+
+

‘छक्कापञ्जा ४’ भर्सेस ‘छड्के २’ : मल्टिप्लेक्समा ६०-४० प्रतिशतको अनुपातमा शो बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १८:४७

काठमाडौं । आगामी शुक्रबार नेपाली बक्स अफिसमा यस वर्षको ‘हेभीवेट’ भिडन्त हुँदैछ । दीपकराज गिरी स्टारर ‘छक्कापञ्जा ४’ र अनमोल केसी स्टारर ‘छड्के २’ आमनेसामने हुँदैछन् । प्रदर्शन हुन तीन दिन बाँकी रहँदा प्रमुख मल्टिप्लेक्सले सोमबार बेलुका यी दुवैको शो तालिका सार्वजनिक गरेका छन् ।

सार्वजनिक तालिकाअनुसार ‘छक्कापञ्जा ४’लाई ६० प्रतिशत र ‘छड्के २’लाई ४० प्रतिशत हाराहारीमा शो बाँडफाँट गरिएको छ । क्यूएफएक्सले ६५ र ३५ प्रतिशतको अनुपातमा शो बाँडेको छ, जसअनुसार छक्कापञ्जा ४ लाई ४२ र छड्के २ लाई ३२ शो दिइएको छ भने हलिउड फिल्म ‘क्रिड ३’लाई ११ शो ।

आईएनआईले छक्कापञ्जा ४ लाई १० शो र छड्के २ लाई ४ शोसहित ७० र ३० प्रतिशतको अनुपातमा बाँडेको छ । बिग मुभिजले दुवैलाई २/२ शो उपलब्ध गराउँदै ५०/५० प्रतिशत अनुपातमा शो दिएको छ । वान सिनेमाजले छक्कापञ्जा ४ लाई १० र छड्के २ लाई ९ शो दिएको छ । एफक्युब, रञ्जना, बीएसआरले पनि ६० र ४० प्रतिशतको हाराहारीमा शो दिएका छन् । हलिउडको ‘क्रिड ३’ आउँदा यसको प्रभाव अझै पर्नेछ ।

‘अकुपेन्सीको आधारमा जसले राम्रो गर्छ, सोही फिल्मलाई हामीले शो वृद्धि गर्ने निर्णय गरेका छौं,’ बिग मुभिजका व्यवस्थापक दीपेश शर्माले अनलाइनखबरसँग भने, ‘अहिले ५०/५० गरेपनि प्रदर्शनको आधारमा शो थपघट हुनेछ ।’ आईएनआई मल्टिप्लेक्सका निर्देशक सुरेन्द्र थापाले विगतको बक्स अफिस रेकर्ड, फिल्मको जनरा र बिदाको माहोल हेरेर ७०/३० प्रतिशत अनुपातमा शो बाँडफाँट गरिएको जनाए ।

‘छक्कापञ्जा पारिवारिक फिल्म हो । छड्के युवा दर्शकलाई लक्षित छ । जनराअनुसार दर्शकको रोजाइ पनि भिन्न हुन्छ । बिदाको माहोलमा दर्शकले पारिवारिक फिल्म पनि हेर्न सक्छन् । पर्फमेन्सको आधारमा शो थपघट हुन सक्छ सोही आधारमा शो तय गरेका हौं,’ थापाले अनलाइनखबरसँग भने ।

शो बाँडफाँटले धेरै हदसम्म फिल्मको ओपनिङलाई प्रभाव तुल्याउने अनुमान गर्न सकिन्छ । धेरै कमाउने ब्राण्डेड फिल्म भएकाले छक्कापञ्जा ४ दर्शकमाझ प्रतीक्षित छ भने अनमोल केसीलाई हिट गराउनुपर्ने दबाब छ । एउटै मितिमा यी दुई फिल्म आउने भएपछि सम्भावित बक्स अफिस ‘पर्फमेन्स’लाई लिएर दर्शकले यसतर्फ चासो दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?