+
+

परिवर्तनको सम्भावना देखें भने राजनीतिमा पक्कै आउँछु : मनिषा कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १३:४६
अभिनेत्री मनिषा कोइराला । फाइल तस्वीर

काठमाडौं । अभिनेत्री मनिषा कोइराला पछिल्लो समय सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’मा व्यस्त छिन् । उनको शीर्षमध्येको भूमिका रहेको कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘शेहजादा’ गत साता रिलिज भएपनि यसले बक्स अफिसमा खास कमाइ गर्न सकेन ।

तर हीरामण्डीको फस्टलुकले चर्चा बटुलिरहेको छ, जहाँ मनिषा रानीको भूमिकामा देखिएकी छन् । सिरिज रिलिज नहुँदै मनिषाले यसबाट चर्चा बटुलेकी छन् । दुई साताअघि काठमाडौंमा आइपुगेकी मनिषाले केही अन्तर्वार्ता दिन भ्याइन्, जहाँ उनले राजनीतिबारे आफ्नो दृष्टिकोण र अन्य केही तयारीबारे खुलाएकी छन् ।

नेपाली राजनीतिमा आउनसक्ने अड्कलबाजी चलिरहेको बेला मनिषाले त्यसतर्फ संकेत गरेकी छन् । भूपेन्द्र खड्का पडकास्टसँगको अन्तर्वार्तामा उनले भनेकी छन्, ‘राजनीतिमा आएर परिवर्तन हुने सम्भावना देखें भने म पक्कै आउँछु । सायद, सही सामाजिक कार्यमा काम गर्नुपर्छ कि भन्ने सोचेकी छु ।’

राजनीतिसँग बसेपनि र राजनीतिलाई बुझ्दा–बुझ्दै पनि आफ्नो राजनीतिक दिमाग नभएको स्वीकारोक्ती चाहिं उनको छ । भन्छिन्, ‘दुर्भाग्यवश, राजनीतिलाई बुझ्दाबुझ्दै पनि मेरो पोलिटिकल माइण्ड भएन । राजनीतिभन्दा पनि अध्यात्मतिर छ ।’ उनले राजनीतिभन्दा पनि सामाजिक सेवातर्फ आफू लाग्ने संकेत दिएकी छन् । तर हजुरबुवा समेत रहेका कांग्रेस संस्थापक बीपी कोइरालाको सपना पूरा भएको हेर्न चाहेको उनले बताएकी छन् ।

यसैबीच, आफूले काठमाडौंमा अर्गानिक फार्म सञ्चालन गर्न लागेको समेत मनिषाले बताएकी छन् । ‘मलाई नेचर चाहिन्छ । काठमाडौं आउँदा मलाई सेन्स अफ जोय महसुस हुन्छ । आधा घण्टामा म बुढानीलकण्ठ जगिङमा जान सक्छु । साइक्लिङ गर्न सक्छु । मुख्य कारण प्रकृति हो । मलाई ट्रेकिङ गर्न र नेचरसँग नजिक हुन मन लाग्छ ।’

मानिसका लागि प्रेम जरुरी भएको भन्दै मनिषाले प्रेमले सबैलाई जोड्न सक्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?