+
+
फिल्म बहस :

स्क्रिप्ट नै सबैभन्दा ठूलो स्टार

विष्णु शर्मा विष्णु शर्मा
२०७९ फागुन २२ गते १०:५६

विश्व फिल्मले पछिल्लो महिना तीन दुर्दान्त व्यहोर्‍यो । हलिउडमा ‘एन्टम्यान एण्ड द वास्प’को बक्स अफिस संकटले मार्वल स्टुडियोलाई चुनौती सिर्जियो । ‘सेल्फी’ले बलिउडमा अक्षय कुमारलाई फ्लपको श्रृंखलाबाट उद्धार गर्न सकेन । नेपालमा ‘मेगास्टार’ कहलिएका अनमोल केसीले पहिलो दुर्भाग्यपूर्ण ओपनिङको सामना गरे । बक्स अफिसका यी तीन गणितबीच एउटा समानता छ, तीनै फिल्मको कथामा आत्मा थिएन ।

रिलिजपूर्व निकै हल्ला गरिएका यी तीन फिल्मले उद्योगलाई मात्र होइन, ‘स्टार’लाई पनि जोगाउन सकेनन् । स्टार र स्टुडियो प्रणालीको ‘हेजेमानी’लाई यो असफलताले उदाङ्गो बनाइदिएको छ । ‘टपगन माभेरिक’ र ‘अवतार : द वे अफ वाटर’बाहेक यस वर्ष ओस्कारमा छानिएका फिल्म स्टुडियो संरचनाका उत्पादन होइनन् ।

अक्षयको ‘सेल्फी’ मलायलम फिल्म ‘ड्राइभिङ लाइसेन्स’को रिमेक हो, जसले अक्षयको असफलताको श्रृंखलालाई रोक्न सकेन । ‘पठान’को ५०० करोड भारुको नेटलाई अपवाद मान्ने हो भने हिन्दी फिल्म अभूतपूर्व संकटबाट गुज्रिएको छ । यस्तै सादृश्य महसुस हुने ढंगले अनमोल केसीको ‘२.० छड्के’ नराम्रोसँग असफल भएको छ । रिलिज भएकै दिनमा शो क्यान्सिल हुनेदेखि ओपनिङ अकुपेन्सी १० प्रतिशत पनि नपुग्नु दुर्भाग्यपूर्ण हो । जसका लागि प्रवद्र्धनदेखि कमजोर क्राफ्ट र हिंसा नरुचाउने दर्शकीय मनोविज्ञानका सूचक जिम्मेवार छन् ।

पाँच दशक लामो इतिहास बोकेको नेपाली फिल्मले ६० को दशकदेखि जुन संकट भोग्दै आएको छ, त्यो पटकथासँग सम्बन्धित छ । अहिले पनि नेपाली फिल्ममा विचारका दुईवटा पाठशाला छन्, एउटा स्कुलले स्टारडमलाई प्रधान ठान्छ र अर्को स्कुलले पटकथालाई । यसैसाता रिलिज भएको ‘२.० छड्के’ यी दुई विचारको घर्षणको उपज हो जोसँग आवरण त भयो तर आत्मा (सोल) भएन । फिल्म पढेर र बाहिरी फिल्म हेरेर आएको पुस्ताले आवरणलाई कपि गर्‍यो तर सौन्दर्य चेतना बिर्सियो । यो प्रवृत्तिलाई संश्लेषण गरेर भन्न सकिन्छ, बजारले वस्तु त बेच्छ तर चेतना बेच्दैन ।

‘सेल्फी’मा अक्षय कुमार

स्टार भनेकै स्क्रिप्ट

ठूला फिल्मको असफलताले एउटा तथ्य सम्झाएको छ, ‘सबैभन्दा ठूलो स्टार भनेको स्क्रिप्ट हो ।’ ‘स्टारडम’ अर्थात् कलाकारको बाह्य ‘कल्ट’ले फिल्मको सुरुवाती व्यापारमा फाइदा पुगेपनि लामो समय यसले गति लिंदैन । जस्तै, ‘छक्कापञ्जा’को ओपनिङमा दीपक-दीपाको स्टारडम र यसको विगतको ब्राण्डले भूमिका खेल्न सक्छ । तर दुई अंकको कमाइ गर्न यसको स्क्रिप्टले सिर्जना गरेको ‘वर्ड अफ माउथ’ जरुरी हुन्छ । के ‘छक्कापञ्जा’को चौथो श्रृंखलाले ‘कबड्डी ४’को झण्डै २४ करोड ग्रसको कीर्तिमानलाई तोड्न सक्ला ? यसको उत्तर बलियो स्क्रिप्टमा निर्भर हुन्छ ।

