+
+

‘समय घर्किएपछि’ राष्ट्रपति उम्मेदवार बने सुवास नेम्वाङ

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०७९ फागुन १३ गते १९:५३

१३ फागुन, काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । पार्टी सचिवालयको निर्णयअनुसार नेम्बाङले संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् । नेम्बाङको प्रस्तावक र समर्थकमा एमाले सांसदहरु मात्र छन् ।

जबकि १० पुसमा भएको सहमति कायमै रहेको भए नेम्बाङलाई सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, जनता समाजवादी पार्टी (जसपा), जनमत र नागरिक उन्मुक्तिको साथ हुनुपर्थ्यो । किनकि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गर्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको छलफलमा राष्ट्रपति पद एमालेले लिने सहमति भएको थियो ।

तर माओवादी केन्द्रसँगै जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका सांसदहरु कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको समर्थक–प्रस्तावक बसेका छन् । शुक्रबार बालुवाटारमा भएको ८ दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले नै कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गरेका थिए, जसमा अरु दलले समर्थन गरेका थिए ।

यो समीकरणमा तलमाथि नभए २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवार पौडेल जित्ने पक्का छ । किनकि संघीय र प्रदेश सांसद मतदाता रहने राष्ट्रपति निर्वाचनमा जितका लागि २६ हजार ३९४ मतभार चाहिन्छ, अहिलेको समीकरणमा पौडेलसँग ३२ हजार १२३ मतभार छ ।

चुनावी अंकगणित अनुकूल नभए पनि एमालेले पूर्व सभामुख नेम्वाङलाई नै उम्मेदवार बनाएको छ । एमालेका एक पदाधिकारीका अनुसार, पार्टी कार्यालय, च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्ड १० पुसमा भएको सहमतिमा कायम नभएको ब्रिफिङ गरेका थिए । प्रचण्ड दबावमा परेको र कांग्रेसको साथ लागे मात्र सुरक्षित हुन्छु भन्ने निष्कर्षका साथ एमालेसँग भएको सहमतिलाई छाडेर गएको ओलीले सुुनाएका थिए ।

राष्ट्रपतिका लागि आफूहरुले गरेको प्रस्ताव अस्वीकार गरेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि अवसर गुमाएको उनको निष्कर्ष थियो । संविधानको रक्षा र राष्ट्रपति पदको गरिमा कायम राख्न नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव राखे, त्यही निर्णय भयो ।

तर ढिला भयो

प्रधानमन्त्री प्रचण्ड र उनको दल माओवादी केन्द्रले १० पुसमा भएको सहमति तोडेपनि एमालेले सरकार छाडेको छैन । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारबारे निर्णय राष्ट्रपति निर्वाचनपछि मात्र हुन्छ । किन त भन्ने प्रश्नमा उनले भने, ‘२५ गतेसम्म धेरै कुरा पाक्छ होला ।’

अर्थात् एमालेले राष्ट्रपति चुनावमा आश मारेको छैन । १० पुसमा एमालेलाई राष्ट्रपति दिन सहमत भएका सबै दलले आफ्नो प्रतिवद्धता पूरा गर्ने विश्वास लिएको एमाले अध्यक्ष ओली पनि बताउँछन् । राष्ट्रपतिमा नेम्बाङको उम्मेदवारी दर्तापछि संघीय संसद भवनमा सञ्चारकर्मीसँग उनले भने, ‘आफ्ना वचनबाट कोही पनि पछि हट्ने काम हुन सक्दैन भन्ने हाम्रो धारणा छ ।’

८ दलले नयाँ गठबन्धन बनाइसके नि भन्ने प्रश्नमा प्रधानमन्त्रीले बोलाएर केही नेताहरु बसेको उनले बताए । ‘राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने प्रचण्डजीले कसरी भन्नुभयो, त्यो उहाँको कुरा हो’ उनले भने, ‘गठबन्धन पनि छैन, गठबन्धनको निर्णय केही छैन । कहीं बिग्रिएको छैन । २५ गते थाहा पाउनुहुन्छ ।’

एमालेले शनिबार नै कांग्रेसबाहेक दलका अध्यक्षलाई पत्र लेखेर आफ्ना उम्मेदवार नेम्वाङलाई समर्थन गर्न आग्रह गरेको छ । थप छलफल गर्दै जाने र राष्ट्रपति निर्वाचनसम्म पुग्दा अवस्था फेरिसक्ने नेताहरु बताउँछन् । एमाले नेताहरुका अनुसार, १० पुसको सहमति र नेम्बाङको व्यक्तित्वका कारण माओवादी केन्द्रबाट भोट क्रस गराउन सक्ने एमालेको विश्वास देखिन्छ ।

