
१५ फागुन, विरेन्द्रनगर । नेपाल क्रिकेट संघ क्यानको साधारण सभाले नेपाल टी–२० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता रद्ध गर्ने प्रक्रिया अघि बढाउन बोर्डलाई अधिकार दिएको छ ।
क्यानले सेभेन थ्री स्पोर्टससँग ८ वर्षका लागि नेपाल टी–२० लिगको व्यापारिक र रणनीतिक साझेदारी सम्झौता गरेको थियो ।
नेपाल टी–२० लिगको पहिलो सिजनको रकम दिन बाँकी रहे पनि सेभेन थ्री स्पोर्टसले एकतर्फी रुपमा सम्झौता रद्ध गरेको थियो ।
सुर्खेतको विरेन्द्रनगरमा हिजो र आज भएको साधारण सभाले सेभेन थ्री स्टारसँगबाट पाउनु पर्ने रकम असुल्ने र उससँगको सम्झौता रद्ध गर्ने निर्णय गरेको नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।
सम्झौता अनुसार पहिलो सिजन आयोजनाको लाइसेन्स फीमार्फत क्यानले ३ करोड ९० लाख रुपैयाँ पाउनु पर्नेमा अहिलेसम्म २ करोड २० लाख रुपैयाँ मात्र पाएको छ । लाइसेन्स फीको १ करोड ७० लाख र पुरस्कार रकम १ करोड २५ लाख गरी क्यानले सेभेन थ्रीसँग २ करोड ९५ लाख रुपैयाँ लिन पर्ने छ ।
प्रतियोगिताको मुख्य साझेदार कम्पनी सेभेन थ्री स्पोर्टस नै लाइभ बेटिङ र स्पट फिक्सिङमा संग्लग्न रहेको पाइएपछि नेपाल टी-२० लिग विवादमा परेको थियो । सुरुमा नै प्रतियोगिता विवादमा परेपछि जतिन अहुवालिया सम्पर्क विहीन भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4