+
+

हामीले इनिङ्स समाप्त गर्दा २० रन कम भएजस्तो लागेको थियो : प्रशिक्षक टमाटा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते ९:०२
Photo Credit : Dev Khanal/Instagram

१९ फागुन, काठमाडौं । नेपाललाई ८ वर्षपछि यू–१९ विश्वकपमा छनोट गराएपछि मुख्य प्रशिक्षक जगत टमाटाले उत्कृष्ट बलिङ र फिल्डिङले युएई विरुद्ध जित सम्भव भएको प्रतिक्रिया दिएका छन् ।

यू–१९ विश्वकपको एसिया छनोटमा बिहीबार घरेलु टोली युएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा छनोट भएको छ ।

एसिया छनोटको सबै पाँच खेल जित्नै अपराजित रहेर च्याम्पियन बनेपछि नेपालका मुख्य प्रशिक्षक जगतबहादुर टमाटाले आईसीसीसँग भने, ‘हामीले आफ्नो इनिङ्स समाप्त गर्दा बीस रन कम भएजस्तो लाग्यो, तर उत्कृष्ट बलिङ र फिल्डिङका कारण हामीले यो खेलमा पुनरागमन गर्यौं ।’

सन् २०१६ मा टमाटाकै प्रशिक्षणमा नेपालले पछिल्लो पटक बंगलादेशमा यू–१९ विश्वकप खेलेको थियो । त्यसबेला नेपाल समूह चरण पार गर्दै क्वाटरफाइनलसम्म पुगेको थियो ।

प्रशिक्षक टमाटाले युएई विरुद्धको जितले छनोट प्रतियोगिता सफल भएको बताए । ‘आज (बिहीबार)को जितले हाम्रो लागि क्वालिफायर निकै सफल रह्यो । हामीले गत हप्तामा धेरै प्रतिभाशाली क्रिकेटरहरू विरुद्ध खेलेका छौं, तर हाम्रो लागि अपराजित रहँदै जित्नुले यस टोली भित्र रहेको प्रतिभा उजागर गर्दछ ।’

युएई विरुद्ध जितबाट टाढिएको अवस्थामा लेफ्ट आर्म स्पीनर दिपेश कँडेलले लगातार तीन बलमा विकेट लिएपछि नेपालले युएईलाई ४८ ओभरमा १८४ रनमै अलआउट गरेर १९१ रनको स्कोर रक्षा गरेको थियो ।

त्यसअघि अजमानस्थित एडेन गार्डेन ओभलमा कप्तान देव खनालको अर्धशतक मद्दतमा नेपालले १९१ रन बनाएको थियो । अघिल्ला चार खेलमा शानदार प्रदर्शन गर्दै जित निकालेको नेपालले युएई विरुद्ध दुवै इनिङ्समा सुरुमा संघर्ष गर्नुपरेको थियो ।

सुरुमै ३ विकेट गुमाएको नेपालको इनिङ्स कप्तान देवले नै सम्हालेका थिए । उनलाई उत्तम थापा मगर र विशाल विक्रम केसीले साथ दिए । बलिङमा सुरुमा विकेट लिन नसकेपनि पछि नेपालले उत्कृष्ट पुनरागमन गर्यो, जहाँ दिपेशले ह्याट्रिकसहित ५ विकेट लिए ।

नेपाली टिम २०२४ को यू–१९ विश्वकपको लागि छनोट चरणबाट छानिने पहिलो टिम समेत बनेको छ । २०२२ मा भएको विश्वकपका शीर्ष ११ टिम सिधै छनोट भइसकेका छन्, जसमा आयोजक श्रीलंकासहित अष्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र जिम्बावे छन् ।

पाँच क्षेत्रको छनोटबाट ५ टिम विश्वकप पुग्ने प्रावधान छ । अब युरोप, अफ्रिका, अमेरिका र एसिया प्यासिफिकको छनोट प्रतियोगिताबाट १–१ टिम यू–१९ विश्वकपमा छनोट हुनेछन् ।

नेपाल उमेर समूहको विश्वकपमा छनोट भएको यो आठौं पटक हो । तर पछिल्लो एक दशकमा भने नेपालले एक पटक मात्र यू–१९ विश्वकप खेलेको थियो । यू–१९ विश्वकपमा छनोट भएपछि जुनियर खेलाडीहरुको लागि यसले ठूलो महत्व राख्छ र भविष्यका स्टार खेलाडीहरु यहीबाट जन्मनेछन् ।

प्रशिक्षक टमाटाले विश्वकपमा स्थान बनाउनका लागि टोलीमा सबैले कडा मिहिनेत गरेको बताए । ‘हामीले आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप २०२४ मा स्थान सुरक्षित गर्ने क्वालिफायरमा अविश्वसनीय रूपमा कडा परिश्रम गर्यौं,’ उनले भने ।

अब ठूला टिम विरुद्ध खेल्न नेपाली टोली उत्साहित छ । ‘हामी अर्को वर्ष श्रीलंकामा विश्वकपका सबैभन्दा बलिया टोलीहरु उत्कृष्ट खेलाडीहरु विरुद्ध खेल्ने सम्भावनाबाट उत्साहित छौं,’ प्रशिक्षक टमाटाले भनेका छन् ।

सन् २०१८ मा नेपालको सिनियर टिमलाई पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत दिलाउने प्रशिक्षक टमाटाले आईसीसीसँग भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?