+
+

तासमानिया कन्सर्टसँगै नेपथ्यले टुंग्यायो अष्ट्रेलिया टुर

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ६ गते १९:०३

काठमाडौं । अन्टार्टिका महादेशबाट नजिकै पर्ने अष्ट्रेलियाली टापु तासमानियामा अन्तिम प्रस्तुतिसँगै लोकपप ब्याण्ड नेपथ्यको अष्ट्रेलिया यात्राको समापन भएको छ ।

अष्ट्रेलियाका अन्य प्रान्तीय राजधानीभन्दा शान्त होबार्ट सहरमा ऐतिहासिक महत्वको १ सय ७ वर्ष पुरानो सभागृह ‘ओडियन थिएटर’ दर्शकले भरिभराउ थियो । नेपथ्यलाई दोस्रोपटक हेर्न पाएर रमाएका नेपालीले अधिकांश गीतमा मञ्चका कलाकारलाई साथसाथै गाएर सघाएका थिए ।

अघिल्लो दिनमात्र एबीसी रेडियोको बिहानी सत्रका वार्ताकार लियोन कम्पटनले नेपथ्यलाई ‘विश्व दर्शकमाझ नेपालको के-पप ब्याण्ड जस्तै हो ?’ भनेर प्रश्न गरेका थिए । अन्तवार्तामा उपस्थित ब्याण्ड व्यवस्थापक किरणकृष्ण श्रेष्ठले कोरियाली ब्याण्ड ‘के पप’ को उदय र उत्थानको बारेमा ब्याख्या गर्दै नेपथ्य त्यसभन्दा अलिक बेग्लै रहेको प्रष्ट पारेका थिए ।

शुक्रबार स्थानीय समय अनुसार बेलुकीको साढे सात बजे हलका ढोका खुला गरिएको थियो भने ठीक नौ बजेदेखि कन्सर्ट सुरुभएको थियो । कार्यक्रममा अन्यत्रजस्तै ब्याण्डको स्थापनाकै पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे’ बाट सुरुगरियो । त्यो गीतबाटै हलभरिका दर्शकले साथसाथै गाएर कन्सर्टको माहोल तताइदिएपछि यो क्रम सिंगो कार्यक्रम अवधिभर जारी रहन पुग्यो ।

अढाइलाख जनसंख्या पनि नभएको अष्ट्रेलियाकै यो सबैभन्दा शान्त प्रादेशिक राजधानीमा पछिल्लो समय विस्तारै नेपाली संख्या बढ्न थालेको छ । विशेषगरि अष्ट्रेलिया र फ्रान्सका नाविकहरुको निम्ति अन्टार्कटिका यात्रा गर्दाको यो बिसौनीरुपी सहर प्रशान्त महासागरको गहिरो किनारासँग जोडिएको छ ।

‘यति महत्वको स्थानमा यहाँ बोलिने दोस्रो भाषा नेपाली रहेको थाहा पाएर असाध्यै गौरव महसुस भएको छ,’ गायक एवं ब्याण्डका अगुवा अमृत गुरुङले दर्शकसँग संवाद गर्दै भनेका थिए, ‘भाषा रहे मात्र हाम्रो पहिचान रहने भएकाले यो भाषालाई आउने सन्ततिसम्मै जोगाएर विस्तार गरौं है ।’

दोस्रो प्रस्तुतिका रुपमा ‘छेक्यो छेक्यो’ र त्यसपछि पनि क्रमशः ‘भेँडाको ऊन’ र ‘लामपाते सुरती’ हुँदै अघि बढेको कन्सर्ट अवधिभर नेपथ्यले उसका पुराना र नयाँ गीत सुनाएको थियो । कन्सर्ट हेर्न आउने दर्शकमा विष्णु सापकोटा पनि थिए । द्वन्द्वकालमा नेपथ्यले ‘शान्तिको लागि शिक्षा’ अभियान लिएर गाउँ आउँदा आफू केवल १२ वर्षको रहेको विष्णुले सम्झना गरे ।

‘दुवैतर्फका हतियारधारीको चेपमा परेको गाउँले त्यतिबेला झेल्नुपरेको भयावह दिन सम्झँदा पनि डर लाग्छ,’ विष्णु भनिरहेका थिए, ‘त्यतिबेला नेपथ्यकै बलमा हामीले विद्यार्थी क्लब खोलेर स्कुल ब्यूँताउने प्रयास गरेका थियौं ।’

विष्णुले शुक्रबारको कन्सर्टका बारेमा पनि प्रतिक्रिया ब्यक्त गरे । ‘गीत सँगसँगै अमृत दाइका अनुभव सुन्दा जहिले पनि मनोरञ्जन मात्र नभएर गौरवबोध पनि महसुस हुन्छ,’ उनले भने, ‘यसपाला पनि नेपथ्यले तासमानियामा बसोबास गर्दैआएका हामीमाझ एकसाथ पर्वको माहोल र नेपालीपनको गौरवबोध गराएको छ ।’

कन्सर्टका बेला सँधैजस्तै नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

यसवर्ष जारी अष्ट्रेलिया यात्राका दौरान तासमानियाको यो कन्सर्ट श्रृंखलामध्येको आठौं प्रस्तुती थियो । यसअघि डार्बिन, एडिलेड, ब्रिसबेन, क्यानबेरा, पर्थ, सिड्नी र मेलबर्नमा सफलताका साथ कन्सर्ट सम्पन्न भइसकेका छन् ।

दर्शक संख्यामा सदैव गुणात्मक वृद्धि देख्दै आएको सिड्नीमा यसपाला पाँच हजारभन्दा बढी दर्शक जुटाएर नेपथ्यले नयाँ मानक कायम गरेको छ । तासमानियामा अन्तिम प्रस्तुती सम्पन्न भएसँगै ब्याण्ड, प्राविधिक र व्यवस्थापनसहितको १३ सदस्यीय टोली यसै साता मेलबर्न हुँदै स्वदेश फर्कनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?