+
+

रामघाट ठेक्का लाग्दैन, उत्खनन् पनि रोकिँदैन

पोखरा महानगरलाई १४ करोड राजश्व घाटा

विकास रोकामगर विकास रोकामगर
२०७९ फागुन १४ गते २०:२०

१४ फागुन, पोखरा । पोखरा महानगरपालिकाले सबैभन्दा बढी राजश्व उठाइरहेको घाटमध्ये पर्छ सेती नदीको रामघाट । नदीजन्य पदार्थ उत्खननको ठेक्का दिएर महानगरले यही एउटा घाटबाट करिब ६ करोड रुपैयाँ राजश्व आम्दानी गर्दै आइरहेको थियो ।

तर चालु आर्थिक वर्षमा भने रामघाट ठेक्का लागेन । असोज २३ गतेदेखि हालसम्म ४ पटक बोलपत्र आह्वान गर्दा पनि आवेदन परेको छैन । सुरुमा ५ करोड ८७ लाख रुपैयाँ मूल्य राखेर बोलपत्र आह्वान गरिएको थियो ।

३ पटकसम्म आह्वान गर्दा पनि आवेदन नपरेपछि महानगरपालिकाले चौथो पटकमा सुरुको मूल्यमा ४० प्रतिशत मल्य घटाएर ठेक्का आह्वान गरेको थियो । ८ फागुनसम्म म्याद रहेको चौथो पटकको बोलपत्रमा पनि कुनै आवेदन नपरेको मेयर धनराज आचार्यले जानकारी दिए ।

रामघाट यो वर्षमात्रै ठेक्कामा जान नसकेको भने होइन । अघिल्लो आर्थिक वर्षमा सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत रामघाटलाई ३५ वर्षसम्म निजी कम्पनीलाई दिने तयारी महानगरपालिकाको थियो ।

व्यापारिक घराना बतास अर्गनाइजेसनको ‘द रिभर माइनिङ प्रालि’ र ‘मोरेखहरे रिभर माइनिङ प्रालि’लाई रामघाट जिम्मा लगाउने महानगरपालिकाको तयारी थियो । सेती नदी थुनेर ताल बनाउने, ढुंगा गिट्टी, बालुवा उत्खनन गर्ने र रामघाट वरिपरि पर्यटकीय गतिविधि सञ्चालन गर्ने ठेकेदार कम्पनीको योजना थियो ।

तर, रामघाटलाई लामो समयसम्मका लागि निजी कम्पनीलाई सुम्पिएर प्राकृतिक स्रोतको दोहन गर्न अनुमति दिन नहुने भन्दै जनस्तरबाट चर्को विरोध भएपछि महानगरपालिका पछि हट्यो ।

तर यसवर्ष पनि ठेक्का नलाग्दा महानगरपालिका आर्थिक नोक्शानीमा परेको छ । बरु, घाटको ढुंगा, गिटी बालुवाको विषयलाई लिएर दादागिरी यसरी मौलाएको छ कि कसैले पनि टेन्डर भर्ने आँट गर्न सकेनन् ।

स्रोतका अनुसार रामघाटलाई ठेक्का लगाउने विषयमा चालु आर्थिक वर्षको कार्यपालिका बैठकमै भनाभन परेको थियो । त्यहाँ जम्मा भएका बालुवा बोलकबोलमा बिक्री नगर्न मेयर धनराज आचार्यलाई धम्कीसमेत आएको स्रोतको दाबी छ ।

तर, आचार्यले धम्की भने नआएको बताए । ‘थ्रेटको कुरै होइन, टेन्डर आह्वान गर्दा कसैको नपरेको हो । आईई रिपोर्टअनुसार टेन्डर हाल्नुपर्‍यो’, उनी भन्छन् ।

उत्खनन भने रोकिएन

रामघाट ठेक्कामा नगए पनि उत्खनन भने रोकिएको छैन । अहिले पनि दैनिक ठूलो मात्रामा गिट्टी, बालुवा निकाल्ने काम भइरहेको छ । बेलाबेला सवारी साधनहरु नियन्त्रणमा लिए पनि उत्खनन रोकिएको छैन ।

पोखरा महानगरपालिकाको लेखा समितिले रामघाटबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी, निकासी भइरहेको भन्दै त्यसलाई रोक्न नगर कार्यपालिकालाई सुझाव दिएको थियो । गएको महानगर सभामा समितिका संयोजक झपट रानाभाटले प्रतिवेदन प्रस्तुत गर्दै घाट ठेक्का नजाँदा करोडौं राजश्व गुमिरहेको र त्यहाँबाट नदीजन्य पदार्थ अवैध उत्खनन् भइरहेको जानकारी गराएका थिए ।

हिजोआज रामघाटमा दैनिक ठूलो संख्यामा कामदार खटिएर नदीजन्य पदार्थ उत्खनन भइरहेको छ । ३ पटक आह्वान गर्दा पनि ठेक्का नपरेपछि महानगरले नै नदीजन्य पदार्थ उत्खनन गर्न थालेको मेयर धनराज आचार्यले बताए ।

