+
+

१३ दिने गृहमन्त्री बनेका खगराज साढे २ महिने मुख्यमन्त्री हुने जोखिम

केन्द्रमा बदलिएको सत्ता समीकरणका कारण गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी साढे दुई महिनामै सत्ताबाट हट्नुपर्ने परिस्थितिको निकट छन् । यसअघि केन्द्र सरकारको गृहमन्त्री बनेका बेला उनी १३ दिनमै पदच्यूत भएका थिए ।

अमृत सुवेदी अमृत सुवेदी
२०७९ फागुन १४ गते १०:३४

१४ फागुन, पोखरा । राष्ट्रपति निर्वाचनमा नयाँ ८ दलीय गठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहिरिएको छ भने संघ र प्रदेशबाटसमेत समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ । केन्द्रीय निर्णयअनुसार गण्डकी प्रदेशमा पनि राप्रपा सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिनेबित्तिकै मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको एमाले सरकार अल्पमतमा परिहाल्छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २१, माओवादीका ८ र राप्रपाका २ सांसदले उनलाई विश्वासको मत दिएका थिए । त्यतिबेला एमालेबाट ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बैठक चलाएकाले मत हालेका थिएनन् भने अहिले माओवादीका सभामुख कृष्ण धिताल छन् ।

२ जना प्रदेश सभा सदस्य रहेका राप्रपाबाट पञ्चराम तमु खगराज नेतृत्वको सरकारमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री छन् । तमुले आइतबार राजीनामा बुझाउँदैछन् । राप्रपाले समर्थन फिर्ता लिनेबित्तिकै गण्डकीमा खगराज नेतृत्वको सरकारमा जोखिममा परेको छ । राप्रपाले समर्थन फिर्तालिनेबित्तिकै खगराजको पक्षमा २९ सांसद रहन्छन् ।

संविधानको धारा १ सय ८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ ।

राप्रपाले आइतबारसमर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री खगराज अधिकारीले चैत १४ भित्र विश्वासको मत लिनुपर्ने छ । गण्डकी प्रदेशमा राप्रपाले समर्थन फिर्ता लिनेबित्तिकै खगराजले बाँकी दलबाट विश्वासको मत पाउने सम्भावना कम छ ।

गण्डकीमा कांग्रेस र नेकपा माओवादी मिल्नेबित्तिकै सहज बहुमत पुग्ने देखिएको छ । कांग्रेसका २७ र माओवादीका ७ (सभामुखबाहेक) मिल्दा सहज बहुमत ३४ जना सांसद पुग्नेछ । मनाङबाट दोस्रो पटक स्वतन्त्र सांसद बनेका राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनी पनि कांग्रेस नेतृत्वमा जाँदा ३५ जना सांसद हुनेछन् ।

कांग्रेसका सुरेन्द्र पाण्डे उत्साहित

केन्द्रमा नयाँ गठबन्धन बनेसँगै गण्डकीमा पनि मुख्यमन्त्री खगराज नेतृत्वको एमाले सरकार ढलेर कांग्रेस नेतृत्वको सरकार बन्ने देखिएको छ । यसअघिकै ५ दलीय गठबन्धनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै क्षेत्र गोरखा– २ (२)बाट निर्वाचित सुरेन्द्र पाण्डे अब मुख्यमन्त्री बन्ने पक्काजस्तै देखिएको छ ।

नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डे

चितवनबाट गोरखा चुनाव लड्न आइपुगेका प्रचण्डले सुरुदेखि नै सुरेन्द्रलाई मुख्यमन्त्री बनाउने सार्वजनिक रुपमै बताउँदै आएका थिए । तर, केन्द्रमा सत्ता समीकरण बदलिँदा मुख्यमन्त्रीको कुर्सी नजिक पुगेर पनि सुरेन्द्र प्रतिपक्षी दलको नेता भएका थिए । अब भने कांग्रेस नेतृत्वको सरकार बन्ने भन्दै उनी उत्साहित छन् ।

पाण्डेले केही समयअगाडि नै अहिलेको गठबन्धन नटिक्ने र संघ तथा प्रदेशका सरकार बदलिने बताएका थिए । शनिबार अनलाइनखबरसँग कुराकानी गर्दै पाण्डेले भने, ‘अहिलेको गठबन्धन नटिक्ने पहिले संकेत पाएको थिएँ । त्यसैले यो सरकार ढल्छ र कांग्रेसबाट म मुख्यमन्त्री बन्ने बताएको थिएँ ।’

पाण्डेले राप्रपाले मन्त्रीबाट राजीनामा दिएर समर्थन फिर्ता लिएपछि थप कुरा गर्ने बताए । ‘केन्द्रकै राजनीतिमा खाइखेली गरेर प्रदेश झरेको हुँ, केन्द्रमा केके हुन्छ भन्ने संकेत त पाइहाल्छु । प्रचण्डकै क्षेत्र र त्यसमा प्रचण्डसँग पनि नजिक भएकाले धेरै कुरा थाहा पाएको थिएँ,’ पाण्डेले भने, ‘अब प्रदेशमा पनि संवैधानिक व्यवस्थाअनुसार प्रक्रिया अगाडि बढ्छ ।’

