+
+

७ महिनामा झण्डै ५ लाख युवा विदेशिए

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १८:३९
फाइल तस्वीर

१० फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महिनामा झण्डै ५ लाख युवा वैदेशिक रोजगारीका लागि विदेश पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार साउनदेखि माघसम्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने र श्रम स्वीकृति नवीकरण गर्नेको संख्या ४ लाख ८२ हजार ४७५ पुगेको छ ।

यो वर्ष ७ महिनामै नयाँ अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको संख्या मात्रै ३ लाख १४ हजार ७६७ जना पुगेको छ । माघ महिना मात्रै ३९ हजार १२४ जना युवा वैदेशिक रोजगारीमा नयाँ श्रम स्वीकृति लिएर गाएका छन् ।

यो अवधिमा १ लाख ६७ हजार ७०८ पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेश उडेको वैदेशिक रोजगार विभागको तथ्यांकमा देखिन्छ ।

माघ महिनामा २५ हजारभन्दा धेरै युवाले श्रम स्वीकृति नवीकरण गरेका छन् । यसमा भिजिट भिसामार्फत अवैध रुपमा विदेश जाने र भारतीय बाटो भएर वैदेशिक रोजगारीमा जानेको संख्या सामेल छैन । यो अवधिमा मलेसियमा सबैभन्दा धेरै १ लाख ८२ हजार युवा कामका लागि पुगेको देखिन्छ ।

यो वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षको तुलनामा १ लाख ३० हजारले बढेको छ । गत वर्ष यसतै अवधिमा ३ लाख ५२ हजार ४२३ युवा विदेशिएका थिए । नयाँ श्रम स्वीकृति लिएर विदेशिनेको संख्या २ लाख १०२ मात्रै थियो भने पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ५२ हजार ३२५ थियो ।

वैदेशिक रोजगारीमा जानेको संख्यासँगै यो वर्ष रेमिट्यान्स आम्दानी पनि बढेको छ । यो वर्ष पुससम्म मात्रै रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।

६ महिनामा ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५ प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?