ठेक्का नलाग्दासम्म कामदारले उठाएर एक ठाउँमा जम्मा गर्ने र पछि बोलकबोलका आधारमा त्यसलाई बिक्री गरी आम्दानी गर्ने योजना महानगरको रहेको उनको भनाइ छ ।
‘राजश्व उठाउने उद्देश्यले नै ठेक्कामा नजाँदासम्म उहाँहरुलाई डोकामा बोकेर जम्मा गरेर राख्नुस् भनेका छौं’, मेयर आचार्यले भने, ‘त्यसलाई नगरप्रहरी, कर्मचारी खटाएर सुपरीवेक्षण गरिराखेका छौं । केही समयपछि बोलकबोलमा त्यो जान्छ ।’

ठेक्कामा नजाँदा पनि रामघाटबाट नदीजन्य पदार्थ उत्खननमा कमी नआएपछि त्यसलाई कम गर्न पनि आफैं अगाडि सर्नुपरेको महानगरको दाबी छ । ‘हाललाई अस्थायी रुपमा भए पनि राजश्व नगुमोस् भनेर आफैं कर्मचारी खटाएर आर्थिक ऐनअनुसार नै बालुवा उठाउन अनुमति दिएका हौं’, सहायक प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारी जीतेन्द्रजंग केसीले भने ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउनदेखि पुससम्म नदीजन्य पदार्थ अवैध उत्खननको आरोपमा ६२ वटा सवारी साधनलाई कारबाही गरिएको छ । प्रहरी निरीक्षक श्रीराम तिमिल्सिनाले कारवाहीमा परेका ती सवारी साधनबाट ८ लाख २२ हजार रुपैयाँ राजश्व संकलन गरिएको जानकारी दिए । ‘मुख्य सहरी क्षेत्रभन्दा पनि ग्रामीण क्षेत्रमा बढी उत्खनन् गरेको पाइयो’, उनले भने ।

करोडौं राजश्व गुमाउँदै महानगर

रामघाटमात्रै होइन, पोखरा महानगरपालिकाभित्रको एक दर्जनभन्दा बढी घाटमा ठेक्का नै पर्न सकेन । यसले चालु आर्थिक वर्षमा १४ करोड रुपैयाँभन्दा बढी राजश्व गुमाउनुपर्ने महानगरपालिकाका कर्मचारीहरु बताउँछन् ।

महानगरको सार्वजनिक लेखा समितिको प्रतिवेदनले पनि गत आर्थिक वर्षमा भन्दा एक तिहाइ कम राजस्व उठ्ने देखाएको थियो । समितिका संयोजक झपट रानाभाटले गएको नगर सभामा बुझाएको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा घाटहरुबाट करिब ८ करोड रुपैयाँमात्रै राजश्व उठ्ने देखिएको छ ।

विगतमा ठेक्का दिँदै आएको महानगरका ३३ मध्ये चालु आर्थिक वर्षमा १६ वटामात्रै ठेक्का लागेका छन् । रामघाट, मोहरेखरेघाट, याम्दीघाट, काहुँखोलाघाटलगायत १० वटा घाट ठेक्कामा गएका छैनन् । ‘बाँकी ४ वटा घाट ठेक्का प्रक्रियामै छन् । तर, जान्छ, जाँदैन भन्न सकिँदैन’, सूचना अधिकारी केसीले भने ।

विभिन्न ३३ वटा घाटबाट महानगरले अघिल्लो आर्थिक वर्षमा २२ करोड रुपैयाँ आम्दानी गरेको थियो । ‘अहिले हिउँदमा पानी परेन । हाम्रो आईई रिपोर्टमा पनि अघिल्लो पटकभन्दा यसपटक अमाउन्ट नै कम हुने देखिएको छ’, महानगर प्रमुख आचार्यले भने, ‘केही स्थानीय, केही वडाध्यक्षहरु यसलाई उठाउन हुँदैन, पुल जोगाउन सकिँदैन भनेकाले पनि टेण्डर भएका ठाउँमा पनि काम भइरहेको छैन ।’

मेयर आचार्य महानगरले विगतमा ठूलो राजश्व संकलन गर्दै आएका घाट चालु आर्थिक वर्षमा ठेक्कामा नगए पनि सेतीमा चेक ड्याम बनाएर गिट्टी बालुवाजन्य पदार्थ संकलन गर्ने दीर्घकालीन योजना रहेको बताउँछन् ।

‘अहिलेको प्रारम्भिक अध्ययनले पनि कम्तीमा ११ ठाउँबाट चेकड्याम बनाएर गिट्टी बालुवा निकाल्न मिल्ने भनेको छ । थोरैथोरै ठाउँ ठेक्का दिनुभन्दा एकैपटक ठूलो क्षेत्र ठेक्का दीर्घकालीन रुपमा राम्रै गर्ला’, उनले भने ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?