२१ फागुन, काठमाडौं । विजयको सपना साकार पार्न ७ रन चाहिएको बेला उसको हातमा ३ विकेट र खेल्न बाँकी १५ बल पनि छ ।
सफलता नजिक पुगेको विपक्षीको त्यो सपना बिथोलेर आफ्नो सपना पूरा गर्न तपाईंको हातमा मात्र ३ बल छ ।
तीनै बलमा लगातार ३ विकेट लिएर विजयी बन्न सम्भव हुन्छ ?
हुन्छ भने त्यो दिपेश कँडेलबाट सम्भव छ भनेर उनले प्रमाणित गरेका छन् । नेपाललाई आउँदो वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकप क्रिकेटमा छनोट गराउने क्रममा उनले एसिया क्षेत्रको छनोटको यूएईसँगको अन्तिम खेलमा ह्याट्रिक विकेट लिए ।
१९२ रनको लक्ष्य पछ्याएको यूएईले ४७ ओभरको खेल सकिँदा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो । यस्तो स्थितिमा ४८ औं ओभरमा बलिङको जिम्मा उनले पाएका थिए ।
४८ ओभरको पहिलो बलमा दिपेशले १ रन खाए, दोस्रो बल डट भयो, तेस्रो बलमा यूएईका ब्याटर हर्षित सेथले २ रन चोरे ।
तर उनले चौथो, पाँचौ र छैटौं बलमा लगातार विकेट झारे र नेपाललाई ८ वर्षपछि उमेर समूहको विश्वकपमा छनोट गराए ।
१० औं ओभर बलिङ गरिरहेका उनले चौथो बलमा हर्षितलाई बोल्ड गरे । ‘पहिलो विकेट लिएपछि सबैजना हर्षित भयौं’, उनी सम्झन्छन्, ‘एकदमै महत्वपूर्ण क्षणमा आएको विकेटले टिममा उत्साहको माहोल बनेको थियो ।’
हर्षित आउट भएपछि नयाँ ब्याटर हरिष हरित सेठ्ठी स्ट्राइकमा आए । खेलमा अब यूएईले ८ रन बनाउनु पर्ने थियो भने नेपालले ८ रन बनाउनबाट रोक्नु पर्ने थियो । ८ रन बनाउनबाट रोक्ने एउटा उपाय थियो यूएईका खेलाडीलाई आउट गर्नु ।
मैदानमा टिमका साथीहरुले हौसला बढाइरहेका थिए । दिपेशको मनोबल बढेको थियो । ‘अब त झन हामीले गर्नै पर्छ भन्ने भयो । पहिलो विकेट लिए पछि मलाई आत्मविश्वास पनि बढेर आयो ।’
उनले पाँचौ बलमा हरिषलाई देवको हातबाट क्याच गराए । दिपेशका लागि यो खेल अविष्मरणीय बनिरहेको थियो ।
हरिषको ठाउँमा ब्याटिङमा आएका थिए मोनिष गजेश । दिपेशले यो खेलको आफ्नो अन्तिम बल फाल्दै थिए । साथीहरुले उनलाई जोस्याइरहेका थिए । ‘म त्यो बल जिन्दगीको अन्तिम बल जसरी फाल्दै थिएँ । देव दाइ (कप्तान देव खनाल) र टिमले निकै प्रोत्साहन दिइरहेको थियो ।’
दिपेशले फालेको बल मोनिषको ब्याटमा आएन, बल सिधै स्टम्पमा लाग्यो । मोनिष बोल्ड भए । दिपेशको बलले हल्लिएका स्टम उचालेर टिमका अन्य खेलाडी खुसी मनाउन थाले ।
दिपेशले के गर्ने होस नै भएन । उनी बेजोडले मैदानमै भागे । एकछिन पछि त उनी रुन पो थाले । नेपाललाई विश्वकप छनोट गराएको त्यो क्षण अहिले पनि सम्झन्छन् उनी, ‘त्यो क्षण म शब्दमा बयान गर्नै सक्दिन । जीवनकै सबैभन्दा उत्कृष्ट क्षण थियो मेरो लागि ।’
उनले जीवनम बिरलै आउने एउटा अवसर सदुपयोग गरेका थिए । भन्छन्, ‘यस्त अवसर बारम्बार आउँदैनन्, देशलाई चिनाउन पाएँ ।’
उनले कसिलो बलिङ गरेर यूएईको विकेट नझारेको भए विश्वकप खेल्ने युवा टिमको सपना सपनामै सिमित हुने थियो ।
उनले विकेट लिन सक्छन् भन्ने विश्वास टिममा थियो । कप्तान देव र अरु खेलाडीले उनको हौसला बढाइरहेका थिए । ४८ औं ओभरमा बल थमाउँदै गर्दा उनलाई देवले सम्झाएका थिए । ‘देव दाइले बल बाइ बल ध्यान दिएर सम्झाइरहनुभएको थियो, ‘तिमीले सक्छौं, आज इतिहास रच्ने दिन हाे, तिमीले इतिहास कोर्नुपर्छ’ भन्दै सम्झाइराख्नु भएको थियो । सबै टिमले ब्याक सपोर्ट गरिरहेको थियो ।’
निर्णायक बेलामा आफूलाई टिमले गरेको विश्वासमा खरो उत्रिन पाउँदा दिपेश निकै खुसी छन् । ‘टिमले दिएको जिम्मेवारी पूरा गर्दा खुसी छु ।’