यो प्रश्न यतिबेला उठिरहेको छ, जतिबेला त्यस्तै दृश्य मनोविज्ञानमा बनाइएका फिल्म बक्स अफिसमा फ्लप रहेका छन् । लुटले नेपाली फिल्मको ट्रेन्ड बदलेको भाष्य निर्माण भएको पनि हो । तर लुटकै मनोविज्ञानमा बनेका पछिल्ला फिल्मको श्रृंखलामा त्यसको प्रभाव किन पर्न सकेन भन्ने प्रश्न सोचनीय छ ।

‘२.० छड्के’माथि निर्माताको ठूलो लगानी थियो । अनमोल केसीले मात्र यसबाट ५० लाख रुपैयाँ पारिश्रमिक लिए । भिटेनले मात्र एउटा ओएसटी गीतका लागि १५ लाख लिएको बताइन्छ । कलाकारमा मात्र निर्माताले झण्डै करोड खर्चिएका छन् । तर जब फिल्म रिलिज भयो फिल्मप्रति निर्देशक इमान्दार नभएको देखियो । अन्ततः फिल्म निर्देशककै अभिव्यक्ति हो । फिल्मभरि निर्देशककै उपस्थिति देखिएन । जब फिल्म हलमा लाग्यो, यसभित्र स्क्रिप्टको भयंकर खडेरी देखियो । दृश्य आख्यानलाई आधारभूत रुपमै बेवास्ता गरिएको महसुस भयो ।

‘छड्के २’मा अनमोल केसी

किनभने चरित्रको सम्बन्ध बनाउने काम स्टारको होइन । उसको पात्रले त्यो काम गर्ने हो । हालै रिलिज भएको दक्षिण भारतीय फिल्म ‘पुष्पा’ र केजीएफ २ ग्याङस्टर फिल्मका राम्रा उदाहरण हुन्, जसमा साधारण मान्छेले कसरी ग्याङको उचाइ हासिल गर्छ भन्ने व्याकरणीय ग्राफ उतारिएको छ । अंग्रेजीमा भनाइ छ- जहाँ इम्प्याथी हुँदैन त्यहाँ सिम्प्याथी हुँदैन । यो मर्मलाई ती ग्याङस्टर फिल्मले फिल्म निर्माणको आधारभूत दर्शनको रुपमा प्रस्तुत गरेका छन् । किनभने गुण्डागर्दी त सेटिङ मात्र हो ।

सेटिङ, प्रप्स र स्टारडम निर्माणमा जति लगानी भएको देखियो, पटकथामा लगानी शून्य थियो । ‘छड्के २’को असफलताले स्टारडम र यसको भ्रमबारे जबर्जस्त सन्देश दिएको छ । कतिपय कोणबाट ‘मेगास्टार’ भनिएका अनमोलको ‘पर्सनल कल्ट’ले पनि काम नगरेको देखियो । जसकारण फिल्मको पहिलो सप्ताहन्त (२ दिन)को कमाइ झण्डै ३० लाख रुपैयाँ हाराहारीमा देखिन्छ । गत महिना निर्देशक शोभित बस्नेतको फेसबुक स्टाटसलाई यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन आउँछ । उनले लेखेका थिए- महंगो पारिश्रमिक लिनेमा पहिलो दिन हलसमेत भर्ने ग्यारेन्टी लिनुपर्छ । यस्तै अभिव्यक्ति बलिउड निर्माता करण जोहरले पनि दिएका थिए । करोडौं पारिश्रमिक लिनेले पाँच लाख भारुको पनि सुनिश्चित गर्न सक्दैनन् भन्ने आशय उनको थियो ।

