+
+

बिदाका दिन कसरी खुल्छन् सरकारी कार्यालय ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते २०:१९
सरकारी कार्यालयमा लागेको सेवाग्राहीको भिड ।

१७ फागुन, काठमाडौं । सरकारले शनिबारबाहेकका अधिकांश सार्वजनिक विदाका दिन सेवाग्राहीको चाप हुने सरकारी कार्यालय खुला राख्ने भएको छ ।

सोमबारको मन्त्रिपरिषद बैठकले सेवाग्राहीको चाप हुने सरकारी निकाय दशैं, तिहार, छठ जस्ता ठूला चाडबाहेकका जात्रा, पर्व, दिवस, जयन्तीजस्ता सार्वजनिक विदामा खुला राख्ने निर्णय गरेको हो ।

आगामी वर्षको बिदा पुनरावलोकन गर्ने क्रममा मन्त्रिपरिषदको प्रशासन समितिमा केही सचिवहरुले अत्यधिक बिदा भएकाले कटौतीको अवधारणामा जानुपर्छ भन्ने सुझाव दिएका थिए ।

तर समावेशी र सहभागिमूलक अवधारणाको प्रतिकुल हुने गरी कुनै चाडबाडमा विदा दिने र कुनैमा नदिने गर्न नहुने भएकाले निश्चित बिदामा कार्यालय सञ्चालन गर्ने अवधारणा अघि सारिएको हो ।

‘मुलुकले नै समावेशी र सहभागीमूलक शासनपद्धति अंगीकार गरेपछि विभिन्न जातजाति र समूदायको चाडपर्वमा दिँदै आएको विदा कटौती गर्न नहुने निष्कर्ष निकाल्यौं’ मन्त्रिपरिषदको प्रशासन समितिमा रहेका एक सचिव भन्छन् ।

बरु २३ वटा सार्वजनिक बिदाका दिन सेवाग्राहीको अत्यधिक चाप हुने निकाय तथा कार्यालयमा सेवा दिने तयारी भएको छ । यसका लागि सार्वजनिक विदाका दिन खुला हुने सरकारी कार्यालय र त्यहाँबाट प्रवाह हुने सेवा तोक्ने तयारी छ ।

गृहमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यदलले कुनकुन बिदाको दिन कुन कुन कार्यालय खुल्ने भन्ने खाका तयार गरेको छ ।

वर्षभरका ५२ वटा शनिबार भने सरकारी कार्यालय खुल्दैनन् । कुल जनसंख्याको करिब ३/४ प्रतिशतभन्दा कम संख्या रहेका समुदायको चाडबाड, जात्रा जात्रा, पर्व, जयन्ती जस्ता प्रकृतिका सार्वजनिक विदामा कार्यालयहरु खुल्नेछन् । फागुपूर्णिमा, श्रमिक दिवस, संविधान दिवसमा कार्यालय खुल्नेछैनन् ।

बुद्धजयन्ती, जनैपूर्णिमा, कृष्ण जन्माष्टमी, घटस्थापना, उधौली, उभौली, क्रिसमस, तमु ल्होसार, माघे संक्रान्ति, सोनाम ल्होसार, शिवरात्री, ग्याल्पो ल्होसार, बकर इद, इदुल फित्रका दिन कार्यालय खोल्ने तयारी छ । बुद्धजयन्ती र उभौली एकै दिन पर्ने भएकाले विदा खप्टिनेछ । यस्तै नयाँवर्ष, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस, महिला दिवस, पृथ्वी जयन्ती र जनयुद्ध दिवसका दिन पनि कार्यालय खोल्ने प्रस्ताव छ । काठमाडौं उपत्यकामा मात्रै विदा हुने गाईजात्रा, इन्द्रजात्रा, भोटोजात्रा र घोडेजात्रामा विदा भएपछि कार्यालय खुल्नेछन् ।

 

यो दिन जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग, कन्सुलर विभाग, आन्तरिक राजस्व विभाग र मातहतका कार्यालय, भन्सार विभाग र मातहतका कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय, बैदेशिक रोजगार विभाग, यातायात व्यवस्था कार्यालयहरु, सरकारी अस्पताल, खानेपानी, विद्युत र दुरसञ्चार महशुल लिने कार्यालय खुला गरेर सेवा दिने खाका बनेको छ ।

सार्वजनिक विदाका दिन खोल्ने कार्यालयहरुमा नियमित दिनमा जस्तो सबै सेवा भने खुल्दैनन् ।

बिदामा कार्यालय खोल्दा जिल्ला प्रशासन कार्यालयले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीको सेवा मात्रै दिने छ । प्रशासन कार्यालयका अरु सेवा भने त्यस दिन नहुने गृह मन्त्रालयका एक उपसचिवले बताए ।

यस्तो दिन कार्यालय आएर काम गर्ने कर्मचारीहरुले भत्ता पाउँदैनन्, बरु अर्को दिन सट्टा बिदा पाउनेछन् ।

सरकारी कार्यालय मात्रै खुलेर पूर्ण रुपमा सेवा लिन नसकिने अवस्थामा त्योसँग सम्बन्धित अन्य सेवा र सुविधा नियमित गर्ने नीतिगत निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले तयार पारेको खाकामा उल्लेख छ ।

कर, राजस्व र महशुल बुझाउनुपर्ने भएकाले सम्बन्धित कार्यालयमा रहेका बैंकका शाखा खुलाउन नेपाल राष्ट्र बैंकमार्फत निर्देशन दिने निर्णय भएको छ ।

अधिकारीहरुका अनुसार मेडिकल कलेज र पब्लिक अस्पतालहरु के गर्ने भन्ने टुंगो लागेको छैन । विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक संस्थाहरुको आफ्नै क्यालेण्डर हुने भएकाले उनीहरुको बिदामा हस्तक्षेप नगर्ने तयारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता महादेव पन्थ पनि सेवाग्राहीको चाप बढी हुने र उनीहरुको दैनिकी जोडिने विषयसँग सम्बन्धित कार्यालय खोल्ने निर्णय भएको बतााउँछन् ।

‘यसबारेमा मन्त्रिपरिषदले निर्णय गरिसकेको छ, कसरी सेवा दिने भन्नेवारे विस्तृत खाका बन्दैछ’ प्रवक्ता पन्तले भने, ‘बिदाका दिन समेत कार्यालय खुलेपछि सेवाग्राहीलाई सहज र अनुकुल हुने ठानेर यस्तो अवधारणा कार्यान्वयन गर्न खोजिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?