पुस १० गते मुख्यमन्त्री बन्न तम्तयार भएर काठमाडौंबाट पोखरा जहाजमा उडेका पाण्डे पोखरा आउनेबित्तिकै केन्द्रमा माओवादी, एमालेलगायतको सत्ता समीकरण बदलिएको जानकारी पाएका थिए । त्यसको भोलिपल्ट पाण्डेले भनेका थिए, ‘म काठमाडौंबाट जहाजमा सकुशल पोखरा अवतरण भएँ तर राजनीति क्र्यास भयो ।’

खगराजका रोचक ३ सत्ता संयोग

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको राजनीतिक जीवनमा सत्ताका केही रोचक संयोग छन् । २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा खगराजले टिकट नै पाएनन् तर सत्तामा जाने सौभाग्य पहिलो पटक प्राप्त गरे । प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भए ।

२०७४ सालमा चुनाव जिते पनि नेकपा हुँदा सरकारको मन्त्री हुने अवसर खगराजले पाएनन् । एमाले–माओवादी मिलेर बनेको नेकपामा मन्त्री बन्ने कुनै गुञ्जायस नभएका खगराज नेकपा विभाजनको चरम उत्कर्षका बेला केपी शर्मा ओलीले गृहमन्त्री बनाए । जेठ २७ गते गृहमन्त्री बनेका खगराज १३ दिनमै पदच्यूत भए ।

संघ र प्रदेशमा ५ दलीय गठबन्धन सत्ता साझेदार हुँदै चुनावमा जाँदा मुख्यमन्त्रीको सपनासहित २०७९ को निर्वाचनमा खगराज प्रदेश झरे । एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायत नेताको साथ पाउँदा फेरि प्रदेशको मुख्यमन्त्री हुन चाहेका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई पछि पार्दै खगराजले प्रदेशको टिकट ल्याए ।

अघिल्लो चुनावका सहयात्री माओवादी सांसद दीपक कोइरालालाई हराउँदै खगराज कास्की–१ (१)बाट निर्वाचित भए तर एमाले नेतृत्वमा सरकार बन्ने सम्भावना देखेका थिएनन् । उनले एमाले प्रतिपक्षमै रहने बताइरहेकासमेत थिए । तर, केन्द्रमा एकाएक सत्ता समीकरण परिवर्तन भएर पुस १० गते एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएसँगै प्रदेशमा पनि एकाएक खगराज मुख्यमन्त्री बन्ने सम्भावनाको ढोका खुल्यो ।

एमाले, माओवादी, राप्रपा र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३३ सांसदको समर्थन जुटाएर पुस २५ गते खगराज मुख्यमन्त्री नियुक्त भए । पुस २९ गते नै मुख्यमन्त्री खगराजले विश्वासको मत लिएका थिए ।

एमाले, माओवादी लगायत सत्ता गठबन्धनले खगराजलाई पूरै कार्यकालको मुख्यमन्त्री दिने भागबण्डा गरेको थियो । तर, साढे दुई महिनामै सत्ताच्यूत हुनुपर्ने परिस्थिति खगराजको सामुन्ने आइपुगेको छ ।

‘खगराजको सत्ता संयोग नै त्यस्तै रह्यो । सुरुमा सांसदै नभइ स्वास्थमन्त्री पाए, पछि गुञ्जायसै नभएको गृहमन्त्री पाए तर १३ दिनमै हट्न पुगे । अहिले प्रतिपक्षमा रहन तयार हुँदाहुँदै मुख्यमन्त्री भए तर साढे २ महिनाभन्दा केही दिन बढीमात्र मुख्यमन्त्री हुने सम्भावना देखियो,’ एमालेका एक केन्द्रीय सदस्यले भने, ‘त्यसैले भनिएको होला, राजनीति सरल रेखामा हिँड्दैन ।’

२५ गते मुख्यमन्त्री नियुक्त भएका खगराजले सोही दिन ४ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । एमालेबाट सीता सुन्दास, माओवादीका हरि चुमान र राप्रपाका पञ्चराम तमु मन्त्री बने । खगराजले मन्त्रालयको संख्या १२ बाट घटाएर ७ बनाउँदै माघ १० गते मन्त्रीलाई पूर्णता दिएका थिए । राष्ट्रपतिको निर्वाचनले समीकरण बदलिन सक्ने अनुमान खगराजले पनि गरेका थिए ।

मुख्यमन्त्री अधिकारीले अहिलेसम्म यसै हुन्छ भन्ने स्थिति नरहेको तर संविधान र विधि मान्ने पार्टी अब कसरी अगाडि बढ्छ भन्ने प्रश्न नै नहुने बताए । ‘भोलिको परिस्थिति हेर्दै जाउँला, आजै यसै भन्न सकिन्नँ,’ मुख्यमन्त्री अधिकारीले भने, ‘राप्रपाले समर्थन फिर्ता लिएपछि संविधान र विधि मान्ने पार्टीलाई अब के हुन्छ भन्ने प्रश्न नै रहँदैन नि !’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?