+
+

यू–१९ को सफलतामा दङ्ग देव

नमिता दाहाल नमिता दाहाल
२०७९ फागुन २३ गते १०:००

२३ फागुन, काठमाडौं । नेपाललाई यू–१९ विश्वकपमा फर्किनु थियो, देव खनाललाई सिनियर टिममा । नेपालले २०१६ यता उमेर समूहको विश्वकप खेल्न सकेको थिएन । प्रशिक्षक पुबुदु दशानायकेको पालामा सिनियर टिममा डेब्यू गरिसकेका देव खनाल पनि पछिल्लो समय राष्ट्रिय टिममा अटाएका थिएनन् ।

त्यसैले यूएईलाई उसकै घरेलु मैदानमा हराएर यू–१९ विश्वकपमा पुग्नु नेपालका लागि जति महत्वपूर्ण थियो, देवलाई राम्रो प्रदर्शन गर्नु व्यक्तिगत करियरमा त्यति नै महत्वपूर्ण भयो ।

सुखद संयोग, नेपाल यू–१९ विश्वकपमा पनि पुग्यो, देवले पनि नेपालको जितमा कप्तानी पारी खेले । त्यसैले देव दङ्ग छन् । ‘मैले पाँचै खेलमा जस्तो प्रदर्शन गर्छु भनेर गएको थिएँ, त्यस्तै भयो । टिमले पनि जसरी खेल्नुपर्ने हो, त्यसरी नै खेल्यो ।’

अन्तिममा जुरेको अवसर

यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्न जगत टमाटाको प्रशिक्षणमा रहेको नेपाली टोलीमा एसिया कपमा नेपालको कप्तानी गरिसकेका देव खनाल पनि थिए । तर १८ माघमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिमको कप्तान गुल्सन झालाई तोक्यो । तर राष्ट्रिय टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्ने टिममा गुल्सनलाई राख्न चाहेपछि यू–१९ टोली यूएई उड्नु अघिल्लो दिन देवले कप्तानको जिम्मेवारी पाए ।

मलेसिया, कुबेत, हङकङ, सिंगापुर र यूएई सम्मिलित प्रतियोगिताको शीर्ष टिमले मात्र विश्वकप खेल्न पाउने भएकाले नेपालले सबै खेल फाइनलसरह मानेको थियो ।

नेपालले सबै खेल जित्यो । जसमा कुवेतविरुद्ध ३४३ रनको योगफल खडा गर्ने क्रममा देवले १२५ रनको शतकीय पारी खेले र नेपाल २४३ रनले विजयी भयो । यूएईविरुद्धको निर्णायक खेलमा ५१ रनको संयमित अर्धशतकीय इनिङ्स खेले ।

उनले यस पटकको कप्तानको जिम्मेवारी त निर्वाह गरे, साथसाथै एक सिनियर खेलाडीका रुपमा टिमका लागि विशेष योगदान दिए । पाँच खेलमा १९७ रन बनाएका देवको राष्ट्रिय टिममा फर्कने आशा पनि यो सफलताले प्रवल बनाएको छ ।

गत वर्ष पुसमा यू–१९ एसिया कपमा देवले पहिलोपल्ट उमेर समूहको राष्ट्रिय टिमलाई कप्तानी गरेका थिए । बंगलादेश र श्रीलंकाजस्ता टेष्ट राष्ट्रका टोलीसँग मात्र होइन, कुबेतसँग पनि पराजित हुनु नेपालका लागि बिर्सनलायक प्रतियोगिता थियो ।

पुबुदु दशानायकेको दोस्रो कार्यकाल (मंसिर २०७८–साउन २०७९)मा लुम्बिनी प्रदेशका लागि घरेलु क्रिकेट खेल्ने अर्घाखाँचीका देवले सिनियर टिममा अवसर पाए । देवले सिनियर टिमबाट १० एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेल्दा दुई अर्धशतक बनाएका छन् । तीनपल्ट ३४ रन बनाएर आउट भएका छन् ।

पुबुदुले ९ महिनामै नेपाल छाडेपछि आएका भारतीय प्रशिक्षक मनोज प्रभाकरले देवलाई निरन्तरता दिएनन् । गत मंसिरमा सम्पन्न प्रधानमन्त्री कपमा लुम्बिनीले समूह चरण पार गर्न नसके पनि देवले ४ खेलमा ३ अर्धशतकसहित २४९ रन बनाए । यो प्रतियोगिताकै तेस्रो सर्वाधिक रन योगफल हो ।

देवले यही वर्ष मंसिरमा यू–१९ राष्ट्रिय प्रतियोगितामा लुम्बिनीबाट ७ खेलमा १४९ रन जोडेका थिए । यो प्रतियोगितामा लुम्बिनीको कप्तानी देवले पाएका थिएनन् । भदौमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा २ खेलमा १९ रनमात्र बनाएका थिए ।

प्रधानमन्त्री कपबाहेक अन्य प्रतियोगितामा राम्रो प्रदर्शन हुन नसक्नु र राष्ट्रिय टिममा निरन्तरता नपाउनुलाई देवले आफूलाई परिपक्व बनाउने अवसरका रुपमा लिए ।

