+
+

भर्खरै जन्मिएको शिशुलाई हवाईयात्रा गराउँदा के हुन्छ ?

मनिषा थापा मनिषा थापा
२०७९ फागुन १९ गते १६:५३

काठमाडौं । नवजात शिशुलाई हवाईयात्रा गराउन सकिन्छ ? यदि हवाईयात्रा गराउनु परेमा के कस्तो सावधानी अपनाउनुपर्ने हुन्छ ?

धेरैको मनमा उठ्ने जिज्ञासा हो यो । त्यसो त कतिपयले हवाईयात्राकै क्रममा बच्चा जन्माएको पनि खबर सुन्न पाइन्छ । छिटोछरितोका लागि मात्र होइन, कतिपय बाध्यात्मक अवस्थामा पनि हवाईयात्रा गर्नुपर्ने हुन्छ ।

नवजात शिशु आफैंमा संवेदनशील हुन्छन् । उनीहरुको स्वास्थ्य स्थिति पूर्णरुपमा बलियो भइसकेको हुँदैन । त्यसैले केही असहज हुन सक्छ । यद्यपि यात्रा गराउनै हुन्न भन्ने चाहिं छैन । विशेष हेरचाह गर्न सकेमा शिशुलाई हवाईयात्रा गराउन सकिन्छ ।

शिशुसँगै आमाको स्वास्थ्य पनि पूर्णरुपले ठीक भइसकेको हुँदैन । यस्तो अवस्थामा छोटो यात्रा गर्न सकिएपनि लामो अझ भनौं अन्तर्राष्ट्रिय यात्रा गर्न सहज हुँदैन । यसले थकान त छँदैछ, संक्रमणको जोखिम पनि हुन्छ । सामान्यतया शिशु जन्मिएको एक–दुई महिनापछि भने अन्तर्राष्ट्रिय हवाई यात्रा गराउन सकिन्छ ।

हवाईयात्रा गराउँदा नवजात शिशुलाई हुन सक्ने समस्या

कान दुख्ने

नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. नीमा श्रेष्ठका अनुसार हवाईयात्राको क्रममा केबिनमा हावाको चाप परिवर्तन हुन्छ । जसकारण शिशुलाई कान दुख्ने समस्या हुन सक्छ । हवाईजहाजभित्र कोलाहल धेरै हुन्छ । विशेषगरी टेकअफको समयमा शिशुको यात्रालाई असहज बनाउन सक्छ । विमान उड्ने र अवतवरण गराउँदा शिशुलाई कान दुख्ने समस्या हुन सक्छ ।

‘जहाजको आवाजले उनीहरु रुने र कराउने गर्छन् । यस्तोमा उनीहरुलाई स्तनपान गराउँदा दूध निल्दा चाप रिलिज हुन्छ, जसले कान दुख्ने समस्या कम हुन्छ,’ उनले भनिन्, ‘तौल कम भएका बच्चामा झनै कानमा असर पर्ने भएकाले कानमा कपास राखेर र पछि प्लेनबाट ओर्लिएपछि निकाल्नुपर्छ ।’

संक्रमणको जोखिम

बन्द क्याबिनमा बस्दा संक्रामक रोग रुघाखोकी, ज्वरो सर्ने सम्भावना अधिक छ । नवजात शिशुको प्रतिरोध क्षमता कमजोर हुने भएकाले हवाईजहाज यात्रा विशेष सावधानी अपनाउनुपर्ने डा. श्रेष्ठ बताउँछिन् ।

सास फेर्न गाह्रो

विमानको क्याबिनमा हावाको चाप जमिनमा रहेको हावाको चापभन्दा कम हुन्छ । अक्सिजनको स्तरमा भएको केही क्षणको परिवर्तनले स्वस्थ बच्चाका लागि समस्या निम्त्याउँदैन । तर समयपूर्व जन्मिएका बच्चामा समस्या निम्त्याउन सक्छ । त्यसैले चिकित्सकको सुझावमा मात्रै यात्रा गराउनुपर्छ ।

शिशुलाई टिकट शुल्क लाग्छ ?

बुद्ध एयरका सञ्चार विभागका प्रमुख दीपेन्द्र कर्णका अनुसार आन्तरिक उडानमा जन्मिएको सात दिनपछिका शिशुलाई आमासँगै यात्रा गर्न अनुमति दिइन्छ । स्वास्थ्यमा जोखिम भएका शिशुको हकमा भने फिट टु फ्लाई भन्ने कागजात चाहिन्छ । २३ महिनासम्मको शिशुको टिकट शुल्क नलाग्ने तर यात्रा बिमा शुल्क भने तिर्नुपर्ने उनी बताउँछन् ।

अन्तर्राष्ट्रिय उडानका लागि शिशु तीन महिना पूरा भएको हुनुपर्छ । तीन महिना पुगेको शिशुले जन्मदर्ताको आधारमा हवाईयात्रा गर्न मिल्ने नेपाल एयरलाइन्सकी आन्तरिक कक्षकी कर्मचारी सुमना खरेल बताउँछिन् । अन्तर्राष्ट्रिय उडानमा २३ महिनासम्मको शिशुका लागि १० प्रतिशत शुल्क लाग्छ । यद्यपि यो एयरलाइन्स कम्पनीको नियम र गन्तव्यअनुसार फरक पर्न सक्ने खरेलको भनाइ छ ।

नवजात शिशुसहित यात्रा गर्दा अपनाउनुपर्ने सावधानी

डा. श्रेष्ठका अनुसार नवजात शिशु भएका महिलाले स्तनपान गराउन सहजताको लागि हाइड्रेट हुनुपर्छ । जसका लागि समयमा खाना र तरल पदार्थ सेवन गर्नुपर्छ । त्यस्तै, लामो हवाईयात्रामा निरन्तर स्तनपान गराउन नसक्दा अवतरण गर्ने बेलासम्मका लागि बच्चाको लागि दूध राख्नुपर्छ । धेरै समयसम्म फ्लाइट हुँदा शिशुलाई भोक लाग्ने हुँदा पटकपटक स्तनपान गराउनु आवश्यक हुन्छ ।

शिशुले दिसा पिसाब गर्ने हुँदा डाइपर बोक्नुपर्छ । सकेसम्म वरपर बस्ने व्यक्तिले मास्क लगाउनुपर्छ, ताकि संक्रमण हुने जोखिम कम होस् । शिशुलाई मौसमअनुसारको लुगा लगाइदिनुपर्ने डा. श्रेष्ठ सुझाउँछिन् ।

लामो यात्रामा जाने हो भने पहिले नै आफ्नो बच्चाको लागि कार सिट लान सकिन्छ, तर यो सुविधा हरेक एयरलाइन्सले प्रदान गर्दैनन् ।

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?