
२१ फागुन, चितवन । नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य सूर्य सुवेदी पथिक एवम् प्रतिनिधि सभा सदस्य ज्ञानु बस्नेतको चितवनको भरतपुरस्थित घरमा राखिएको स्कुटरमा आगजानी भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. १४ फूलवारीमा रहेको सुवेदीको घरमा राखिएको ना ३५ प ७४४९ नम्बरको नम्बरको स्कुटर आगजनी भएको हो ।
आगो कसैले लगाएको हो वा कतै सर्ट भएर लागेको हो भन्ने नखुलेको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए ।
कम्पाउण्ड नभएको खुला घर भएकोले कसैले आगो लगाएका हुन पनि सक्ने अनुमान प्रहरीको छ । गएराति ११ बजेतिर नै प्रहरीलाई आगो लागेको खबर आएपछि प्रहरी चौकी फूलवारीबाट गएका प्रहरीले आगो निभाएका थिए ।
स्कुटरमा आगो लाग्दा घरको भित्ताहरुसमेत डढेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले घटनाको अनुसन्धान भैरहेको जानकारी दिए ।
माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले घटना निन्दनीय भएको भन्दै छानबिनको माग गरेका छन् ।
प्रतिक्रिया 4