+
+

स्वस्तिका ठेला गार्डेन : १ हजार रुपैयाँबाट सुरु, अहिले दिनकै १२ हजार कमाइ

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ फागुन ७ गते १७:४५

काठमाडौं । ‘काम पाइँदैन, व्यवसाय गर्न पुग्ने लगानी जुटाउन सकिंदैन’ भन्दै दैनिक धेरै युवा विदेशिने गर्छन् । विदेशमा मजदुरी गर्न जाने नेपाली युवाहरूलाई देशभित्रै सानोतिनो लगानीको व्यवसाय सुरु गर्ने प्रशस्त सम्भावनाहरू छन् । मेहनत गर्न सके थोरै लगानीबाट पनि व्यवसाय सुरु गर्न सकिन्छ भन्ने एउटा राम्रो उदाहरण हो स्वस्तिका ठेला गार्डेन ।

काठमाडौंको कपनमा अवस्थित यो ठेला गार्डेनमा पानीपुरी चटपटे खान मान्छेहरूको लामै लाइन हुन्छ । सात वर्षअघि एउटा सानो ठेलाबाट सुरु भएको स्वस्तिका ठेला गार्डेन अहिले नौ वटा सटरमा बिस्तार भएको छ ।

२०७२ सालमा एउटा सानो ठेलामा एक हजार रुपैयाँ लगानीबाट सुरु भएको ठेला गार्डेनमा अहिले दैनिक १२ देखि १३ हजारसम्मको व्यापार हुन्छ । भूकम्पपछि भगवती भट्टराईले एउटा सानो ठेलाबाट पानीपुरी चटपट्टे बेच्न सुरु गर्दा यहाँसम्म पुगिएला भन्ने उनलाई लागेको थिएन । भगवती सम्झिन्छिन्, ‘साथीभाइ तथा आफन्तहरूले भन्थे- चटपटे, पानीपुरी बेचेर पनि साध्य हुन्छ ?’

कसैले नपत्याएको पानीपुरीले व्यापार बढाउँदै गयो । खाने मान्छेको चाप बढेपछि भगवतीले ठेलागाडासँगै एउटा सटर लिएर मेनु पनि बढाउँदै लगिन् । उनको यो सानो व्यापारमा उनका पतिले पनि साथ दिंदै गए । दुई जना मिलेर पानीपुरी चट्पट्टे पसललाई विस्तार गर्दै गए ।

स्वस्तिका ठेला गार्डेनकी सञ्चालिका भगवती भट्टराई

मेनुमा पानीपुरी चौपट्टेसँगै लाफिङ, निम्की चाट, दही पुरी, आलु निम्की र पापडीचाटलगायत परिकार थपिंदै गयो । भगवती र उनको श्रीमानलाई छोरी स्वस्तिकाले पनि साथ दिन थालिन् । आमाले सुरु गरेको पानीपुरी पसललाई नयाँ रूप दिने सोचको साथ छोरी स्वस्तिकाले पनि पसलमा समय दिन थालिन् । एउटा सटरबाट दुईवटा तीनवटा सटरहरू थपिंदै गए ।

खानेकुरा मात्र होइन माहोल पनि राम्रो हुनुपर्छ भन्ने सोचका साथ सटरहरूलाई स्वस्तिकाले सजाउन थालिन् । स्वस्तिका भन्छिन्, ‘जति नै सानो व्यापार भएपनि भिजन र मिसन भने हुनुपर्छ भनेको सुनेको थिएँ । त्यसैले मीठो खानेकुरासँगै वातावरण पनि हुनुपर्छ भनेर सटरहरू सजाउन थालें ।’

त्यहाँ आउने ग्राहकलाई खानेकुरासँगै सजावटले पनि आकर्षित गर्न थाल्यो । खान मात्र होइन, फोटो र टिकटक भिडियो खिच्न पनि मान्छेहरू आउन थाले । अहिले स्वस्तिका ठेला गार्डेन ब्रान्ड भइसक्यो । ‘हामीले पानीपुरी चटपटे ठेलामा बेच्ने खानेकुरा भन्ने सोचलाई नै बदलेका छौं,’ स्वस्तिका भन्छिन् ।

थोरै लगानीबाट सुरु गरेको सानो व्यवसायले ग्राहकहरूको मन जितेकोमा भगवती निकै खुसी छिन् । घर खर्च राम्रैगरी चलेको यही व्यवसायलाई भविष्यमा अझै विस्तार गर्ने उनको योजना छ ।

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?