+
+
ब्लग :

कसले सुन्ने वारुणयन्त्रको वेदना ?

देशको राजधानी रहेको उपत्यकामै आगलागी हुँदा बचाउन नसक्ने सरकारले अन्त के गर्न सक्ला र ? राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण पक्कै पनि क्षति भइसकेपछि अवलोकन गर्ने निकाय होइन ।  

शुरज थपलिया शुरज थपलिया
२०७९ फागुन ८ गते ७:३३
बुटवल उपमहानगरपालिकामा रहेका वारुणयन्त्र

वारुणयन्त्र के हो ? आजकल यो प्रश्न सोध्ने हो भने ५० प्रतिशत मानिस त एकछिन अकमक्क नै पर्छन् होला । २४सै घण्टा सेवा प्रदान गर्ने, रातो रङको शरीर भएको, माथिल्लो भागमा रातो बत्तीको प्रकाश दिने साइरन भएको र सामान्यतया सधैं हतारमा हुने उपकरण हो ‘वारुणयन्त्र’ । यो उपकरणलाई आगो निभाउन प्रयोग गरिन्छ । सामान्यतः यसलाई ‘दमकल’ भनेर चिनिन्छ ।

उद्धार कार्यमा हिंडेको वारुणयन्त्र घटनास्थल पुग्न सजिलो र नजिक पर्ने बाटोमा चल्छ । जनधनको क्षति न्यूनीकरण गर्ने जिम्मेवारी पाएको यसले लेन पालना, एकतर्फी सडक नियमलगायत केही ट्राफिक नियमहरूमा नेपाल सरकारबाटै छुट पाएको छ । यति महत्वपूर्ण जिम्मेवारी बोकेको वारुणयन्त्र र त्यसका पार्टपुर्जा यत्रतत्र लडाइएका र फ्याँकिएका छन् ।

इतिहासको पाना पल्टाउने हो भने वारुणयन्त्रको नेपालमा १९९४ साल बाट स्थापना भएको देखिन्छ । १९९० सालको भूकम्प गएको ४ वर्षपछि राणाकालका सातौं प्रधानमन्त्री जुद्धशमशेर जबराले आफ्नै नाम दिएर काठमाडांै उपत्यकामा ‘जुद्ध वारुणयन्त्र’ संस्था स्थापना गरेका थिए । उनले बेलायत भ्रमणमा जाँदा त्यहाँको वारुणयन्त्र सेवाबाट आकर्षित र प्रभावित भएर नेपालमा आयात गरेका थिए । उनले २००१ सालमा उपत्यकाको दुई जिल्ला भक्तपुर र ललितपुरमा जुद्ध वारुणयन्त्रको सेवा विस्तार गरेका थिए ।

८ वैशाख १९३२ मा जन्मिएका जुद्धशमशेरको मृत्यु ५ मंसिर २००९ मा भएको थियो । उनी राणा शासनका सातौं प्रधानमन्त्री थिए जसले इतिहासमा स्वेच्छाले पद त्याग गरे । उनले आफ्नो कार्यकालमा विभिन्न सामाजिक सुधारका काम गरे । नेपालमा आगलागीका घटना खासै नभए पनि निकट भविष्यमा आपत–विपत पर्न सक्छ भन्ने पूर्वानुमानको आधारमा इङ्गल्याण्डबाट मौरिस ब्रान्डको वारुणयन्त्र आयात गरेका थिए ।

नेपालमा भौतिक पूर्वाधार र यातायातको राम्रो सुविधा थिएन । त्यसैले इङ्गल्याण्डबाट वारुणयन्त्रलाई भारत पठाइएको थियो । त्यहाँबाट छुट्याइएको पार्टपुर्जा भरियालाई बोकाएर भीमफेदी हुँदै काठमाडौं ल्याइपुर्याइएको थियो । काठमाडौंमा पार्टपुर्जा जडान गरेको केही समयपछि ‘जुद्ध वारुणयन्त्र’ संस्थाले सेवा प्रदान गर्न थाल्यो । जुद्धशमशेरको पहलमा शहरलाई आगलागीबाट बचाउने वारुणयन्त्रमा पानी राख्न वाटर हाइड्रन्टको पनि निर्माण गरिएको थियो ।

अहिले यो संस्था कुन निकायको मातहत रहेर चल्ने हो, स्पष्ट छैन । सामान्यतः १०० नम्बरमा कल गर्दा दमकलको सम्पर्कमा पुगिन्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार नेपालमा २१३ वटा वारुणयन्त्र सञ्चालनमा छन् । तीमध्ये प्रदेश–१ मा ४५, मधेशमा ३२, बागमतीमा ३३, गण्डकीमा ४८, कर्णालीमा ४ र सुदूरपश्चिममा २० वटा दमकल छन् ।

