+
+

कांग्रेस-एमाले दुवैले प्रतिपक्षी बेन्च रोजेपछि संसद बैठक १८ दिन सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते ११:४८

१७ फागुन, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले दुवैले प्रतिपक्षी बेन्च रोजेपछि प्रतिनिधि सभाको बैठक १८ दिन पर सरेको छ ।

प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो एक बजे बस्ने तयारी थियो । तर, कांग्रेस र एमाले दुवैले आफूहरु प्रतिपक्षमा बस्ने जानकारी संसद सचिवालयलाई गराए । त्यसपछि दलहरुसँगको समन्वयमा संसद सचिवालयले सूचना जारी गरेर बैठक नै आगामी चैत ५ गतेसम्मका लागि स्थगित गरिदियो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणबस सभामुखले प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको उल्लेख छ ।

त्यो विशेष कारण भनेको नेपाली कांग्रेस र नेकपा एमाले दुवै प्रतिपक्षमा बस्ने स्थिति हो । कांग्रेस र एमाले दुवै प्रमुख प्रतिपक्षको बेन्चमा बस्ने अवस्था आएपछि संसद बैठक स्थगित गरिएको एक नेताले बताए ।

पहिले सरकारमा रहेको नेकपा एमालेले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएर सरकारबाट बाहिरिसकेको छ ।

एमालेका लिलानाथ श्रेष्ठले आफूहरु आजको संसद बैठकमा प्रतिपक्षको बेन्चमा बस्ने बताएका थिए । ‘सरकारलाई दिएको समर्थन फिर्ता लिएका कारण अब एमाले प्रतिपक्षी बेन्चमा रहन्छ,’ श्रेष्ठले अनलाइनखबरसँग भनेका थिए ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर पनि प्रतिपक्षको बेन्चमा बस्दै आएको नेपाली कांग्रेस अहिले आठ दलीय सत्ता गठबन्धनमा छ ।

राष्ट्रपति निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेल सत्ता गठबन्धनको साझा उम्मेदवार छन् । तर कांग्रेस सरकारमा गइसकेको भने छैन ।

सरकारमा सहभागी नभइसकेकाले ऊ पनि आजको बैठकमा प्रतिपक्षको बेन्चमा बस्ने तयारीमा थियो ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पनि अनलाइनखबरसँग भनेका थिए, ‘हामी आजको संसद बैठकमा प्रतिपक्षको बेन्चमा बस्छौं ।’

कांग्रेस र एमाले दुवै प्रतिपक्षको बेन्चमा बस्दा राम्रो सन्देश नजाने भएकाले संसद बैठक स्थगित गरिएको संसद सचिवालयका एक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?