१५ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको महासचिव र कोषाध्यक्ष बर्खास्तीसहितका ५ वटा एजेण्डा थप गर्न १२ जना पदाधिकारी र सदस्यले गरेको माग एन्फाले अस्वीकृत गरेको छ ।
एन्फा महासचिव किरण राईले सोमबार दुई उपाध्यक्ष र पाँच सदस्यलाई पत्र लेख्दै उक्त एजेण्डा बैठकको कार्यसूचीमा थप नभएको जानकारी गराएका छन् ।
‘अखिल नेपाल फुटबल संघको आगामी मिति २०७१ फाल्गुण १७ गते हुने कार्यसमिति बैठकको लागि नियमानुसार संघले छलफल गरी आवश्यक निर्णयमा पुग्नुपर्ने महत्वपुर्ण कार्य सूचीसहितको पत्र प्राप्त गर्नु भएको नै छ । उक्त बैठकको लागि तपाईँले पठाउनु भएको कार्यसूची संघको विधानको धारा ३९ (३) अनुरुप बैठकमा समावेश नहुने कुरा निर्देशानुसार सुचित गरिन्छ’, किरण राईले उपाध्यक्षद्वय विराट शाही र दिपक खतिवडा तथा सदस्यहरु पेमा डोल्मा लामा, रुपेश अधिकारी, महेन्द्र क्षेत्री, रविन्द्र चन्द र रमेश व्यञ्जनकारलाई सम्बोधन गरेर लेखेको पत्रमा भनिएको छ ।
एन्फाको कार्यसमिति बैठक बुधबार बस्दैछ । त्यसका लागि सदस्यहरुलाई यसअघि नै विविधसहित १९ एजेण्डा पठाइएको थियो । तर बहुमत सदस्यहरुले आफैंले नियुक्त गरेका मुख्य पदाधिकारीहरुलाई बर्खास्त गरिनुपर्नेलगायतका ६ वटा विषय एजेण्डामा समावेश हुनुपर्ने माग गरेका थिए ।
तर एन्फाले एजेन्डा समावेश नगर्ने भएको हो । उनीहरुले फिफा विश्वकप २०२२ मा अनधिकृत टिकट वितरण गरिएको, एएफसीको विभिन्न समितिमा नाम सिफारिस गर्ने, उमेर समूह र सिनियर राष्ट्रिय टिम (महिला/पुरुष)का खेलाडीलाई घोषित पुरस्कार वितरण गर्नुपर्ने, विधानको धारा ३८ बमोजिम महासचिव र कोषाध्यक्ष बर्खास्त गर्ने, इन्टिग्रिटी चेकलगायतका विषय थप गर्न माग गरेका थिए ।
एन्फामा २१ सदस्यीय केन्द्रीय कार्यसमितिमा तीन जना उपाधक्षसहित १२ जनाले संयुक्त हस्ताक्षरसहित प्रमुख नियुक्ति बर्खास्त गर्न माग गरेपछि नेतृत्व दवावमा परेको थियो ।
प्रतिक्रिया 4