+

बालबच्चालाई पनि ‘टेन्सन’ हुन्छ ?

२०७९ फागुन  १३ गते ९:२० २०७९ फागुन १३ गते ९:२०
बालबच्चालाई पनि ‘टेन्सन’ हुन्छ ?

काठमाडौं । अंग्रेजी शब्द ‘टेन्सन’ नेपालीहरुले दैनिक जीवनमा धेरै प्रयोग गर्नेमध्ये शब्द हो भन्दा फरक पर्दैन । यसको नेपाली शब्द तनाव हो । तर शिक्षितदेखि निरक्षर सबैले भनिरहेका हुन्छन्- मलाई टेन्सन छ ।

पढाइको चाप थेगिरहेका किशोरकिशोरी, करिअरका लागि दौडधुप गरिरहेका युवायुवती, घरगृहस्थी सम्हालिरहेका वयस्क, दीर्घरोगले सताएका वृद्धवृद्धाले हरेक पटक ‘टेन्सन भो’ भनिरहेको सुनिन्छ ।

एक हिसाबले थेगोजस्तै नै बनेर बालबच्चमा पनि यो शब्द सरेको छ । बालबच्चा पनि हिजोआज टेन्सन भन्न थालेको देखिन्छ । के बालबच्चालाई पनि टेन्सन हुन्छ ?

टेन्सन युवा, ज्येष्ठ नागरिक र बच्चा सबै उमेरलाई हुनसक्ने मनोविद् विनोद पौडेल बताउँछन् । ‘धेरै अभिभावकलाई बच्चालाई त के टेन्सन हुन्छ र भन्ने लाग्न सक्छ । तर बच्चाहरूलाई पनि उमेरअनुसार विभिन्न टेन्सन हुन्छ,’ उनी भन्छन् ।

बेलायतमा भएको एक अध्ययनअनुसार १४ वर्ष उमेरसम्मका चार जना बालबालिकामध्ये एक जनाले टेन्सनका कारण आफैंलाई चोट पुर्‍याउँछन् । ‘द चिल्ड्रेन्स सोसाइटी’ले अनुसन्धानमा यो उमेरका ७६ हजार केटी र ३३ हजार केटाले एक वर्षमा कुनै न कुनै रूपमा आफूलाई चोट पुर्‍याएको पत्ता लगाएको छ ।

बच्चाहरूले कहिलेकाहीं मलाई त कस्तो टेन्सन भयो भने अभिभावकले के कारणले टेन्सन भयो भनेर सोध्नुको साटो यत्रो सानो उमेरमा तिमीहरूलाई केको टेन्सन भनी दिन्छन् । यसले बच्चालाई झन् टेन्सन थपिदिने पौडेल बताउँछन् ।

‘बच्चा विद्यालय जाने भएदेखि नै उनीहरूमा टेन्सन हुन थाल्छ । घरमा अभिभावकसँग हुर्किरहेको बच्चा अभिभावक छोडेर विद्यालय जानुपर्दा उसलाई तनाव हुन्छ,’ पौडेल भन्छन्, ‘विद्यालय जान थालेपछि शिक्षक, साथी र पढाइको कुराले बच्चालाई टेन्सन हुन्छ ।’

उमेर बढ्दै गएपछि किशोरावस्थामा प्रवेश गर्ने बेलामा आफूसँगै साथीहरूको शारीरिक र मानसिक विकास आफ्नोभन्दा तेज भयो भने पनि बच्चालाई टेन्सन हुन्छ । उमेर बढेसँगै विभिन्न तहमा बच्चाहरूलाई तनाव हुने पौडेल बताउँछन् ।

बालबच्चामा मुख्यतः दुई प्रकारको तनाव हुन्छ ।

सकारात्मक टेन्सन

बच्चाहरूमा हुने सकारात्मक टेन्सनलाई ‘यु स्ट्रेस’ भनिन्छ । परीक्षा बच्चाको लागि सकारात्मक टेन्सन भएको पौडेल बताउँछन् । ‘परीक्षाले बच्चालाई टेन्सन त दियो तर त्यो टेन्सनबाट छुटकारा पाउन उसले अभिभावक, शिक्षक र साथीको सहयोग लिन्छ । पढ्नका लागि धेरै समय छुटाउँछ,’ उनी भन्छन्, ‘जसले गर्दा उसले परीक्षामा राम्रो नतिजा ल्याउँछ । सकारात्मक टेन्सनले कार्यसम्पादनलाई बढाएर लैजान्छ ।’

