News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल)लाई अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए)को प्रेसिडेन्सियल अवार्डका लागि एसिया प्यासिफिक क्षेत्रबाट छनोट गरिएको छ।
- एफआईएको अध्यक्ष मोहम्मद बिन सुल्येयामले सामाजिक संजाल इन्स्टाग्राममा नासा नेपाललाई उत्कृष्ट सूचीमा समावेश भएकोमा बधाई दिएका छन्।
- डिसेम्बर ९ देखि १२ सम्म उज्बेकिस्तानको तासकेन्तमा हुने एफआईएको साधारण सभामा नासा नेपाललाई अवार्ड प्रदान गरिनेछ।
२२ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) द्वारा प्रदान गरिने प्रेसिडेन्सियल अवार्डको लागि एसिया प्यासिफिक क्षेत्रबाट नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) छनोट भएको छ ।
एफआईएका १५१ राष्ट्रका स्पोर्ट्स फेडेरेसनहरूमध्ये महादेशीय रूपमा जम्मा ६ वटा फेडेरेसनहरू मात्र सो अवार्डका लागि अन्तिम सूचीमा समावेश भएका छन् ।
एफआईएका अध्यक्ष मोहम्मद बिन सुल्येयामले सामाजिक संजाल इन्स्टाग्राम मार्फत परिणाम सार्वजनिक गर्दै उत्कृष्ट सूचीमा समावेश भएकोमा नासा नेपाललाई बधाई दिएका छन् ।
उक्त अवार्डका लागि अफ्रिकाबाट सिचेलिस, युरोपबाट स्वीडेन, एसिया प्यासिफिकबाट नेपाल, उत्तर अमेरिकाबाट केमन आइल्याण्ड, दक्षिण अमेरिकाबाट ब्राजिल र मिडल इस्टबाट युएईको संघ छनोट भएका छन् ।
प्रत्येक वर्ष सदस्य संघहरूद्वारा सञ्चालन गरिएका परियोजना, सफल इभेन्ट, विशेष अभियान, प्राप्त उपलब्धि तथा संघको क्रियाशीलता जस्ता सूचकका आधारमा उम्मेदवारी मागिने गरिन्छ ।
ती उम्मेदवारीहरुको विस्तृत अध्ययन र मूल्यांकनपछि महादेशीय स्तरमा उत्कृष्ट फेडेरेसन चयन गरिन्छ । यस वर्ष एसिया प्यासिफिक क्षेत्रबाट अस्ट्रेलिया, श्रीलंका लगायत आधा दर्जन उम्मेदवारी दिएका थिए, जसको प्रारम्भिक एसूची फआईएले यसअघि नै सार्वजनिक गरिसकेको थियो ।
आधारभूत तहदेखि महादेशीय स्तरसम्म मोटर स्पोर्ट्समा हासिल उपलब्धि, महिला, युवा, विद्यार्थी तथा शैक्षिक क्षेत्रको उल्लेखनीय सहभागिता, आधारभूत तहको फाउन्डेसन निर्माण, सार्वजनिक संलग्नता र पहिचानलाई मुख्य सूचक मान्दै नासा नेपालले अघि सारेको ग्रासरुट टु ग्लोरी अभियानले यस प्रतिष्ठित सफलतामा योगदान पुर्याएको हो ।
संघको नवौं साधारण सभाबाट पारित ‘नासा नेपालः टोलदेखि वर्ल्डसम्म’ अवधारणा अन्तर्गतकै मुख्य परियोजना ‘ग्रासरुट टु ग्लोरी’ रहेको छ ।

यही डिसेम्बर ९ देखि १२ सम्म उज्बेकिस्तानको राजधानी तासकेन्तमा हुने एफआईएको साधारण सभामा सो अवार्ड प्रदान गरिने जानकारी अवार्ड टिमले नासा नेपाललाई औपचारिक रूपमा दिएको नासा नेपालले जनाएको छ । यो उपलब्धि समग्र नेपाली खेलकुद क्षेत्रका लागि एक गर्वको क्षण हुने पनि नासा नेपालले जनाएको छ ।
नेसनल मोटर स्पोर्ट्स एचिभमेन्ट अवर्डका लागि एसिया प्यासिफिक, मिडल इस्ट, अफ्रिका, दक्षिण अमेरिका, उत्तर अमेरिका र युरोप गरी ६ वटा उत्कृष्ट फेडेरेसनमध्येबाट एक सर्वोत्कृष्ट फेडेरेसन अझै सार्वजनिक हुने बाँकी छ ।
विश्वभरका मोटरस्पोर्ट्स र अटोमोबाइल फेडेरेसनहरूको गभर्निङ बडी एफआईएमा हाल २४९ नेसनल फेडेरेसनहरू आबद्ध छन् । सन् १९०४ मा पेरिसमा स्थापना भएको एफआईएले फर्मुला वन लगायत सम्पूर्ण मोटर स्पोर्ट्सको व्यवस्थापन र अनुगमन गर्ने गर्दछ । नासा नेपाल पनि सन २०१२ देखि एफआईएको पूर्ण सदस्यका रूपमा आबद्ध छ ।
कमजोर पूर्वाधार, सीमित साधन–स्रोत र प्रविधि अभावका बीच पनि नासा नेपाल एसिया प्यासिफिक क्षेत्रको उत्कृष्ट सूचिमा पर्नु संघका अफिसियल, प्रविधिक र खेलाडीहरूको निरन्तर परिश्रम र प्रतिबद्धताको प्रतिफल भएको र यसले संघलाई आगामी दिनमा अझ सक्रिय र प्रभावकारी रूपमा अघि बढ्न प्रेरणा दिएको नासा नेपालले जनाएको छ ।
प्रतिक्रिया 4