+
+
राष्ट्रपति निर्वाचन :

देउवा दाहिना हुँदा कांग्रेसमा रामचन्द्र सर्वसम्मत

लिलु डुम्रे लिलु डुम्रे
२०७९ फागुन १३ गते १९:११

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । कार्यसम्पादन समितिको निर्णयअनुसार पौडेलले शनिबार नै उम्मेदवारी दर्ता गराएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवालाई दायाँबायाँ राखेर संघीय संसद भवनको ल्होत्से हलमा पुगेका पौडेलको प्रस्तावक र समर्थकमा ८ दलीय गठबन्धनका नेताहरु छन् ।

प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवाका साथै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाका अशोक राई र जनमत पार्टीका अब्दुल खान छन् ।

समर्थकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन् ।

८ दलबीच शुक्रबार राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने सहमति जुटेको थियो । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल नै बलिया उम्मेदवार थिए, एक्ला भने होइनन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले निकै लबिङ गरेका थिए भने गोपालमान श्रेष्ठ, मानबहादुर विश्वकर्माले पनि रुची देखाएका थिए ।

तर कार्यसम्पादन समिति बैठकमा सभापति देउवाले पौडेलको नाम प्रस्ताव गरे र उनकै नाममा सहमति जुट्यो ।

एक पदाधिकारीका अनुसार कार्यसम्पादन बैठकअघि देउवाको कार्यकक्षमा नेताहरुबीच छलफल भएको थियो, जहाँ उपसभापति पूर्णबहादुर खड्काले पुस १० मा गठबन्धन भत्किएपछि राष्ट्रपतिमा कांग्रेसले माओवादीसहितका दलको समर्थन पाउने अवस्था कसरी आयो भनेर ब्रिफिङ गरे । निरन्तरको छलफल, त्यसअनुसार कांग्रेसले गरेको व्यवहार र सत्तारुढ गठबन्धनमा प्रधानमन्त्री प्रचण्डले महसुस गरेको असहजताका कारण यो अवस्था बनेको उनको ब्रिफिङ रहेको एक नेताले सुनाए ।

कार्यसम्पादन समितिमा भने सभापति देउवाले नै पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव गरे । कृष्ण सिटौला, गोपालमान श्रेष्ठ, मानबहादुर विश्वकर्माको पनि आकांक्षा राखेको भए पनि पौडेललाई उम्मेदवार बनाउने उनको प्रस्ताव थियो । एक नेताका अनुसार देउवाले अरु नेताहरुको नाम भन्दै गर्दा केन्द्रीय सदस्य सुजाता कोइरालाले ‘मेरो पनि’ भनेकी थिइन् ।

तर पौडेललाई उम्मेदवार बनाउने देउवाको प्रस्तावमा कसैले विरोध गरेनन् । ‘सभापतिले रामचन्द्रको नाम प्रस्ताव गर्नुभयो । रामचन्द्रले धन्यवाद दिएपछि बैठक सकियो’, बैठकमा सहभागी नेता भन्छन् । केन्द्रीय सदस्य एनपी साउद पनि अरु नेताले राष्ट्रपतिको उम्मेदवारमा दाबी गर्ने नगरेको बताउँछन् ।

एक पदाधिकारीका अनुसार सभापति देउवाले कार्यसम्पादनको बैठक अघि सिटौलालाई भेटेका थिए । देउवाले शनिबार विहान नै नेता सिटौलालाई आफ्नो निवास, धुम्बाराहीमा बोलाएर राष्ट्रपतिको उम्मेदवार बनाउन नसक्ने प्रष्ट सन्देश दिएका थिए । शीर्ष तहका एक नेता भन्छन्, ‘सभापतिको प्रस्तावमा सन्तुष्ट हुनुहुन्नथ्यो, तर पार्टीमा विवाद गर्ने पक्षमा नहुनु भएकाले उहाँ (सिटौला) ले बैठकमा दाबी गर्नुभएन ।’

प्रधामन्त्री प्रचण्ड राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्न तयार देखिएपछि कतिपय नेताले सभापति देउवा आफैंलाई उम्मेदवार बन्न सुझाएका थिए । नेताहरुका अनुसार देउवा नै अघि सरेको भए पौडेलले आकांक्षा त्याग्नुपर्ने थियो । तर देउवाले इच्छा देखाएनन्, निरन्तर पौडेललाई नै उम्मेदवार बनाउने भनिरहे ।

९ माघमा बसेको शीर्ष नेताको बैठकमा देउवा आफैंले सिटौला आकांक्षी रहेको देउवाले सुनाएका थिए । त्यसलगतै उनले राजनीतिक दौडधुप पनि बढाएका थिए । सिटौलाले शीर्ष तहका सबैजसो नेताहरुलाई भेटेर आफ्नो आकांक्षा सुनाएका थिए ।कांग्रेस नेताहरुसँग भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत सिटौलाको नाम लिने गरेका थिए । तर देउवाले आफूले रामचन्द्र पौडेललाई बचन दिइसकेकाले सिटौलालाई उम्मेदवार बनाउन नसक्ने बताएको स्रोतहरुको दाबी छ ।

तर देउवा दाहिना भएपपिछि रामचन्द्रलाई कुनै सकस भएन । अघिल्लो वर्ष मंसिरमा भएको पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवार नबनेर देउवालाई सघाएका पौडेल गते पुसमा भएको संसदीय दलको चुनावमा त प्रस्तावक नै बसेका थिए । देउवा समूहका नेताहरुले त्यही बेला पौडेललाई राष्ट्रपति बनाउने बचन दिएका थिए ।

तर १० पुसमा प्रचण्ड कि देउवा को पहिला प्रधानमन्त्री हुने भन्ने विवादका कारण गठबन्धन भत्कियो । प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट लागेपछि निराश पौडेलले प्रतिक्रिया दिए, ‘हाम्रो हातबाट सबैथोक जान्छ कि भन्ने डर छ ।’

दुई महिनामै अवस्था फेरिएको छ । सक्रिय राजनीतिक जीवनको उत्तरार्धमा ‘सबैथोक’ अर्थात राष्ट्रप्रमुख पद प्राप्ति नजिक पुगेका छन् । अहिले बनेको समिकरणमा कुनै उलटपुलट नभए २५ फागुनमा उनी राष्ट्रपति बन्ने पक्का जस्तै छ । त्यसलाई बुझेका पौडेल भन्छन्, ‘संविधानले नेपाली जनतामा जुन अभुतपूर्व अधिकार प्रदान गरेको छ, त्यसको रक्षा गर्नका निम्ति आएको छु ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?