स्टारडमको मामिलामा टम क्रुजदेखि शाहरुख खानसम्म पटक-पटक चिप्लिएका छन् । तर यी दुईको प्रमुख जोड पटकथामै देखिन्छ । स्क्रिप्ट कमजोर हुँदा ‘लाल सिंह चड्डा’ले आमिर खानको स्टारडमको विरासतलाई छिनभरमै कसरी ध्वस्त तुल्यायो, त्यो निकट अतीततिरै हेरे पुग्छ । यसकारण पछिल्लो समय स्क्रिप्ट नै स्टार भन्ने मान्यताको विकास हुँदैछ, जसलाई विश्व फिल्ममा स्टारडमको चुचुरोमा पुगेका टम क्रुज पनि अस्वीकार गर्न सक्दैनन् ।

लुट’को सफलता ‘छड्के २’को असफलतामा टुंगिएको हो ?

‘छड्के २’ले २०६९ सालमा रिलिज भएको ग्यास्टर फिल्म ‘लुट’लाई सम्झाउँछ । सिंहावलोकन गर्न किनपनि जरुरी छ भने ‘लुट’ र ‘छड्के २’को रचनागर्भ एउटै हो । स्कुल अफ थटको कुरा गर्दा निर्देशक निगम श्रेष्ठ ‘लुट’ निर्माणका एक महत्वपूर्ण मस्तिष्क हुन् । त्यो माइन्डबाट लुट बनेको थियो भने ‘लुट’कै मनोवैज्ञानिक श्रृंखलाबाट बनेका फिल्महरु किन धमाधम असफल भइरहेका छन् ? लुट हिट हुँदा सोही दृश्य मनोविज्ञानबाट बनेका फिल्महरु छड्के, लुट २ र छड्के २ किन असफल भए ? के लुटको सफलता सतही थियो ?

यो प्रश्न यतिबेला उठिरहेको छ, जतिबेला त्यस्तै दृश्य मनोविज्ञानमा बनाइएका फिल्म बक्स अफिसमा फ्लप रहेका छन् । लुटले नेपाली फिल्मको ट्रेन्ड बदलेको भाष्य निर्माण भएको पनि हो । तर लुटकै मनोविज्ञानमा बनेका पछिल्ला फिल्मको श्रृंखलामा त्यसको प्रभाव किन पर्न सकेन भन्ने प्रश्न सोचनीय छ । लुटको प्रभाव पर्नुपर्थ्यो परेन । यस्तो लाग्छ, लुटको सफलता छड्के २ को असफलतामा आएर टुंगिएको छ । हरेक ट्रेन्डसेटरको विश्वब्यापी अभ्यास के हो भने त्यसले निर्माण गरेका मूल्यले लामो समय प्रभाव पार्छ । यसको उदाहरण दक्षिण कोरियाली फिल्म, सिरिज र संगीतले विश्वब्यापी छाडेको छाप नै हो । कम्तीमा छड्के २ को नतिजाले ‘स्टारडम’ व्यक्ति नभएर साहित्यिक उत्पादन (पटकथा) हो भन्ने कुराको बोध गर्नु जरुरी भएको छ ।

राम्रो फिल्म कसरी बन्छ भन्ने बारेमा केही विश्व फिल्मका महानहरुको भनाइ महत्वपूर्ण छन् । अल्फ्रेड हिचकको मननीय भनाइ छ- महान् फिल्म बनाउन तीन कुरा चाहिन्छ : स्क्रिप्ट, स्क्रिप्ट र स्क्रिप्ट ।’ हलिउड निर्देशक स्टीवन स्पिलवर्ग भन्छन्- ‘यदि तपाईंले प्रभाव मात्र दिनुहुन्छ भने दर्शकलाई खुसी पार्न गाह्रो हुन्छ, तर यदि यो राम्रो कथा हो भने उनीहरूलाई खुसी पार्न सजिलो हुन्छ ।’ विलियम वायलर भन्छन्- फिल्म बनाउनु भनेको ८० प्रतिशत स्क्रिप्ट र २० प्रतिशत उत्कृष्ट कलाकार पाउनु हो । यसमा अरु केही छैन ।’

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?