+
+

गोंगबु घटनामा बालाजु र सोह्रखुट्टेका डीएसपीलाई कारबाही सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १९:१४

८ फागुन, काठमाडौं । यातायात व्यवसायीले गत सोमबार बालाजुमा गरेको प्रदर्शन उग्र बनेर क्षति भएको घटनामा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहोनीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँको नेतृत्वको ५ सदस्यीय छानबिन समितिले प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा यातायात व्यवसायीले गोंगबुमा गरेको आन्दोलनमा भएको क्षति, लुटपाट र प्रहरीतर्फबाट भएका कमजोरीबारे उल्लेख गरिएको एक सदस्यले बताए । घटनाक्रमको विश्लेषणसहित दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई विभागीय कारबाही गर्न समेत सिफारिस गरिएको ती सदस्यले बताए ।

उनका अनुसार प्रहरी वृत्त, बालाजुका डीएसपी रविन विष्ट र प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी गणेशबहादुर बमलाई कारबाहीको सिफारिस गरिएको छ । दुवैको जिम्मेवारी निर्वाह चित्तबुझ्दो नभएको छानबिन समितिको ठहर छ । विष्टलाई उपत्यका प्रहरी कार्यालयले सोमबारै जिम्मेवारीबाट हटाएको थियो ।

यातायात व्यवसायीको आन्दोलनमा विष्ट चढ्नेसहित दुई वटा प्रहरीको गाडीमा आगजनी र तोडफोड भएको थियो । त्यसबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालय, नक्सालले खाँको नेतृत्वमा समिति गठन गरेको थियो ।

समितिमा उपत्यका प्रहरीका एसएसपी हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल, उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई र प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमलाल भुसाल सदस्य थिए ।

ट्राफिक प्रहरीले लगाएको जरिवानाको विरोध गर्दै यातायात व्यवसायीले गरेको प्रदर्शनले उग्र रुप लिँदा प्रहरी वृत्त, बालाजुका दुई गाडीमा तोडफोड र आगजनी भएको थियो । अरु सार्वजनिक सम्पत्तिमा पनि क्षति पुगेको थियो ।

उग्र भिडले लोत्से मलमा लुटपाट समेत गरेको थियो । यसमा संलग्न ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?