नकारात्मक टेन्सन

बच्चामा नकारात्मक टेन्सन पनि हुन्छ, जसलाई ‘डिस्ट्रेस’ भनिन्छ । बच्चालाई परीक्षाको चिन्ता भयो त्यो चिन्ताले गर्दा उसलाई टेन्सन भयो तर त्यो टेन्सनलाई उसले व्यवस्थापन गर्न सकेन भने त्यो नकारात्मक टेन्सनमा परिणत हुने पौडेल बताउँछन् ।

‘अरूले पढे होलान् मैले त पढेको छैन । मलाई त केही लेख्न आउँदैन भनेर टेन्सन लिइन्छ भने त्यो नकारात्मक टेन्सनले गर्दा यसमा शारीरिक र मानसिक असर देखिन थाल्छ,’ पौडेल भन्छन् । नकारात्मक टेन्सनको कारण निद्रा नलाग्ने, खानामा रुचि नहुने, सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिन थाल्छ ।

बच्चालाई तनावमुक्त कसरी राख्ने ?

– निद्राले कुनै पनि व्यक्तिको मुडलाई असर गर्छ । बच्चा राम्ररी निदाउन पाएन भने उसमा चिडचिडापन र उदासी देखा पर्छ । त्यसैले बच्चालाई पर्याप्त सुत्न दिनुपर्छ ।

– टेन्सन कम गर्न, बच्चालाई केही खेल वा व्यायाम गर्न उत्प्रेरित गर्नुपर्छ । जुन काममा शरीरले थकान महसुस गरोस् र अनावश्यक कुरा सोच्ने समय नपाओस् ।

– यदि बालबालिकाले आमाबुबालाई टेन्सनमा देखे भने उनीहरूलाई पनि टेन्सन हुन थाल्छ । त्यसैले बच्चाको अगाडि अभिभावक चिन्तित भएर नबस्ने । उनीहरूसँग कुरा गरेर खेलेर आफूलाई पनि चिन्तामुक्त बनाउने र बच्चालाई पनि ।

– बालबालिका टेन्सनमा भए भने उनीहरूले आफ्नो खानामा पनि ध्यान दिंदैनन् । स्वादिलो र पोषिलो खाना बनाएर दिइयो भने त्यसले पनि उनीहरूको टेन्सन कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

– बालबच्चालाई रुचि भएको काम गर्न दिनुपर्छ । जस्तै, संगीत सुन्ने, फिल्म हेर्ने वा खेल खेल्ने कार्य गर्न दिनुपर्छ । रुचि भएको काम गर्न पाए भने उनीहरूको टेन्सन कम हुन्छ । उनीहरूसँग हाँसखेल गरेर घरको वातावरणलाई राम्रो बनाउँदा पनि टेन्सन कम हुन्छ ।

– बालबच्चाको कमजोरी मात्र देखाउनुभन्दा उनीहरूले गरेको राम्रो कामको प्रशंसा गर्नुपर्छ । यो भन्दा अझै राम्रो गर्न सक्छौ भनेर हौसला दिइयो भने पनि बच्चाको टेन्सन कम हुन्छ ।

टेन्सन बालबच्चा
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सिड्नीमा दोस्रो पटक चक्कु प्रहारको घटना, प्रहरीले भन्यो ‘आतंकवादी’ हमला

सिड्नीमा दोस्रो पटक चक्कु प्रहारको घटना, प्रहरीले भन्यो ‘आतंकवादी’ हमला

७ लक्षण, जुन गर्भावस्थामा जोखिमपूर्ण हुन्छ

७ लक्षण, जुन गर्भावस्थामा जोखिमपूर्ण हुन्छ

बिर्सने समस्या रोग पनि हुनसक्छ (भिडियो)

बिर्सने समस्या रोग पनि हुनसक्छ (भिडियो)

गर्भावस्थामा मोटोपन भए के-के समस्या हुनसक्छ ? (भिडियो)

गर्भावस्थामा मोटोपन भए के-के समस्या हुनसक्छ ? (भिडियो)

भान्छाको औषधि प्याज

भान्छाको औषधि प्याज

गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?

गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?