+
+

छड्के-२ : कमजोर ओपनिङका पाँच कारण

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते ११:०३

काठमाडौं । व्यावसायिक आशा राखिएको अनमोल केसी स्टारर फिल्म ‘२.० छड्के’ले निराशाजनक ओपनिङ गरेको छ । पहिलो सप्ताहन्तको ओपनिङ यति कमजोर छ कि प्रमुख मल्टिप्लेक्सले आइतबारदेखि शोमा कटौती गरेका छन् ।

स्वयं निर्माताले यो तहमा फिल्मले ओपनिङ गर्ला भन्ने सोचेका थिएनन् । अहिलेका महंगा अभिनेता अनमोलको पहिलो ग्याङस्टर फिल्म बताइएको छड्के २ को असफलताले अलग जनरामा आफूलाई स्थापित गर्ने अनमोलको प्रयासमा धक्का लागेको छ ।

निर्देशक निगम श्रेष्ठका लागि यो लगातार तेस्रो असफलता हो । उनी निर्देशित छड्के र लालपूर्जा समेत बक्सअफिसमा पूर्णतः असफल रहे । समीक्षकहरु यी तीनै फिल्मको व्याकरणमा एउटै खाले समस्या रहेको बताउँछन् ।

हरेक फिल्मका लागि पहिलो सप्ताहन्त निकै महत्वपूर्ण हुन्छ । खासगरी ओपनिङमा टिकेका छड्के २ जस्ता फिल्मका लागि त पहिलो सप्ताहन्त जरुरी भइहाल्ने भयो । महत्वपूर्ण मानिएको पहिलो शुक्रबार र शनिबारको व्यापार नै निराशजनक भइसकेपछि छड्के २ को व्यावसायिक भविष्यका लागि बाँकी दिनहरु जोखिमपूर्ण छन् । यहाँ केही कारण उल्लेख गरिन्छ, जसले प्रतीक्षित छड्के २ को ओपनिङ कमजोर रह्यो ।

ट्रेलर र गीतबाटै कमजोर प्रतिक्रिया

ट्रेलरको अर्थ कथाको विज्ञापन गर्नु हो । छड्के २ को मामिलामा यो हुन सकेन । टिजर र ट्रेलरमा आधारभूत रुपमै समस्या थियो । कथा र पात्रको स्थापना हुन सकेन । कसको कथा थियो, कथाको अंश के हो ? यी कुराको उल्लेख थिएन । भिटेनजस्ता अब्बल र्‍यापरको गीतले समेत प्रशंसा बटुल्न सकेन जसको प्रभाव फिल्ममा देखियो ।

प्रचारप्रसार शून्य

कम्तीमा महंगो बजेट र चलेका कलाकार भएका फिल्मले दर्शकमाझ पुग्न प्रचारप्रसारलाई व्यापक तुल्याउनुपर्ने हो । निर्मातादेखि कलाकारले फिल्म रिलिजको दिनसम्म मिडिया र पब्लिसिटीलाई पूर्णतः अस्वीकार गरे । कतिपय दर्शकले त फिल्म रिलिज भएपछि मात्र फिल्मबारे थाहा पाए । दर्शकलाई फिल्मबारे अत्तोपत्तो भएन ।

१० वर्षपछि दोस्रो शृंखला आउँदा पनि निर्देशकले दर्शकलाई यसबारे बुझाउनै सकेनन् ।

लक्षित समूह नै हेर्न गएनन्

ग्याङस्टर फिल्म भन्ने बित्तिकै दर्शकको सीमित दायरा हुन्छ । निश्चित उमेर समूह र वर्गका दर्शकले यसलाई रुचाउँछन् । विशेषगरी किशोरकिशोरी र युवापुस्तामाझ यो जनराको लोकप्रियता छ । तर उक्त समूहका दर्शक नै हलमा गएनन् । क्यूएफएक्सकै केही हलमा शो स्थगित समेत भए ।

नकारात्मक वर्ड अफ माउथ

छड्के २ को समीक्षा पूर्णतः नेगेटिभ रह्यो । हेरेका दर्शक निराश मात्र भएनन्, उनीहरुले अरुलाई समेत हेर्न प्रोत्साहित गरेनन् । पहिलो दिन नै नकारात्मक वर्ड अफ माउथ प्राप्त हुँदा दोस्रो दिन यसले पिकअप लिन सकेन । फिल्मले दर्शकलाई होल्ड गर्न सकेन ।

हिंसा र गुण्डागर्दीको कथामा दर्शकको रुचि देखिएन

छड्के २ को कमजोर ओपनिङले दर्शकको मनोविज्ञान र चाहनालाई समेत प्रतिविम्बित गर्छ । नेपाली दर्शकले मारकाट, झगडा र हिंसात्मक कथावस्तुका फिल्मलाई रुचाएनन् भन्ने सन्देश यसले दिन्छ । नेपालमा जति पनि फिल्म हिट भएका छन् तीमध्ये अधिकांश पारिवारिक कथावस्तुमा बनेका छन् । भन्नुको अर्थ, अलग जनराका फिल्म पनि बन्नुपर्छ भन्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?