+
+

नयाँ गठबन्धनको भागबण्डा : प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०७९ फागुन १२ गते २२:४०

१२ फागुन, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका दलले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णयसँगै १० पुसमा बनेको सत्ता गठबन्धन भत्किएको छ र, ८ दलको नयाँ गठबन्धन बनेको छ ।

शुक्रबार बिहान कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीको बैठक राखेका प्रधानमन्त्री प्रचण्डले दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका थिए । साँझ ५ बजे सुरुमा बिहान बसेका चार दलको बैठक बस्ने र ६ बजे अरु चार दल थपिएर ८ दल हुने तय भएको थियो ।

तर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले अध्यक्ष ओलीलाई भेट्न गएका कारण ढिला आए । चार दलको बैठक बस्न सकेन र एकैपटक जनमत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाका नेताहरु समेतको सहभागितामा ८ दलको बैठक सुरु भयो ।

बैठकको सुरुमा प्रधानमन्त्री प्रचण्डले संसदको सबभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने प्रस्ताव गरे । जबकि बिहान भएको छलफलमा एकीकृत समाजवादीले राष्ट्रपतिमा दाबी गरेको थियो भने जसपाका अध्यक्ष उपेन्द्र यादवसँगै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले समर्थन गरेका थिए । कांग्रेस नेताहरुले भने आफ्नो दलले राष्ट्रपति नपाउने हो भने कसरी सहमति होला भनेर अस्वीकार गरेको थियो ।

तर ८ दलको बैठकमा प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गर्नासाथ एकीकृत समाजवादीका अध्यक्ष नेपालले समर्थन गरे । अरु दलले पनि समर्थन गरे, कांग्रेस नेताहरुले धन्यवाद दिए । ८ दलको बैठक केहीबेरमै सकियो । एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले सञ्चारकर्मीहरुसँग भने, ‘राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने टुंगो लागेको छ । उम्मेदवारका सन्दर्भमा कांग्रेसले निर्णय गर्छ ।’

जनमत, लोसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाका नेताहरु बाहिरिएपछि बाँकी चार दलको फेरि बैठक बस्यो । छलफलका क्रममा नेताहरुले पावर शेयरिङबारे छलफल गर्न प्रचण्ड, देउवा र माधव नेपाललाई आग्रह गरे ।

तीन नेता झण्डै ४० मिनेट छुट्टै बसे । छलफलपछि तीनै नेता प्रसन्न मुद्रामा आए, बैठक सकियो ।

स्रोतका अनुसार तीन नेता (प्रचण्ड, माधव नेपाल र देउवा)बीच प्रधानमन्त्रीमा आलोपालो गर्ने समझदारी भएको छ । ४ मंसिरको चुनाव मिलेर लडेका तीन नेताबीच २/२/१ वर्षको आलोपालो सरकारको नेतृत्व गर्ने भएको थियो । तर देउवा र प्रचण्डमध्ये को पहिला प्रधानमन्त्री बन्ने भन्ने विवादका कारण गठबन्धन भत्कियो । प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बन्न पुगे ।

१० पुसमा प्रचण्ड प्रधानमन्त्री बन्दै गर्दा पनि एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुखमा आलोपालोको सहमति भएको थियो । दुई दलबीच साढे २ वर्षमा एमालेले सभामुख छाडेपछि प्रचण्डले प्रधानमन्त्री छाड्ने र एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्ने समझदारी भएको थियो । त्यही सहमति अनुसार एमालेबाट सांसद जितेका देवराज घिमिरे ५ माघमा सभामुख भए ।

त्यो बेलामा राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो । २६ पुसमा कांग्रेसले विश्वासको मत दिएसँगै माओवादीको बोली फेरियो । संसदको अधिकांश दलले प्रधानमन्त्रीलाई समर्थन गरेकाले राष्ट्रिय सहमति गर्नुपर्ने माओवादीको तर्क थियो । पार्टीबाटै राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने निर्णय गराएका प्रधानमन्त्री प्रचण्ड कांग्रेस नेताहरुसँग निरन्तर सम्वादमा बसे । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सहकार्यमा असुरक्षित ठानेका उनलाई कांग्रेस नेताहरुले धोका नहुने आश्वासन दिए, प्रचण्डले राष्ट्रपतिको वचन दिए ।

शुक्रबार ८ दलको बैठकमा पनि उनी आफैंले कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गरेका हुन् । स्रोतका अनुसार अहिले पनि प्रचण्डले साढे २ वर्ष सरकार चलाउने समझदारी जस्तै छ । त्यसपछि माधव नेपाल र अन्तिममा देउवा प्रधानमन्त्री हुने समझदारी बनेको छ । ‘कार्यकाल साढे २ वर्ष, १ र साढे १ वर्ष हुनसक्छ । यसबारे भोलिका दिनमा पनि छलफल होला’ एक नेता भन्छन्, ‘प्रचण्डपछि माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने चाहिं पक्कापक्की भएको छ ।’

यद्यपि नेताहरु औपचारिक रुपमा बोल्न तयार छैनन् । एमाले सरकारमै रहेकाले प्रधानमन्त्रीमा आलोपालो र सरकारमा सहभागिताबारे एजेण्डा बनाएर छलफल नगरेको नेताहरु बताउँछन् । एक नेताका अनुसार राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने शुक्रबारको निर्णयसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ भन्ने साझा बुझाइ छ । ‘भरे भोलि एमालेले समर्थन फिर्ता लिएपछि सरकारबारे खुलेर छलफल हुन्छ’, एक नेताले सुनाए ।

नेताहरुका अनुसार जसपाले उपराष्ट्रपति र माओवादीले राष्ट्रिय सभा अध्यक्ष पाउने पक्का जस्तै छ । उपराष्ट्रपतिको चुनाव ३ चैतका लागि तय भएको छ भने राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाको कार्यकाल अर्को वर्ष फागुनमा सकिनेछ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुख भने फेरिने छैन । एमालेका घिमिरे सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर उपसभामुख छन् । सभामुख/उपसभामुखलाई हटाउन दुई तिहाइ चाहिन्छ, राप्रपा र एमाले एकठाउँमा उभिनासाथ ८ दलीय गठबन्धनसँग संसदको दुई तिहाइ हुने छैन ।

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?