+
+

कमला नदीको भासिएको पुल २० महिनासम्म उस्तै

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ फागुन ९ गते २०:३५

९ फागुन, जनकपुरधाम । सिरहा नगरपालिका–६ बसबिट्टाका रामसेवक दास खेतमा काम गर्न जान दैनिक कमला नदी तर्नुपर्छ । सिरहाबाट नदी तरेर धनुषा जिल्लामा पर्ने खेतमा जाुनपर्ने बाध्यतामा गाउँका अरु धेरै छन् ।

‘खेतीपातीबाटै हाम्रो जीविका चल्छ, खोला नतरी हुँदैन’, रामसेवक भन्छन् ‘कहिलेकाहीँ त बाढीमा गाइभैंसी डोर्‍याउँदा डुब्छन् । मान्छे बगेर ज्यानै जाने खतरा हुन्छ ।’

धनुषाको जनकनन्दनी गाउँपालिका–२ बलहागोठका सजनलाल मण्डलका धेरै आफन्तजनको घर सिरहामा पर्छ । आफन्तकोमा जान कमला नदी तर्नैपर्छ । ‘अहिले सुक्खा छ । दिकमसिकम आउजाउ गर्छौं । अहिले नै थोरै वर्षा भयो भने मुश्किल पर्छ’ उनी भन्छन् ।

कमला नदीमा पुल बन्न थालेपछि सजिलो दिन आउने आशामा रहेका धनुषा र सिरहाका वासिन्दा १७ असार २०७८ मा भासिएपछि खिन्न भएका छन् ।

सिरहाको बरियारपट्टी गाउँपालिकाकी देवकी ठाकुर गत आइतबार जनकपुर बस्ने छोरी भेटेर पतिसंगै मोटरसाइकलमा फर्किदै थिइन् । उनी कमला नदी वरिपरि नै रोकिइन् । श्रीमानले मोटरसाइकल तारेपछि मात्रै उनी गइन् ।

सप्तरी–३(ख) बाट मधेश प्रदेशमा स्वतन्त्र निर्वाचित अनिरुद्धकुमार सिंह कमला नदीमा पुल नहुँदा भारतको बाटो भएर प्रदेश राजधानी आउनुपरेको बताउँछन् । ‘म अहिले भारत हुँदै घुमेर जनकपुर आइपुगेँ । पूर्व पश्चिम राजमार्ग चार लेनमा विस्तार हुन थालेकाले धेरै ठाउँमा खनेर बिग्रिएको छ । गाडीमा आउन निकै समस्या छ । भारतको जयनगर जटही हुँदै आइपुगेको हुँ’ उनले भने ।

हुलाकी सडक अन्तर्गतको कमला पुल नबन्दा सप्तरी, सिरहा, धनुषा र महोत्तरीको दक्षिणी क्षेत्रका वासिन्दालाई धेरै समस्या छ । पुल नहुँदा सप्तरी र सिरहाका वासिन्दा जनकपुर आउँदा तेब्बर बढी समय लाग्छ । धनुषा र महोत्तरीका वासिन्दलाई पनि यस्तै दुख छ ।

स्थानीयको धेरै पहिलेदेखिको माग अनुसार कमला नदीमा २०६८ सालमा पुल निर्माण सुरु भएको थियो । पप्पु कन्स्ट्रक्सनले ४२ महिनाभित्रै सक्ने गरी २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का पाएको थियो । उसले सात वर्षमा पनि पुल निर्माण पूरा नगरेपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले पप्पुसँगको ठेक्का तोडेको थियो ।

त्यसपछि १३ असार २०७८ मा ४७० मिटर लामो पुल निर्माण सक्नेगरि लुम्बिनी बिल्डर्सलाई ठेक्का दियो । उक्त पुलको निर्माण अन्तिम चरणमा पुगेको थियो । केही बाँकी काम सकेर साउन २०७८ मा उद्घाटनको तयारी गरिएको थियो । तर १७ असारमा अबिरल वर्षासंगै आएको बाढीले पुल भाँसियो । त्यो दिन पूर्वतिरको स्पान भासियो । कात्तिक महिनामा धनुषातिरको ३ नम्बर पिलर भासियो ।

गलत डिजाइन र गुणस्तरहीन निर्माण सामग्रीको प्रयोगले पुल सञ्चालन नहुँदै भासिएको प्राविधिकहरुको बुझाइ छ । क्षतिग्रस्त पुल नजिकै स्थानीयले बाँस र काठ हालेर कच्ची पुल बनाएका छन् र त्यसबाट मोटरसाइकल, साइकल र पैदलयात्री आउजाउ गरिरहेका छन् ।

पुल भासिएको २० महिनासम्म पुनर्निर्माण अघि बढेको छैन । पुल भासिएलगत्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले छुट्टाछ्टटै छानबिन समिति गठन गरेको थियो । हुलाकी सडक निर्देशनालयका प्रमुख कृष्णकुमार महतोका अनुसार मन्त्रालय र विभागले पछि ठेकेदार कम्पनी लुम्बिनी बिल्डर्सलाई नै पुल भासिनुको कारण पत्ता लगाउन जिम्मेवारी दिएको थियो ।

कम्पनीले पुलमुनिको केही भागमा मात्र नदीको धार एकोहोरिँदा पुल भाँसिएको प्रतिवेदन दिएको हुलाकी सडक निर्देशनालयले जनाएको छ । एक महिनाअघि निर्माण कम्पनीले सडक विभागमा पुनः पुलको डिजाइन पेश गरिसकेको छ । स्वीकृत भइसकेपछि पुल पुनर्निर्माण चाँडै सुरु हुने प्रमुख महतो बताउँछन् ।

‘निर्माण कम्पनीले पुनः डिजाइन एक महिना अघि विभागमा पेश गरिसकेको छ । एक÷दुई हप्ता भित्रै स्वीकृत हुन सक्छ’ उनले भने ‘स्वीकृतिलगत्तै पुनर्निर्माणको काम सुरु हुन्छ ।’

उनका अनुसार पुल भासिएकै ठाउँमा पुनर्निर्माण हुनेछ । कम्पनीले आफ्नै खर्चमा पुल पुनर्निर्माण गर्नेछ । सञ्चालनमा आएको पाँच वर्षसम्म कुनै क्षति भए कम्पनीले नै बनाउनुपर्ने सम्झौता भएको थियो ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?