क्रिकेटमा बिरलै हुने ह्याट्रिक विकेट उनले लिएका थिए । उनलाई ह्याट्रिक गरेकोमा भन्दा पनि टिमलाई जिताउन पाएकोमा गौरव लागेको छ । ‘मैले ह्याट्रिक भन्दा पनि हामीले जित्यौं भन्ने मात्रै थियो । हामीले गरेको मेहनत सफल भयो भन्ने मात्रै दिमागमा थियो ।’
खेलको नायक बने पनि दिपेश यसको श्रेय टिमलाई दिन हिच्किचाउँदैनन् । ‘देशले जितेको छ । म आफूलाई मात्रै श्रेय दिन्न । यो श्रेय टिमलाई जान्छ । साथीहरु, कप्तान र प्रशिक्षक सबैलाई जान्छ’, उनले भने ।
विकेट लिएको क्षणका साथै उनलाई प्रशिक्षक जगत टमाटाले गरेको प्रसंशा खास लागेको छ, ‘जितेर ड्रेसिङ रुम फर्किए पछि ‘वेल डन’ म निकै खुसी छु भन्नुभयो ।’
यूएई र नेपाल दुवैले छनोटका ४ खेल सजिलै जितेको थिए । यो खेल जित्ने टिम विश्वकपमा छनोट हुन्थ्यो भने हार्ने टिमको विश्वकप सपना चकनाचुर हुन्थ्यो ।
दिपेशको क्रिकेट यात्रा
सुर्खेतको तत्कालीन लाटीकोइली गाउँपालिका-८ मा जन्मिएका दिपेशको क्रिकेट यात्रा पूर्वी नेपालको विराटनगरबाट सुरु भएको हो । जागिरे बुवाको पछि लागेर विराटनगर पुगेका उनले पढाइसँगै टेनिस बलबाट क्रिकेट खेल्न थाले । सुरुमा मनोरञ्जनका लागि खेलेको क्रिकेट उनको लागि पहिचान बन्यो । ‘सुरुमा टेनिस बलले क्रिकेट खेल्न थालेको थिएँ । पहिला देशको लागि खेल्छु भनेर सोचेको पनि थिइनँ । तर पछि एकेडेमी जान थालें । मेहनत बढी गर्न थालें ।’
खेल्दै गएपछि देशका लागि खेल्छु भन्ने भावना बढ्दै गयो । ‘मेहनत गर्दै गएँ । मेरो मेहनतले रङ्ग भ¥यो । देशलाई जिताउन पाएँ । निकै खुसी छु ।’
परिवारका कान्छा छोरा दिपेश हाल क्रिकेटकै लागि विराटनगरमा एक्लै डेरा गरी बस्छन् । परिवारको साथ नै दिपेशको क्रिकेट यात्राको बलियो मेरुदण्ड हो । उनलाई विराटनगरमा बस्ने र खेल्ने वातावरण परिवारले मिलाइदिएको छ । यो सफलतापछि उनको परिवारको सान र मान बढेको छ । ‘घरमा सबैजना निकै खुसी हुनुहुन्छ । छोराले देशलाई चिनायो भन्नुहुन्छ ।’
प्रदेश १ को यू–१९ टिममा खेलिरहेका दिपेशले प्रधानमन्त्री कपको पछिल्लो संस्करणमा मौका पाएनन् । तिहार मनाउन सुर्खेत गएका बेला बन्द प्रशिक्षण सुरु हुँदा उनी छुटे । ‘तिहारमा घर गएको थिएँ । तिहारको टिकाको भोलीपल्टबाट नै झापामा क्याम्प लाग्यो जसले गर्दा मैले यस सिजनको प्रधानमन्त्री कप प्रतियोगिता खेल्न पाइनँ ।’
त्यसअघिको प्रधानमन्त्री कप खेलेका उनको क्षमता प्रदेश एकले पाइसकेको थिए । सिनियरमा उनले एभरेष्ट प्रिमियर लिगको दोस्रो संस्करणमा विजेता टिम विराटनगर वारियर्सबाट खेलेका थिए ।
पहिले गुराँस क्रिकेट एकेडेमीबाट क्रिकेट प्रशिक्षण सुरु गरेका उनी हाल होराइजन क्रिकेट एकेडेमीमा प्रशिक्षण गरिरहेका छन् ।
विश्वकपमा छनोट भएपछि अब आफ्नो करिअरले उचाइ लिनेमा १७ वर्षीय उनी आशावादी छन् । उनलाई अझै राम्रो गर्नुपर्छ भन्ने पनि लागेको छ, ‘राम्रो गरें अब यतिले पुग्दैन अझै मेहनत गर्दै जानेछु,’ भन्छन्, ‘राम्रो प्रतिक्रिया पाई रहेको छु । झनै खेल्ने हौसला बढेको छ ।’
२०२४ को विश्वकप अवसर
२०२४ मा श्रीलंमा हुने यू–१९ विश्वकपमा दिपेशले पनि खेल्न सक्छन् । तर त्यसका लागि उनले धेरै मेहनत गर्नुपर्ने छ । विश्वकपलाई सुनौलो अवसरको रुपमा लिएका उनी भन्छन्, ‘विश्वकप कुनै सानो कुरा होइन । हामीले ८ वर्षपछि खेल्ने मौका पाएका छौं । अब अझै मेहनत गर्नु छ ।’
विश्वकपमा छनोट गराउने जुन जिम्मेवारी उनले पूरा गरे । अब त्यो जिम्मेवारी झनै बढेको छ । उनले भने, ‘फिटनेसमा ध्यान दिन्छु, अझै राम्रो गर्नेछु । काँधमा जिम्मेवारी थपिएको छ । राम्रो गर्ने आशा छ ।’
तस्वीर तथा भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4