सुरज थपलिया

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट देशभरको दमकलको विवरण पेश गरिएको छ । त्यो विवरणमा कुनैमा गाडीको विवरण छैन भने कुनैमा चालकको । न मोडेल उल्लेख गरिएको छ न मर्मत–सम्भारको अवस्था । चालक बिरामी हुँदा वा बिदामा बस्दा हुने वैकल्पिक व्यवस्था बारे पनि उल्लेख छैन । सामान्यतः यहाँ आपतकालका लागि चाहिने पूर्ण विवरण राखिएको छैन ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालका ४४औं प्रधानमन्त्री हुन् । नेपालका सातौं प्रधानमन्त्रीले दूरदृष्टि राखेर भित्र्याएको वारुणयन्त्र ४४औं प्रधानमन्त्रीको पालासम्म पनि व्यवस्थित गरिएको छैन । संख्या बढाउन नसके पनि भएका दमकलको व्यवस्थापन र सदुपयोग हुनसकेको छैन । इतिहास बोकेको ट्रलीबस रातारात लोप बनाइयो । जुद्ध वारुणयन्त्रको पनि अवस्था उस्तै छ । प्रश्न जन्मन्छ, ‘वारुणयन्त्र’ प्रति सरकारको ध्यानाकर्षण ठूलो घटना घटेर जनधनको क्षति भएपछि मात्र हुने हो ?

नेपालका अधिकांश बस्ती आगलागीको उच्च जोखिममा छन् । अत्यधिक जनसंख्या वृद्धि, अव्यवस्थित तार, साँघुरा सडक, ट्राफिक जाम जस्ता विविध कारणले घटनास्थलमा दमकल समयमै पुग्न सक्ने अवस्था छैन । २४ घण्टा नै खटिनुपर्ने वारुणयन्त्रलाई तयारी अवस्थामा राख्न यसको विकास र विस्तारमा सरकारले समयमै ध्यान दिनुपर्छ ।

नेपालका कैयौं ठाउँमा आगलागी नियन्त्रणमा जाँदा दमकल पुग्नु अगावै जनधनको क्षति भइसकेको प्रशस्तै उदाहरण छन् । १२ वैशाख २०१९ मा भक्तपुर जिल्लाको मध्यपुर ठिमी–५ स्थित राजन ग्रुप कम्पनी प्रा.लि.मा राति करीब ९ बजे आगलागी हुँदा झण्डै ८ करोडको क्षति भयो । आगलागी नियन्त्रण गर्न भक्तपुर दमकल, काठमाडौं दमकल, पाटन दमकल, धुलिखेल दमकल र नेपाली सेनाको दमकल परिचालित भए । यसरी पाँच निकायको संयुक्त प्रयासमा कार्य गरिए पनि ठूलो नोक्सानी भने व्यहोर्नुपर्यो ।

अग्नि नियन्त्रकको टिम

त्यस्तै ३ असार २०७४ को राति ११ः३० बजेदेखि सल्लाघारीस्थित यती कार्पेट इन्डस्ट्रिजमा लागेको भीषण आगलागीमा डेढ अर्बभन्दा बढीको क्षति भएको थियो । उद्योगसँगै रहेको बाटोको ट्रान्सफर्मर पड्केर निस्किएको आगोले बलेको तारबाट कारखाना नै तहस–नहस भएको थियो । आगलागी नियन्त्रण गर्न भक्तपुर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, काठमाडौं र ललितपुरका गरी ८ वटा दमकलले काम गरे । तर पनि ८ घण्टापछि मात्र आगलागी नियन्त्रणमा आयो । चुस्त समन्वय, नजिकै दमकल र वाटर हाइड्रन्ट भएको भए सायद ठूलो क्षति हुँदैनथ्यो । यो त उदाहरण मात्रै हो । धेरै ठाउँमा अत्यधिक नोक्सानी भएका छन् ।

देशको राजधानी रहेको उपत्यकामै आगलागी हुँदा बचाउन नसक्ने सरकारले अन्त के गर्न सक्ला र ? राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण पक्कै पनि क्षति भइसकेपछि अवलोकन गर्ने निकाय होइन ।

वारुणयन्त्र सामान्य यन्त्र मात्र होइन, यसले देशको इतिहास पनि बोकेको छ । आगामी दिनमा यसको लागि छुट्टै निकाय वा विभाग खडा गरी राम्रो रेखदेख गर्नुपर्छ । पुराना वारुणयन्त्रलाई संग्रहालय बनाएर राख्न सक्छौं । वारुणयन्त्रका उपकरण स्टोर–लत्ता कपडा र अन्य प्रयोग गर्ने सामग्रीको सुरक्षा गर्नुपर्छ । पुरानो वारुणयन्त्र राख्ने ऐतिहासिक भवनलाई रेट्रोफिट गर्ने र मर्मतसम्भार गरी वारुणयन्त्रलाई चुस्तदुरुस्त अवस्थामा राख्नुपर्दछ । जनतालाई भोट माग्ने समयमा पार्टीको झण्डा र छापको विज्ञापन गरे जस्तै वारुणयन्त्रको घर–घरमा पुगेर शिक्षा प्रदान गर्ने र सरकारले दिने सेवा–सुविधाको जानकारी प्रदान गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?