+
+

विदेशी पर्यटकलाई विनागाइड पदयात्रामा जान प्रतिबन्ध

टिम्स कार्डको मूल्य शतप्रतिशत बढ्यो

अच्युत पुरी अच्युत पुरी
२०७९ फागुन १९ गते १७:४०

१९ फागुन, काठमाडौं । नेपालमा अब विदेशी पर्यटकले विनागाइड पदयात्रामा जान नपाउने भएको छ । नेपाल पर्यटन बोर्डले १ अप्रिल २०२३ देखि लागु हुने गरी यस्तो निर्णय गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

नेपालमा कोभिड-१९ भन्दा अगाडि सन् २०१९ मा ४६ हजार १४२ पर्यटक ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’का रुपमा आएका थिए । सन् २०२२ मा यो संख्या १९ हजार ४२५ थियो । यस्ता पर्यटकले नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाने गरेका थिए ।

यस्ता पर्यटक पदयात्राका दौरान बढी असुरक्षित हुने र समस्या पर्दा उद्दारमा पनि समस्या हुने अवस्था दोहोरिएपछि गन्तब्यलाई अझ बढी सुरक्षित बनाउन यस्तो निर्णय लिनु परेको लामिछानेले बताए । ‘गन्तब्यलाई सुरक्षित, उद्दारमा सहज र व्यवस्थापनलाई चुस्त बनाउन यस्तो निर्णय भएको हो,’ उनले भने, ‘यो निर्णय नेपालमा रोजगारी सिर्जनामा समेत फलदायी हुनेछ ।’ यससँगै अब एफआईटीका लागि जारी हुने टिम्स कार्ड जारी नहुने भएको छ । पर्यटकले ट्रेकिङ कम्पनीमार्फत नेपाल आएर गाइड लिएर मात्र पदयात्रामा निस्कनु पर्ने भएको छ ।

टिम्स कार्डको मूल्य शतप्रतिशत बढ्यो

बोर्डले एफआईटीका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्नेछ । यसअघि समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति १ हजार रुपैयाँ र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति २ हजार रुपैयाँ तिरेर टिम्स कार्ड पाउँथे । अब भने सबै पर्यटकका लागि टिम्स कार्डको मूल्य प्रतिव्यक्ति २ हजार रुपैयाँ पुर्‍याइएको छ । अर्थ मन्त्रालयबाट शुल्क बढाउने स्वीकृति लिएर पर्यटन मन्त्रालयको सहमतिमा टिम्स कार्डको मूल्य बढाउने निर्णय भएको निर्देशक लामिछानेले बताए ।

नेपालका साहसिक गन्तब्यमा जोखिमपूर्ण यात्रामा निस्कने पर्यटकको सुरक्षाको ग्यारेन्टी गर्दै गुणस्तरीयता कायम राख्न एक्लै भ्रमणमा जान रोक लगाउँदै टिम्स कार्डको मूल्य समान गराइएको उनले बताए । सार्क मुलुकका नागरिकले यसअघि ३ सय रुपैयाँ तिर्दै आएको टिम्स कार्डलाई अब १ हजार तिर्नुपर्ने भएको छ ।

यसले गन्तब्य महँगो भएको सन्देश जाँदैन ?

बोर्डको यस निर्णयले गन्तब्यलाई केही महँगो बनाउने छ । तर, पर्यटकले सुरक्षित यात्राको ग्यारेन्टीका लागि यो शुल्कलाई धेरै महँगो रुपमा नदिने सुझाव पर्यटन व्यवसायीबाटै आएपछि अध्ययन गरेरै टिम्सको शुल्क बढाउने निर्णय भएको निर्देशक लामिछानेले बताए ।

‘अहिले संसारभर दीगो पर्यटनको अवधारणा आएको छ, पर्यटनबाट स्थानीयले लाभ पाउन्, रोजगारी पाउन् भन्ने चाहना स्वयम् पर्यटक चाहन्छन्,’ उनले भने, ‘यो निर्णयले पर्यटकमा नकारात्मक सन्देश जाँदैन ।’

टिम्सको मूल्य बढाउने र एकल रुपमा जानेले अनिवार्य गाइड लैजानु पर्ने निर्णय पर्यटन व्यवसायीहरुसँगको छलफलपछि भएको उनले जानकारी दिए ।

टिम्स कार्ड अनलाइनबाटै लिन सकिने

अहिलेसम्म टिम्स कार्ड लिन नेपाल पर्यटन बोर्ड वा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टाने)को कार्यालयमा भौतिक रुपमा उपस्थित हुनुपर्ने अवस्था छ । बोर्डले यो प्रावधानलाई सहजीकरण गर्दै अनलाइनबाटै टिम्स कार्ड दिन सकिने व्यवस्था गर्ने निर्णय समेत गरेको छ । यी सबै प्रावधान १ अप्रिलदेखि लागु हुने भएका छन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?