
७ फागुन, विराटनगर । नेपाल पुलिस क्लबका प्रिन्स दाहालले पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् ।
यसअघि दुई संस्करणमा उपाधि जितेका उनले विराटनगरमा भएको १२औं संस्करणमा पनि उपाधि जिते ।
आइतबार भएको पुरुष एकलतर्फको फाइनलमा उनले आर्मीका प्रफुल महर्जनलाई २१–१४, २१–१७ ले पराजित गर्दै उपाधि उचालेका हुन् ।
पहिलो सेट सहज जित निकालेका दाहालले दोश्रो सेटमा १–८ ले पछि परेको अवस्थालाई सुधार गर्दै २१–१७ को जित निकाल्दै खेललाई आफ्नो पक्षमा पारेका थिए ।
प्रिन्सको ८ दिन भित्रमा प्रफुल माथिको दोश्रो जित हो । यसअघि इटहरीमा सम्पन्न प्रथम मुख्यमन्त्री सरगमाथा राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा पनि प्रफुललाई हराउँदै प्रिन्सले उपाधि उचालेका थिए ।
नेकपा एमालेको भातृसंस्था नेपाल खेलकुद महसंघ अन्तरगत रहेको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितमा पुलिसका विष्णु कटुवाल र आर्मीका रुकेश महर्जन संयुक्त तेश्रो भए ।
यस्तै महिला एकलतर्फको उपाधि आर्मीकी अनुमाया राईले जितिन् ।
उनले ८ दिनअघि प्रथम मुख्यमन्त्री सगरमाथा राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताकी उपाधि विजेता एपीएफकी जेशिका गुरुङलाई १८–२१, २१–१७, २१–६ ले पराजित गरिन् । अनुको पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा यो लगातार दोश्रो उपाधि हो ।
यस विधाको तेश्रो स्थानमा राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जन र प्राथना देउवा रहे ।
महिला तथा पुरुष एकलतर्फका विजेताले ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपविजेताले नगद ३० हजार र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले १४ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरस्कार वितरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4