कांग्रेस नेतृत्वको गठबन्धनमा नगएका रास्वपा र राप्रपाको समर्थन नेम्वाङले पाउनेमा एमाले आशवादी छ । केही साना दलको समर्थन जुटाउन सके चुनावी परिणाम तलमाथि हुनसक्ने एमाले नेताहरुको दाबी छ ।

माओवादी केन्द्रका नेताहरु भने एमालेले नेम्वाङलाई अघि सार्न निकै ढिला गरेको बताउँछन् । नेताहरुका अनुसार, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओलीको व्यवहारका कारण सरकार गठनको सुरुवातदेखि नै सन्तुष्ट थिएनन् । ‘कांग्रेसले विश्वासको मत नदिंदासम्म म डिजुरे मात्र हुँ, डिफ्याक्टो त बालकोट नै हो भन्ने उहाँलाई परेको थियो’, एक नेता भन्छन् । २६ पुसमा कांग्रेसले विश्वासको मत दिएपछि सत्ता गठबन्धनमा प्रचण्ड बलिया भए र राष्ट्रिय सहमति खोज्नुपर्ने भन्दै कांग्रेस नेताहरुसँग पनि छलफल थाले ।

माओवादी नेताहरुका अनुसार त्यो बेलासम्म प्रचण्ड, ओलीसँग झस्किएका थिए, तर कांग्रेसको कित्तामा पुगिसकेका थिएनन् । जब ३ माघमा सभामुखका लागि छलफलमा रहेका छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, विद्या भट्टराई लगायतलाई पन्छाएर विश्वासपात्र देवराज घिमिरेलाई उम्मेदवार बनाए, उनी आत्तिए । त्यही कारण माओवादी केन्द्रले १३ माघमै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गर्‍यो ।

माओवादीका एक पदाधिकारीका अनुसार, त्यो निर्णयको उद्देश्य अमूक नेताको विश्वास पात्र होइन, सबैले स्वीकार गर्ने पात्रलाई राष्ट्रपतिको उम्मेदवार बनाउन ओलीलाई दबाव दिने थियो । त्यसबेला माओवादी नेताहरुले अनौपचारिक सम्वादमा सुवास नेम्बाङ, अष्टलक्ष्मी शाक्य जस्ता नेतालाई अघि सारे सहमति जुट्ने संकेत गरेका थिए ।

तर प्रधानमन्त्री प्रचण्डसँग निरन्तर सम्वादमा बसेका ओलीले कहिल्यै उनीहरुको नाम लिएनन् । धेरै जसो सम्वादमा उनी आफूलाई विश्वास गर्न आग्रह गरे । प्रचण्डले नेताहरुलाई सुनाएअनुसार बेलाबेलाका छलफलमा गुरु बराल आफ्नो पहिलो प्राथमिकतामा रहेको सुनाउथे । उनी नभए बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेललाई राष्ट्रपति बनाउनुपर्ने उनको प्रस्ताव हुन्थ्यो ।

ओलीले आफ्नो विश्वास पात्रलाई नै राष्ट्रपति बनाउन चाहेको प्रष्ट सन्देश दिएपछि प्रचण्डले पनि कांग्रेस नेताहरुसँग सम्वाद बढाए । आफ्ना चासो सम्बोधन भए राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने प्रष्ट सन्देश दिए । को पहिला प्रधानमन्त्री हुने भन्ने विवाद गर्दा गठबन्धन भत्किएको र संघदेखि प्रदेशसम्म प्रतिपक्षमा पुगेका कांग्रेसले प्रचण्डको विश्वास जित्न निरन्तर संवाद गरे ।

जब प्रधानमन्त्री र कांग्रेस नेताहरु सहमति नजिक पुगे, ओलीले फेरि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव गरे । शुक्रबार अपराह्न समेत ओलीले नेता नेपाललाई भेटेर राष्ट्रपति बन्न आग्रह गरेका थिए । तर साँझ बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले नै कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव राखे र संसदमा भएका ८ दल सहमत भए ।

त्यसको भोलिपल्ट बल्ल ओलीले नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेका छन् । र, माओवादी केन्द्रसहित १० पुसमा सहमति गरेका दलहरुको समर्थन खोजेका छन् ।

तर कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका दलहरु मात्र होइन, त्यहाँ नभएका राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको समेत साथ एमालेले खोजेको छ । माओवादी केन्द्रका एक पदाधिकारी भन्छन्, ‘बेलामै नेम्बाङको नाम प्रस्ताव गरेर कांग्रेसको पनि सहमति खोजेको भए परिस्थिति अर्कै हुनसक्थ्यो । अब ढिला भयो ।’

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?