+
+
समाचार टिप्पणी :

ओलीले सहमति पालना नगरेको आरोप लगाउने प्रचण्डतिर फर्किएको सोही प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते २१:३७

१२ फागुन, काठमाडौं । अघिल्लो संसदकालमा तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले आलोपालो सहमतिको वचनमा अडिग नभएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कारबाही प्रस्ताव गरेका थिए ।

२०७४ को चुनावअघि दुई नेताबीच आलोपालो प्रधानमन्त्री बन्ने गरी सहमति भएको थियो, जसप्रति ओली इमानदार नभएको प्रचण्ड लगायत नेताहरुको जिकिर थियो ।

तिनै प्रचण्डलाई अहिले ओलीले प्रधानमन्त्री प्रस्ताव गर्दै सत्ता भागबण्डा गरेका थिए । चुनावका बेला कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा तयार नभएपछि प्रचण्ड बालकोट पुगेका थिए । उनी एमाले, रास्वपा, राप्रपा लगायत दलको तर्फबाट प्रधानमन्त्री बनेका थिए ।

उनी कार्यकारी प्रधानमन्त्री बन्दैगर्दा राष्ट्रपति एमालेले पाउने सहमति बनेको थियो । सभामुखमा आलोपालो गर्ने सहमति उनीहरुले गरेका थिए । पुस १० गते भएको उक्त सहमति सोही महिनाको २६ गतेयता खण्डित हुने आशंका पैदा भएको थियो । देउवाले दिएको विश्वासको मतलाई ओलीले ढोक्सा थापिएको अर्थ लगाउँदै त्यस्तो रणनीतिले माछा नपर्ने चेतावनी दिएका थिए ।

आखिर ओलीले आशंका गरेजस्तै भयो । अनि कांग्रेसले अघि सारेको रणनीति कामयाब पनि देखियो । सत्ता गठबन्धन गरेको दुई महिना नबित्दै प्रधानमन्त्री प्रचण्ड फरक फर्केर पुरानै समीकरणतर्फ फर्केका छन् ।

ओलीसँगको आधा आधा कार्यकालमा नटिकेर यसपल्ट प्रचण्डले किन कोर्स बदले त ?

अनलाइनखबरसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार बनेलगत्तै एमालेसँग अन्तरविरोध सुरु भइसकेको भन्दै आफ्नो अहिलेको निर्णयको बचाउ गर्न खोजे । प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रधानमन्त्रीका रुपमा मैले स्वायत्त ढंगले काम गर्ने अवस्था नबन्ने खतरा पैदा भयो । मैले ओलीजीलाई सहकार्यकै बाटोमा हिंडाउन खोजें । तर उहाँ तयार देखिनुभएन । बरु यो प्रचण्डले नेतृत्व गरेको आफ्नो सरकार जस्तो गरी बाहिर लगियो । त्यो उचित थिएन ।’

संसदमा ओलीले पहिलेको संसद विघटन उचित भनी अर्थ्याउन खोजेपछि अब सहकार्य कठिन भयो भन्ने आफूलाई परेको उनले बताए । ओलीले पछिल्लो समय राजावादीहरुसँग हिमचिम बढाएकोमा आफू असन्तुष्ट रहेको भनेर उनलाई बताएको प्रचण्डले सुनाए ।

प्रधानमन्त्रीले यति भन्दाभन्दै पनि आजको उनको कदमले नियन्त्रित अस्थिरताकै पुरानो राजनीतिक दशातिर देशलाई लैजाने हो कि भन्ने आशंका पैदा भएको छ । पछिल्ला कतिपय कूटनीतिक मन्त्रणाहरु समेत यसका लागि सहयोगी बन्न गएको आशंकालाई बल दिने गरी नयाँ राजनीतिक मार्गचित्र तयार भएको छ ।

सम्भवतः अब कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल राष्ट्रपति बन्नेछन् ।

योसँगै राजनीतिका चतुर खेलाडीका रुपमा देखिएका ओलीलाई सत्ता रणनीतिमा धक्का लाग्न गएको छ । अब उनीसँग रास्वपा, राप्रपाजस्ता शक्ति मात्रै साथमा छन् । नयाँ गठबन्धन तयार भएपछि सम्भवतः एमालेले सरकार छाड्नेछ । यसको असर प्रदेशका सरकारहरुमा समेत पर्न सक्छ ।

एमालेले यसलाई राजनीतिक अस्थिरताको सुरुवात भनी अर्थ्याएको छ ।

सबैभन्दा मुख्य कुरा यसले विगतमा एमालेमाथि सहमति पालना नभएको भनी आरोप लगाएका प्रचण्डमाथि आफ्नो आजको निर्णयको औचित्य प्रमाणित गर्ने दबाब पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?