+
+

५१२ किलो प्याजको मूल्य २ रुपैयाँको चेक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १७:४०

१५ फागुन, काठमाडौं । भारतीय सामाजिक सञ्जाल प्रयोगकर्तामाझ अहिले सोलापुरका किसान राजेन्द्र चव्हाण चर्चामा छन् ।

उनी चर्चामा रहनुको कारण हो- ५१२ किलो प्याज बेच्दा हात परेको २ रुपैयाँको चेक ।

स्थानीय तरकारी बजारमा ५१२ किलो प्याज दिएपछि व्यापारी सूर्या ट्रेडर्सले उनको हातमा २ रुपैयाँको चेक थमाएको थियो । त्यो चेक साट्नका लागि उनी केही दिनपछि सूर्या ट्रेडर्समै आउनु पर्ने थियो ।

महाराष्ट्र प्रदेशको संसदमा बजेट सत्र सुरु हुनअघि आयोजित पत्रकार सम्मेलनमा विपक्षी दलका नेता अजित पवारले पनि यो मुद्दा उठाएका थिए ।

लगत्तै महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले राजेन्द्रलाई २ रुपैयाँको चेक दिने सूर्या ट्रेडर्सको लाइसेन्स रद्ध गरिदिएको बताए । फडणवीसले भने, ‘राजेन्द्र चव्हाणले ५१२ किलो प्याज़ बेचे, भाउ तलमाथि हुन्छ, तर उनलाई २ रुपैयाँ मात्र प्राप्त भयो, ढुवानी भाडा कट्टा गरियो, यस्तो नहुनु पर्ने थियो, सूर्या ट्रेडर्सको लाइसेन्स रद्ध गरिएको छ ।’

खासमा महाराष्ट्रको थोक कृषि बजारमा अहिले प्याजको मूल्य किलोको ६-७ रुपैयाँ छ, खुद्रा बजारमा उपभोक्ताले २० देखि ३० रुपैयाँ तिर्नु पर्छ ।

फेब्रुअरीको अन्तिमतिर बजारमा मनसुनी प्याज आउँछ । जसलाई धेरै दिन भण्डारण गर्न सकिँदैन । भण्डारण गर्नका लागि सुकेको प्याज नै चाहिन्छ । तर मनसुनी प्याज नसुकेका कारण किसानले चाँडै बेच्न चाहन्छन् । जसले गर्दा प्याजको मूल्य घट्छ । जसको असर चव्हाणजस्ता किसानलाई पर्छ ।

सोलापुर बोरगाउँका चव्हाणले १० बोरा प्याज कृषि उत्पादन मण्डी समितिका व्यापारी सूर्या ट्रेडर्सलाई बेचेका थिए, जसको तौल ५१२ किलो थियो । उनको प्याज व्यापारीले १ रपैयाँ किलोमा बेचेका थिए । तरकारी बजारमा ढुवानी, ओसार पसार र तौल गर्ने नाममा ५१० रुपैयाँ खर्च कट्टा गरेर होलसेल व्यापारीले उनको हातमा २ रुपैयाँको चेक थमाएका थिए । जुन चेक साट्न उनी ८ मार्चमा फेरि मण्डी आउनु पर्ने थियो ।

परिवारका सबै सदस्यको सहयोगमा खेती गर्दै आएका चव्हाणले भने, ‘मैले जुन प्याज बेचेको थिएँ, त्यो राम्रो थियो । मलाई प्रतिकिलो ८-१० रुपैयाँ मूल्य पाउँछु जस्तो लागेको थियो, तर बजारमा प्रतिकिलो १ रुपैयाँ मात्र भाउ आयो, यसले मेरो खर्च उठेन । मलाई धेरै दुख लागेको छ ।’

‘यस्तो भाउ पाउने थाहा भएको भए म प्याज खेतमै कुहिन दिन्थेँ,’ उनले थपे ।

खेतीमा लागेको खर्च नै नउठ्ने भएकाले किसानलाई सरकारले अनुदान दिनु पर्ने उनको माग छ ।

– बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?