+
+

पूर्वाञ्चल मेडिकल कलेजको प्राक्टिस कोशीमा गर्न त्रिपक्षीय सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १६ गते १७:११

१६ फागुन, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले सञ्चालन गर्ने मेडिकल कलेजको प्राक्टिसका लागि कोशी अस्पताल प्रयोग गर्ने सम्झौता भएको छ ।

गत माघ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चान गर्न दिने र प्राक्टिसका लागि कोशी अस्पताल प्रयोग गर्न दिने निर्णय गरेको थियो । मन्त्रीपरिषद्को निर्णयपछि मंगलबार शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौतामा कलेजको प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्ने उल्लेख छ । सम्झौता पत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल र विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले हस्ताक्षर गरेका छन् ।

त्रिपक्षीय सम्झौता भएपछि अब विश्वविद्यालयले कोटाका लागि चिकित्सा शिक्षा आयोगमा निवेदन दिने विश्वविद्यालयका रजिस्टार निलमणि पोखरेलले बताए ।

‘मेडिकल कलेज सञ्चालनका लागि अब फ्याकल्टी नियुक्त गर्छाै, विद्यार्थी संख्याका लागि आयोगमा जान्छौं,’ उनले भने, ‘यो वर्ष विद्यार्थी भर्ना गर्न नसकिएला अर्काे वर्षका लागि सुरुदेखि तयारी गर्छाैं ।’

चिकित्सा शिक्षा आयोगले सिट बाँडफाँड गरेपछि मेडिकल कलेजमा विद्यार्थी भर्नाको प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

२०७८ माघ २४ गते कोशी अस्पताल र विश्वविद्यालयबीच चिकित्सा शिक्षा अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्ने सम्झौता भएको थियो ।

मेडिकल कलेज सञ्चालनका लागि न्युनतम ३०० बेडको अस्पताल हुनुपर्छ । विश्वविद्यालयको आफ्नै ठूलो अस्पताल नभएपछि कोशी अस्पतालसँग सम्झौता गरेको हो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा २०५२ सालमा विश्वविद्यालय स्थापना भएको थियो । त्यसपछि २०५६–०५७ सालमा मोरङको गोठगाउँमा ८०५ बिघा जमिन पूर्वाञ्चल विश्वविद्यालयको संरचना निर्माणका लागि दिने सरकारले निर्णय गरेको थियो । गोठगाउँमा विश्वविद्यालयका संरचनाहरु निर्माण भएका छन् । गोठगाउँकै संरचनामा मेडिकल शिक्षा अध्यापन हुनेछ । प्राक्टिस भने कोशी अस्पताल विराटनगरमा हुनेछ ।

पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनको तयारी तत्कालीन उपकुलपति जगतबहादुर केसीले २०६० सालमा सुरु गरेका थिए । केसीले २०६२ सालमा इन्ट्रान्स परीक्षा पनि गराएका थिए । तर राजनीतिक परिवर्तन कक्षा भर्ना प्रकृया अगाडि बढेन ।

पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको अनुमति पाएसँगै मोरङमा मेडिकल कलेजको संख्या तीन पुगेको छ । मोरङमा नोबेल मेडिकल कलेज विराटनगर र विराट मेडिकल कलेजले बूढीगंगाले कलेज सञ्चालन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?