प्रतियोगिताअघि उनले विश्वकप छनोट व्यक्तिगत रुपमा आफ्नो र परिवारकै लागि ठूलो महत्व बोकेको बताएका थिए । ‘मैले पाँचै खेलमा जस्तो प्रदर्शन गर्छु भनेर गएको थिएँ त्यस्तै भयो । सबैकुरा राम्रो भयो । अब टिममा जस्तो भूमिका पाउँछु म निर्वाह गर्न तयार छु,’ देवले अनलाइनखबरसँग भने, ‘भोलिबाट आफ्नै हिसाबमा मिहिनेत गरिरहन्छु । जुन दिन अवसर पाउँछु फेरि त्यो जर्सी लगाएर खेल्दै देशलाई गर्व गर्ने अवसर दिनुछ ।’

कप्तानीमा परिपक्क देव

सन् २०१६ पछि नेपालको जुनियर टिम पहिलोपल्ट यू–१९ विश्वकपमा छानिएको हो । ढिला गरी जिम्मेवारी पाएका १७ वर्षीय कप्तान देवको परिपक्वता प्रतियोगितामा देखियो ।

विशेषतः अन्तिम खेलको अन्तिम ओभरमा बलर छनोटमा उनले देखाएको सुझबुझले नेपालले सफलता पाएको हो ।

‘टिममा राम्रो सन्तुलन र टिमवर्क राम्रो थियो । दुई महिना प्रशिक्षण गर्यौं र जसरी हामीले खेल्यौं र जित्यौं, यो एक उत्कृष्ट टिम सहकार्य थियो,’ उनले थपे, ‘हाम्रो लागि कठिन भनेको यूएई नै थियो । त्यो खेलमा हामी आत्तिएनौं । सबैमा एक उत्साह र जोस थियो, त्यो नै जितको आधार हो ।’

यूएईसँगको खेलमा पहिलो बलमा नै विकेट गुमाएपछि नेपालले लगातार ३ विकेट गुमाएको थियो । ४ रन बनाउँदा १ विकेट गुमाएको नेपालले २१ रन जोड्दा ३ विकेट गुमायो । देवले पारी सम्हाल्दै ब्याटिङ गरे । भन्छन्, ‘म त्यहाँ उभिएँ भने मैले नेपालको लागि रन बनाउन सक्छु भन्ने थियो । प्रोसेस फलो गर्दै खेलें ।’

नेपालले देवको महत्वपूर्ण ५१ रनको सहयोगमा यूएईलाई १९२ रनको लक्ष्य दिएको थियो । जवाफमा घरेलु टोली यूएईको प्रदर्शन सशक्त थियो । यूएईलाई अन्तिम ३ ओभरमा जितका लागि ११ रन आवश्यक थियो । उसको तीन विकेटमात्र बाँकी थियो ।

४८औं ओभरमा दिपेश कंडेललाई बल थमाउनु देवको सबभन्दा महत्वपूर्ण सफल निर्णय बन्यो । ‘मैले त्यस बेला ४÷५ मिनेट नै कसलाई बल दिने भनेर सोचेर बिताएँ । अम्पायरहरुले पनि ढिलो भयो भन्नुभएको थियो । मेरो लागि एकदमै गाह्रो निर्णय थियो । अन्य खेलाडीले पनि मेरो निर्णयलाई सघाउनु भयो,’ उनले भने ।

त्यही ओभरमा दिपेशले सुरुवाती तीन बलमा ३ रन खर्चिए । तर, पछिल्लो तीन बलमा लगातार विकेट लिएर नेपाललाई रोमान्चक जित दिलाए भने आफ्नो ह्याट्रिक विकेट पूरा गरे । ‘दाइले हरेक वर्षमा हौसला दिनुभएको थियो । तिमीले सक्छौ भन्नुभएको थियो,’ दिपेशले अनलाइनखबरसँगको कुराकानीमा भनेका छन् ।

देवले भने नेपालको सफलताको सबै श्रेय दिपेशलाई नै दिए । ‘मैले निर्णय लिएँ तर दिपेशले राम्रो खेल्यो । उसले गर्दा हामी २०२४ को विश्वकपमा पुगेका हांै,’ उनले भने, ‘हामीले त्यो ह्याट्रिक भएको निकै पछिमात्र थाहा पायौं । अलआउट गरेपछि सबै जना पागल जसरी भाग्दै त्यो मोमेन्ट सेलिब्रेट गर्यौं ।’

विश्वकपको सुपर ८ मा पुग्ने लक्ष्य

अर्को वर्ष श्रीलंकामा हुने विश्वकप खेल्न देवलाई उमेरको बाधा हुँदैन । सम्भवतः विश्वकपमा नेपालको नेतृत्व उनैले गर्नेछन् । नेपाल टिमलाई सुपर ८ का लागि छनोट गर्ने लक्ष्य निर्धारण गरिसकेका छन् ।

सन् २००० देखि उमेर समूहको विश्वकप खेल्न थालेको नेपालले पहिलो सहभागितामै समूह चरण पार गरेको थियो । त्यसपछि नेपालले सन् २०१६ को संस्करणमा मात्र समूह चरण पार गरेको हो । सन् २००६ मा प्लेट च्याम्पियनसिप जितेको नेपालले सन् २००४ र २००८ मा प्लेट च्याम्पियनसिपको फाइनल खेलेको थियो ।

‘नेपाली यू–१९ टिम जब–जब विश्वकप पुगेको छ, ठूला–ठूला टेष्ट राष्ट्रलाई पराजित गर्दै सुपर ८ मा पुगेको इतिहास छ । त्यसैलाई दोहो¥याउँदै नयाँ इतिहास बनाउने लक्ष्य छ,’ कप्तान देवले सुनाए ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?