+
+

भलिबललाई आफ्नो पहिलो प्रेम मान्ने उषा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १३ गते ६:१०

१३ फागुन, काठमाडौं । भाग्य होस त उषा भण्डारीको जस्तो । अरू परिवारमा भए, आफ्ना छोरीछोरीले अर्कै केही बाटो रोजे हुन्थ्यो भन्ने इच्छा हुँदो हो ।

उषाको परिवार चाहन्थ्यो, आफ्ना छोरी खेलाडी नै होस । अहिले पनि उनीसँग बुबा गजेन्द्र भण्डारीसँगै परिवारको त्यो जमात छ, जसले छोरीको खेल जीवन सफल होस भनेर दिनरात लागिरहेको हुन्छ । त्यसैले पनि उषा भन्छिन्, ‘मेरो लागि त परिवार नै सबथोक ।’

हामी कुरा गरिरहेका छौं, भलिबलको उदयमान १८ वर्षीय खेलाडी उषाको ।

सुन्दर छिन् उनी । मन्द मुस्कान गज्जब छ । उनी नेपाली महिला भलिबलमा ग्ल्यामर भित्र्याउन पनि उत्तिकै सक्षम छिन् । खेल क्षेत्रलाई यो चाहिन्छ पनि । परिवारमा उनी सबैभन्दा कान्छी त भइन नै, भलिबलकी पनि उनी कान्छी नै हुन् ।

सैले मायाले कान्छी भन्दा मख्ख पनि पर्छिन् । हल्का पुलपुलिएर हुर्केकी थिइन्, परिवारको एउटै इच्छा थियो, आफ्ना यिनै छोरीले खेलेर देशको नाम राखोस । अब कोही खेलाडीले यो भन्दा बढी के नै चाहन्छन् र भने ?

तनहुँकी उषा पुलिसबाट खेलिन्छन् र पुलिसले पछिल्लो समय प्राप्त गरेका सफलतामा उनी एक प्रमुख खेलाडी हुन् । ओपन स्पाइकरको भूमिकामा खेल्छिन् । उचाइ रहेको छ, पाँच फिट सात इञ्च भन्दा केही बढी । ‘जम्प’ पनि गज्जब छ ।

एक प्रकारले अलराउन्डर पाराकी खेलाडी हुन् । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेफ स्पोर्टस अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्डका लागि पाँच खेलाडीको नाम मनोनयन गरेकोमा यसपल्ट उनी पनि परेकी छिन् ।

मनोनयनमा पर्ने अन्य खेलाडीमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ सेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवान लामा रहेका छन् । जति बेला यसबारे उनले पहिलो पल्ट जानकारी पाए, घरमा आराम गरिरहेकी थिइन् । लाग्यो, सपना हो । अभैm लाग्छ, यो सपना नै हो । तर उनलाई के पनि थाहा छ भने उनले सपना देखेकी पनि थिइन्, कुनै दिन यो अवार्डको मनोनयनमा पर्ने । भन्छिन्, यो होडमा नेपाली भलिबल, यसका प्रशंसक र अनि पुलिस परिवार उनको साथमा हुनेछ नै ।

सानोमा उनको रूचि अरू मै खेलमा थियो, बुबाले भलिबलमै डोहोर्‍याए । बुबालाई लागेको थियो, यो खेलमा उनको भविष्य छ । नभन्दै उनी सन् २०१९ आइपुग्दा नपुग्दै राष्ट्रिय टिममा परिन । अवसर थियो, १३ औं दक्षिण एसियाली खेलकुद ।

उनी भर्खर १४ वर्षकी थिइन् । त्यही उमेरमा ऐतिहासिक रजत पदक जितिन् । सन् २०२१ यता त उनी राष्ट्रिय टिमकी नियमित सदस्य भएकी छिन्, नियमित मात्र होइन्, महत्वपूर्ण पनि । पुलिसलाई च्याम्पियन बनाउनको उनको योगदानबारे त कति मात्र चर्चा गर्ने ?

त्यही वर्ष बंगलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन भलिबलमा नेपाल च्याम्पियन हुँदा त्यसकी प्रमुख सदस्य थिइन् । नेपाली महिला भलिबल वृत्तमा उनीबारे चर्चा छेडिनु पर्छ, सुन्न पाइन्छ, उनी यो खेलमा ‘लामो रेसका घोडा’ हुन ।

उनले अझै लामो समय खेल्न सक्छिन्, अझ उनीबाट राष्ट्रिय टिममा कुनै न कुनै दिन कप्तानको पनि अपेक्षा गर्न सकिन्छ । साँच्चै नेपाली भलिबलका लागि धेरै योगदान दिन सक्ने बाटोमा छिन्, उषा ।

माल्दिभ्समा व्यावसायिक भलिबल खेलेको पनि उनीसँग अब राम्रै अनुभव भइसकेको छ । माल्दिभ्समा उनी कति धेरै लोकप्रिय छिन् भने उनको नाम लिएर समर्थकहरू खुसीले झुम्ने गर्छन् ।

केही बेर उनीसँग भलाकुसारी गर्नु पर्छ, साहै मिजासिला देखिन्छिन् । उनी भन्छिन्, ‘मन मिल्नेसँग साह्रै नजिकिने बानी पनि छ ।’ उनी आफ्ना आमा बुबाको सबैभन्दा नजिक छन् नै, अचेल भलिबललाई आप्mनो पहिलो प्रेम पनि मान्छिन् । अब उनलाई पिपुल्स च्वाइस अवार्डमा उनलाई विजेता बनाउने काम तपाई खेल प्रेमीको हो, धेरै भन्दा धेरै मत दिएर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?