अर्थात् तिमीले सुरूमा गर्नुपर्ने काम अर्कै छ|’

दाइले फेरि त्यही कुरा दोहोर्‍याए ।

मैले भनें, ‘के हो त दाजु मुख्य कुरा ? पहिला तिमी आउनुपर्‍यो नि भाइ भन्न खोज्नुभाको होला, होइन ?´

‘होइन बाबू । आउँछु भनेपछि तिमी त यसै आउँछौ, उसै आउँछौ नि।’

`ह्या ! दाजु पनि मजाक गर्नुहुन्छ। म भने सिरियस्ली सोधिराखेको छु ।´ मैले उनलाई ट्रयाकमा ल्याउन खोजें।

दाइले सोधे, ‘कति बर्ष भो भाइ देश छोडेको ? यहाँको वस्तुस्थिति पुरै बिर्सिसक्या हो ?’

दाइलाई म विदेशिएको चाहिं थाहा रहेछ तर कहिले भन्ने कुरा चाहिं थाहा रहेनछ ।

मैले भनें, ‘ठ्याक्कै बाह्र बर्ष भो दाजु । कामको चाप र तनावले बिर्सें पनि होला त्यहाँको वस्तुस्थिति ।’

उनले सोधे, ‘कहाँ गर्ने व्यवसाय ?’

मैले स्वभाविक उत्तर दिएँ, ‘आफ्नै गाउँमा नि।’

‘उसो भए तिम्रो गाउँपालिकामा कुन पार्टीको सरकार छ ?’ दाइले सोधे।

`जुन पार्टीको सरकार भए नि के फरक पर्छ र दाजु? फर्म दर्ता गर्ने, कर तिर्ने र कानुन बमोजिम लाग्ने अरू दैदस्तुर दिने आदि काम त गर्नै पर्छ नि, होइन र ?´ मैले कौतुहलता बढाएँ।

उनले प्रष्टीकरण दिंदै फटाफट भने- जसको सरकार भएपनि कुरा एउटै हो। खास फरक पर्दैन। तर जुन दलको सरकार छ सकेसम्म सोही दलको सदस्यता चाहिं लिइहाल्ने। र बाख्रामा होइन पहिला दलमा सक्रिय हुने, बाख्राका घाँसदानामा होइन दलका नेता र तीनका खास गानामा दिलचस्पी दिने, बाख्राको चरनमा होइन अमुक नेता र गूटको शरणमा ध्यानदिने भन्न खोजेको । यहाँ जुनसुकै उद्यम, व्यवसाय, नोकरी आदिमा नगरी नहुने काम, पहिलो काम, मुख्य काम,जरूरी काम, प्रारम्भ बिन्दु जे जे भनेपनि यही नै हो। यसपछि मात्रै कामको मेलो सर्छ।´

‘आऽऽऽऽ जान्न दाजु म पार्टी सार्टी ? किन जाने तीनकहाँ ?’ म हल्का उत्तेजित हुन खोजें ।

उनले कन्भिन्स गर्ने पाराले भने- ‘हेर भाइ दलतन्त्रको दलदलमा हामी यसरी फसिसकेका छौं कि यहाँ आएर तिमीले पार्टी सदस्यता नलिई, तीनका कार्यक्रममा भाग नलिई, तीनका नेताको स्वार्थमा जिन्दावाद मूर्दावाद भन्दै झण्डा हल्लाउँदै पाखुरा सुर्कंदै नहिँडी न तिम्रा बाख्रा ब्याउँछन्, न तिम्रा खसीबोका बिक्छन्।’

म किञ्चित् आश्चर्यचकित भएँ। उनले कुरा त मेरै देशका गरेका थिए तर मलाई अर्कै लोकको कुरा गरे झैँ लाग्यो। र अनायसै सोधेंछु- ‘हैन खसीबोका बेच्न पनि पार्टी ज्वाइन गर्नुपर्ने कस्तो सिष्टम आयो हो दाजु ?’

‘साना ठूला नियुक्ति,सरूवा,बढुवा, टेण्डर, ठेक्का पड्काउन अनि पदक,तक्मा,पुरस्कार सम्ममा त यस्तो चलेको थाहा थियो पहिला। कतिपय आफैंले पनि देखें । भोगें । अहिले बाख्रा पाल्न पनि त्यस्तो ?’

म हल्का आवेशमा आएँछु ।

मेरो आवेश मत्थर पार्ने चेष्टा गर्दै उनले भने, ‘विलकुल भाइ! जसरी एकतन्त्रीय शासन हुञ्जेल मौसूफ वा मौसूफका भक्त भारदारलाई नबक्साई प्रसन्न नतुल्याई उद्यम, व्यवसाय गर्न मुश्किल हुन्थ्यो, गरे पनि उन्नति तरक्की असम्भव थियो, अघोषित र अलिखित रूपमा हुबहु त्यस्तै सिष्टम बसिसकेको छ अहिले । दलमा दिल बसाए मात्र मञ्जिल भेट्टाउन सजिलो छ। नत्र भन्न सकिन्न ।´

‘अनि त्यत्रो विशाल जनआन्दोलन गरेर हामीले नै लोकतन्त्र/गणतन्त्र ल्याएको होइन र दाजु ?’

बैसठी/त्रिसठीको आन्दोलन सम्झाएँ मैले।

जनआन्दोलन सम्झिंदै उनले पनि भावुक भएर भने, ‘हो भाइ आन्दोलन त गरिएछ तर एकतन्त्रको ठाउँमा दलतन्त्र मात्र ल्याएछौं । त्यही दलतन्त्र पनि गुटतन्त्र र नेतातन्त्रको शिकार भएको छ।´

राजनीति त्यति नबुझेपनि उनको कुरा सुनेर म पनि भावुक बनेंछु।

`कहिले आउला त दाजु हाम्रो देशमा वास्तविक लोकतन्त्र ?´

उनी भन्दैथि, `पार्टीमा नलागेका नागरिकहरूले पार्टीमा नलागीकनै राजनीति बाहेकका अरू क्षेत्रमा जुन दिन लोभलाग्दो उन्नति गर्छन् नि भाइ, हो त्यसै दिन भनौंला वास्तविक लोकतन्त्र आएछ भनेर ।’

उनले दिक्दार मान्दै यति भन्नासाथ उनी अफलाइन भए। म भनें ट्विटर चलाउन थालें।

ट्विटरका एकजना मित्रले भर्खरै ट्विट गरेका रहेछन्, `मेरा लगौंटियार देखि स्कूले साथीहरू विदेश गए। केही बर्ष पछि फर्किए । यहीं केही गर्न होटल, ब्रोइलर कुखुरा, बाख्रादेखि कृषि अनि व्यापारसम्म प्रयास गरे। अन्ततः फेरि दुई चार बर्षमा विदेश गए, किन त ?´

म झसङ्ग भएँ। कतै मेरो हालत पनि यस्तै त हुने होइन भनेर ।

यो ट्विटलाई रिट्विट गरेर ‘किन त?’ को उत्तरमा म पनि घोत्लिन थालें।

उनी फेरि अनलाइन आएर मलाई बोलाए । तर बोल्न खोज्दा खोज्दै मेरो वाइफाइ नेटवर्क बिच्छेद भयो ।

लेखकको बारेमा
शैलेश भट्टराई

समसामयिक राजनीतिक बिषयमा ब्यंग्य गर्न माहिर शैलेश अनलाइनखबरका स्तम्भकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?